सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

माइती नेपाल मोरङले नेपाल पत्रकार महासङ्घ मोरङमा आबद्ध पत्रकारको सुरक्षा र सहजताका लागि सर्जिकल मास्क, ग्लोब्स र सेनिटाइजरलगायत सामग्री प्रदान गरेको छ । माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले जिल्लामा खटिने सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि आज यहाँ महासङ्घका जिल्ला अध्यक्ष सन्जिव खनाललाई सो सामग्री प्रदान गरेका हुन् ।

सो अवसरमा संयोजक पोखरेलले कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे ।

महासङ्घका जिल्ला अध्यक्ष खनालले प्राप्त स्वास्थ्य सामग्रीले सञ्चारकर्मीलाई स्वास्थ्य जोखिम कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जिल्लामा २१ पत्रकार कोरोना भाइरस सङ्क्रमित भएको र तीमध्ये अहिले तीन जना होम आइसोलेशनमा र एक जनालाई अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८÷७९ योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ ।
नागरिक उडड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ ।

सुकेटार विमानस्थललाई विस्तार गर्न सो बजेट विनियोजन मन्त्रलयले नियोजन गरेको हो । पर्यटन विभागमार्फत मिक्वाखोलास्थित माङ्गेना याक विशेष पर्यटन ग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको विभागले जनाएको छ । पाथिभरा क्षेत्रमा पर्यटकीय विश्रामस्थल, उद्धार केन्द्र निर्माण गर्न क्रमागत बजेट रु एक करोड ५० लाख विनियोजन भएको छ । त्यस्तै किरात धर्मालम्बीहरुको पवित्र स्थल फक्ताङ्लुङ क्षेत्र पूर्वाधार निर्माण रु एक करोड विनियोजन भएको विभागले जनाएको छ ।

पुरातत्व विभागमार्फत फुङलिङ—३ को मुक्तेश्वरनाथ मन्दिर संरक्षण तथा सम्बद्र्धन गर्न रु १० लाख विनियोजन भएको छ । शिवालय मन्दिर संरक्षण तथा सम्बद्र्धनका लागि आठराई त्रिववेणी गाँउपालिकालाई रु १० लाख विनियोजन भएको छ । यसैगरी विभागले मैवाखोला—२ को साङगेछयोलिङ गुम्बा मर्मतका लागि रु १० लाख, फक्ताङालुङ—६ को दिकिछ्योलिङ गुम्बा निर्माण तथा मर्मतसम्भार गर्न रु एक करोड विनियोजन गरेको छ ।

त्यस्तै पाथीभरा मन्दिर परिसर सत्तल र परिसर संरक्षण लागि रु ५० लाख विनियोजन र फुङलिङ—६ को पन्चकन्या सेतिदेवी मन्दिर रु २० लाख विनियोजन भएको विभागले जनाएको छ । चारपाटे ढुङगा तथा शिवालय क्षेत्र संरक्षण गर्न रु १० लाख, मैवाखोला—५ स्थित ङिमा ङयायुरगुम्बा संरक्षण तथा सम्बद्र्धन गर्न रु १० लाख, मैवाखोला—२ कालिदेवी मन्दिर संरक्षण तथा पूर्वाधार गर्न रु १० लाख, मैवाखोला—१ को सिंहदेवी नागपोखरी संरक्षण तथा सम्बद्र्धन रु.१५ लाख र आठराई त्रिवेणी—१ को पेमदावा छ्योलिङ साङ गुम्बाका लागि रु १० लाख विनियोजन भएको विभागले जनाएको छ ।

यसैगरी विभागका अनुसार आठराई त्रिवेणी—५ स्थित ङाग्युर छेदेनलिङ गुम्बाका लागि रु १० लाख, सिरिजङ्घा—२ को हरिजित सत्य धर्म मन्दिर संरक्षण गर्न रु १० लाख, सिनाम सानो पाथिभरा भ्यु टावर निर्माण गर्न रु १० लाख र सुकुम्मा तुम्बायक धारा संरक्षण तथा सम्बद्र्धनका लागि रु १० लाख विनियोजन गरिएको छ ।

मैवाखोला—६ को सिन्थेलुङ झरना पर्यटन पुर्वाधारका लागि रु. १७ लाख, होमस्टे प्रर्वद्धन मैवाखोला रु १० लाख, मैवाखोला—२ पिरिङेको फालेलुङ पर्यटन पुर्वाधार गर्न रु १० लाख र वासाङलुङ पर्यटन पूर्वाधार निर्माण गर्न रु १० लाख विनियोजन भएको छ ।

यस्तै सिरिजङ्घाको मिरिङदेन झरना पर्यटन पूर्वाधार विकास गर्न रु १७ लाख, शान्ति सङ्ग्रहालय भवन निर्माण तथा व्यवस्थापन गर्न रु १५ लाख, नेपाल भाषा तथा संस्कृति समाजको भवन निर्माण गर्न रु १० लाख र फुङलिङ—११ को ऐतिहासिक शिलालेख संरक्षण तथा पूर्वाधार निर्माण गर्न रु १० लाख विनियोजन भएको छ । फुङलिङ—३ को तिनबरेदेखि इन्डियन वेलफेयरसम्म पदमार्ग निर्माण मा .रु १५ लाख र फुङलिङ—१० मा चुच्चे ढुङ्गा पर्यटन पूर्वाधार निर्माण गर्न रु १५ लाख विनियोजन गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

कोभिड अस्पताललाई सहयोग
षडानन्द नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई वडा कार्यालयका कर्मचारीले सहयोग सङ्कलन गरी विविध सामग्री हस्तान्तरण गरेका छन् । अस्पताललाई पाँच शय्या, दुई व्हीलचेयर, २५ पिपिइसेट र एडल्ट डायपर १०० थान अस्पताललाई कर्मचारीले सहयोग गरेका हुन् ।

कर्मचारीले एक लाख ५१ हजार रकम सङ्कलन गरेर स्वास्थ्य सामग्री खरिद गरेर अस्पताललाई बुझाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम बस्नेतले जानकारी दिनुभयो ।
उहाँले अस्पतालमा आएका बिरामीलाई भुईमा राख्ने अवस्था नआओस भनेर शय्यासहितका सामाग्री दिइएको बताउनुभयो ।
नगरप्रमुख वीरवल राईले कर्मचारीले आफ्नो तलब कट्टा गरेर अस्पताललाई सहयोग गर्नु स्वागतयोग्य काम रहेको बताउनुभयो ।

बासिखोरामा प्रहरी चौकी
रामप्रसाद राई गाउँपालिका वडा नम्वर ७ बासिखोरामा अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकृत प्रहरी निरीक्षक शिशिर थापाले जानकारी दिनुभयो । सो क्षेत्रको शान्ति सुरक्षालाई ध्यान दिएर प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चौकीमा प्रहरी सहायक निरीक्षकका नेतृत्वमा प्रहरीको व्यवस्था गरिएको छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..