आविष्कार केन्द्रलाई एक लाख सहयोग

तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ घर भई हाल बेलायतमा रहनुभएका अर्जुनबहादुर थापाले राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ । बेलायतमा नमस्ते गोर्खा नेपलीज रेष्टुरेण्ट सञ्चालन गर्दै आउनुभएका थापाले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको हो ।

आविष्कार केन्द्रले कोभिड–१९ विरुद्ध गर्ने स्वास्थ्य सामग्री उत्पादनसहितका काममा योगदान पुगोस् भन्ने अभिप्रायले इन्टरनेशनल नेप्लीज सेफ्स सोसाइटीका अध्यक्ष समेत रहनुभएका थापाले आर्थिक सहयोग गर्नुभएको हो । होटेल म्यानेजमेण्ट एण्ड टे«निङ सेन्टरबाट तालिम लिएर पछि त्यहीँ प्रशिक्षकसमेत रहनुभएका थापाले नेपाल, दुवई, जापान र बेलायतमा नेपाली, भारतीय तथा अन्य विभिन्न खाना पकाउने काममा तीन दशकको अनुभव हासिल गर्नुभएको छ ।

विगत डेढ दशकदेखि बेलायतमा रहेर विदेशी नेपालीमाझ प्रतिष्ठित सेफका रूपमा परिचित थापाले हाल लण्डनको फेल्थममा नमस्ते गोर्खा रेष्टुरेण्ट चलाउँदै आउनुभएको छ । हाल लण्डनकै प्रसिद्ध फ्रेन्च कुकिङ स्कूलमा कुलीनरी आर्ट्स एण्ड म्यानेजमेण्टमा स्नातक अध्ययनरत थापा ब्रिटिस करी अवार्ड विजेता पनि हुनुहुन्छ । उहाँ बिजिनेस एडमिनिस्टे«सनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक हुनुहुन्छ ।

कोभिड सङ्कट कोषमा तनहुँबासीको रु दुई लाख

तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानमा अष्ट्रेलियामा रहेका तनहुँबासीले रु दुई लाख पाँच हजार आर्थिक सहयोग गरेका छन् ।

कोभिड न्यूनीकरणका लागि सङ्घले खडा गरेको कोषमा अष्ट्रेलियामा रहेका तनहुँबासीले उक्त रकम सहयोग गरेका हुन् । उक्त रकम व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको उपस्थितिमा सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख न्यौपानेले सङ्घलाई विश्वास गरी देश तथा विदेशबाट रकम जुट्नु सकारात्मक रहेको भन्दै रकमको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । सङ्घका अध्यक्ष श्रेष्ठले सङ्कटको घडीमा प्राप्त भएको रकमको सदुपयोग गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रेष्ठले कोभिड सङ्कटको घडीमा व्यवसायीलाई निःशुल्क खोप र स्वास्थ्य मापदण्ड अपनाई व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाइदिन नगरप्रमुखसँग आग्रह गर्नुभयो ।

सङ्घले खडा गरेको कोषमा केही दिनअघि मात्रै तनहुँ समाज युकेले रु आठ लाख आठ हजार ६४० सहयोग गरेको थियो । सङ्घले खडा गरेको कोषमा करिब रु २० लाख रकम सङ्कलन भएको छ । सोही कोषमा सङ्कलित रकमबाट सङ्घले जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री वितरण गरिरहेको छ ।

हालसम्म रु १० लाख बराबरको सामग्री वितरण गरिएको सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले जानकारी दिनुभयो । सङ्घले व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताल, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री वितरण गरेको छ भने कालीभञ्जन गण (इ) र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..