मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि नौ करोड बजेट विनियोजन

मेची प्रादेशिक अस्पताल भद्रपुरमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि सरकारले रु नौ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ । सङ्घीय अर्थ मन्त्रालयले देशका २६ अस्पताल र नौवटा प्रादेशिक अस्पतालका लागि रु दुई अर्ब ९५ करोड २० लाख बजेट निकासा गर्ने निर्णय गरेको हो ।

बजेट निकासा भएका अस्पतालमा मेची अस्पताल पनि परेको हो । मेची अस्पतालका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयमार्फत सो बजेट निकासा हुने मेची प्रादेशिक अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलले बताए । अहिले अस्पतालमा कोरोना सङ्क्रमितको चाप बढेसँगै भेन्टिलेटर र अक्सिजनको समेत अभाव छ ।

अर्जुनधारा नपाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

कोरोना सङ्क्रमणका कारण झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको सोमबार निधन भएको छ । नपाका लागि भारतीय दूतावासबाट प्राप्त भएको एम्बुलेन्स लिन काठमाडौँ पुगेर फर्किएपछि उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पचास वर्षीय खाम्याहाङ उपसचिवस्तरका कर्मचारी थिए ।

गत वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि केही दिन आफ्नै क्वार्टरमा र त्यसपछि दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेशनमा बस्नुभएका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

अब शव व्यवस्थापनको सामग्री अस्पताल आफैँले किन्ने
कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ । यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो ।

शोकको घडीमा शव व्यवस्थापनको सामग्री किन्न झन्झट बेहोर्नुपर्ने गुनासो मृतकका आफन्तहरुबाट आएपछि अब उप्रान्त प्रदेश अस्पताल आफैँले मट्टितेल, कैँची, डोरी, प्लाष्टिकलगायतका आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उपचारका क्रममा कोरोना सङ्क्रमितहरुको मृत्युले आफन्त शोकाकुल हुन्छन् । त्यही बीचमा शव व्यवस्थापनको सामग्री किन्न लगाउँदा झन् पीडा थपिएको महसुस गरेका छौँ । शोक र निषेधाज्ञाको अवधिमा झन् दुःख दिने काम भएकाले अस्पताल प्रशासनले आजदेखि मृतकको परिवारलाई सामग्री व्यवस्थापन गर्नुपर्ने झन्झटिलो अवस्था अन्त्य गरिदिएको छ ।”

आफ्ना प्रियजनको मृत्युले दुःखमा रहेका परिवार तथा आफन्तजनले निषेधाज्ञाको समयमा बजारमा गएर ती सामग्रीको जोहो गर्नु त्यत्तिकै चुनौतीपूर्ण भएकाले अस्पताल व्यवस्थापनले निःशुल्क उपलब्ध गराउने सूचना जारी गरेको छ । अब कोरोना सङ्क्रमणबाट आफन्त गुमाएर शोकमा डुबेका र आर्थिक अभाव भएका परिवारलाई राहत मिल्ने बताइएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..