मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो

पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।

जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिनुभयो ।

केही दिनयता भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको पाटन नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मौसममा आएको परिवर्तनका कारण ज्वरोका बिरामी बढ्दै गएका छन्, यो बेला सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ ।”

मौसममा आएको परिवर्तनका कारण हाल दैनिक ३० जनासम्म ज्वरो रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताउनुभयो । उहाँले भन्नुभयो, “मौसममा परिवर्तन आएको छ, धुलोधुवाँले गर्दा, पहिलाको तुलनामा आजभोलि बिरामीको सङ्ख्या बढेका छन् ।”

यस्तै, जिल्लाको तल्लोस्वराड क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा दैनिक एक सयको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।”

मौसममा आएको परिवर्तनले भाइरसहरु सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाव छन् । भाइरल ज्वरोबाट बच्नका लागि उमालेको पानी मात्रै प्रयोग गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनुपर्ने तथा तातो र झोलिलो खानेकुरा खानुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा जोशीले बताउनुभयो ।

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण देखापर्ने गरेको डा जोशीको भनाइ छ । सामान्य समयभन्दा बिरामीको सङ्ख्या अहिले केही बढे पनि भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको सङ्ख्या भने कम रहेको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालले कोरोना भाइरस फैलिन नदिन र ज्वरो तथा रुघाखोकीको उपचार गराउन छुटै सहायता कक्ष सञ्चालनमा ल्याएको छ । रुघाखोकी र ज्वरोका बिरामीलाई जाँच गर्दा कोरोना भाइरस सङ्क्रमणको आशङ्का भए आइसोलेशनमा राख्ने गरिएको छ । हालसम्म यस्ता बिरामी नआएको अस्पतालले जनाएको छ ।

यो समयमा आउने ज्वरो अन्य समयको भन्दा जोखिमयुक्त हुने हुँदा समस्या देखिनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिएर औषधोपचारमा लाग्न चिकित्सकको सुझाव छ । शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि यसको सङ्क्रमण उच्च देखिएको छ । चिकित्सकका अनुसार उपचार नगरी धेरैजसो सिटामोलमा मात्र भरपर्ने गरेकाले पनि ग्रामीण क्षेत्रमा बिरामीको सङ्ख्या बढ्दै गएको देखिन्छ । मौसममा आएको परिर्वतन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका छन् ।
जिल्लाका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक ३०० बढी भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैँ निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिएमा थप जटिलता आउने चिकित्सकको भनाइ छ । “झोलिलो पदार्थको सेवनमा बढी जोड दिने, झुलको प्रयोग गरेर मात्रै सुत्ने, घर वरिपरि सफा राख्ने र लामखुट्टेको टोकाइबाट बच्न शरीर छोप्ने खालका कपडा लगाउने गरेमा रोगबाट बच्न सकिन्छ”, जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक जोशीले भन्नुभयो, “सकभर आफूलाई शङ्का लागेकै भरमा औषधि सेवन गर्नु पनि राम्रो होइन, चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन नगर्न आग्रह छ ।”

गर्मी मौसम शुरु भएसँगै भाइरल ज्वरोका बिरामी बढेका भए पनि आत्तिनुपर्ने अवस्था नभएको चिकित्सकको भनाइ छ । यो रोग श्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

पौडी खेल्नेक्रममा डुबेर एकजनाको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्ती नदीमा पौडी खेल्नेक्रममा सोमवारदेखि बेपत्ता भएका वैश्यको आज बिहान शब फेला परेको हो । राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनी डुबेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा आज शब फेला पारेको हो ।

शव परीक्षणको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

गहुँ उत्पादनमा अग्रणी बन्दै सुन्दरीफाँटा
कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटा गाउँ गहुँ खेतीको उर्वर भूमिका रुपमा परिचित भएको छ । गहुँ खेतीका लागि किसानले आधुनिक यन्त्र, उपकरण, उन्नत जातको गहुँको बीउ र मलको प्रयोग गर्न थालेपछि प्रतिवर्ष गहुँको उत्पादन बढ्दो रुपमा रहेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चौधरी थारू गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको छ ।

