तोडफोड, हड्ताल र तालाबन्दी नगर्न ऐन महरको निर्देशन

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरले शैक्षिक क्षेत्रको विकृती, विसंगती, माफियाकरण र ब्यापारीकरणको अन्त्यको लागि अनेरास्ववियु प्रतिबद्ध रहेको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै महरले तालाबन्दी, तोडफोड, बन्द, हड्ताल. चक्काजामलाई अन्त्य गर्दै रचनात्मक आन्दोलन गर्न मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।

विविध विषयमा छलफल गर्नुपर्ने हुँदा असोज १ गते स्थायी कमिटीको र २ गते सचिवालयको बैठक बस्ने महरले विज्ञप्तिमा जनाएका छन् । तालाबन्दी, तोडफोड, बन्द, हड्ताल, चक्काजामलाई परिमार्जन गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने मत जाहेर गरेका महर आफैं स्वयम् केहि हप्ता अगाडी हातमा इट्टा बोक्दै प्रहरीलाई प्रहर गर्दै थिए ।

भदौ ३ गते दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रहरीबीच झडप हुँदा दर्जनभन्दा बढी नेता कार्यकर्ता घाइते भए। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी आरआर क्याम्पस अगाडि निकालिएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो। प्रहरीमाथि नै विद्यार्थी नेता कार्यकर्ताले ढुङ्गा बर्साउन थालेपछि लाठी चार्ज गरिएको थियो।

झडपमा विद्यार्थी संगठनका अध्यक्ष ऐन महर, सचिव आरसी लामीछाने लगायत नरेश रोकायसहित दर्जन बढी नेता तथा कार्यकर्ता घाइते भएका थिए। महरले इट्टा उचालेर बसेको, प्रहरीलाई ताकेको फोटो सामाजिक संजालमा अहिले भाईरल भएको थियो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..