विगतमा खानका लागि मुस्किलले पुग्ने जग्गामा हाल पर्याप्त गहुँ उत्पादन हुने गरेको छ । खानका लागि घरमा राखेर किसानले गहुँ बेच्नसमेत थालेका छन् । कृषि यन्त्र र उपकरणको प्रयोगले गहुँको उत्पादनमा वृद्धि भएको ब्लक समितिका संयोजक श्रीराम चौधरीले बताउनुभयो । “गोरुको प्रयोगले गहुँ लगाउँदा खेतमा राम्ररी नउम्रने र माटोलाई मसिनो बनाउन नसक्दा समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “हाल गहुँ खेतीका लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ । पहिला खानकै लागि ठिक्क हुने गहुँ बेचेर घर खर्च चलाउँदै आएका छौँ ।”

कृषिमा आधुनिक यन्त्रको प्रयोग हुन थालेपछि ब्लकमै आबद्ध सविनादेवी चौधरी निकै खुशी देखिनुभएको छ । “कार्यबोझ घटेको छ”, उहाँले भन्नुभयो, “बचेको समयमा तरकारी खेती गरेर अतिरिक्त आम्दानी हात पार्दै आएका छौँ ।”

विगतमा हलोको प्रयोग गरी खेत जात्ने कार्य गर्दा ठूलाठूला डल्ला आउने गरेको थियो । महिलाले मिहिनेतका साथ फोड्नु पर्दथ्यो । डल्ला फोड्ने विषयमा श्रीमान्श्रीमतीबीच झगडासमेत हुन्थ्यो । “मनमुटाव बढ्दै जाँदा हातापाइसम्म आइपुग्दथ्यो”, उहाँले भन्नुभयो, “हलो जोत्ने श्रीमान्का लागि पानी र खाना बोकेर खेतमै पु¥याउनुपर्ने बाध्यता थियो । त्यो सबै कृषि औजार र यन्त्रको प्रयोगले हटाइदिएको छ । विगतको जस्तो खेतीपातीकै लागि झगडा हुँदैन । दुई दिन लाग्ने कार्य एक घण्टामै सकिन थालेको छ । पावर टिलरको सहायताले खेत जोत्ने भएकाले खेतमा डल्ला आउँदैन ।”

परियोजनाअन्तर्गत ब्लकमा आबद्ध किसानले तालीमसमेत पाएका छन् । रोग किराको निदान गर्न र माटो सुहाउँदो बीउको छनौट गर्न किसान सक्षम भएका छन् ।

खेतमा विगतको जस्तो आकासेपानीको भर पर्नुपर्ने दिनको अन्त्य भएको छ । खेतखेतमा सिँचाइका लागि पम्पसेट र विद्युतीय मोटर जडान गरिएका छन् । आवश्यकताका आधारमा किसानले खेतमा सिँचाइ गर्दै आएका छन् । गहुँ खेतमा छर्ने कार्यदेखि गहुँ थ्रेसिङ गरी भकारीसम्म राख्ने कार्य कृषि औजार र यन्त्रको सहायताले गरिँदै आएको छ । “खेती लगाउन निकै समय खर्चिनु पर्दथ्यो”, किसान धनबहादुर चौधरीले भन्नुभयो, “पुरुषको तुलनामा महिलालाई कार्य बोझ अधिक थियो । काट्ने कार्यदेखि गहुँको दाइँ लगाउने कार्यसम्म महिलाले गर्दै आएकामा अब त्यो काम कृषि यन्त्र र औजारले गर्न थालेको छ ।”

गोरुको ठाउँमा किसानले पावर टिलर राखेका छन् । उहाँका अनुसार प्रतिपरिवारले पहिला १० कट्ठा जग्गामा पाँच क्विन्टलसम्म गहुँको उत्पादन लिँदै आएका थिए । हाल गहुँको उत्पादन बढेर १० कट्ठामा १० देखि १५ क्विन्टलसम्म गहुँको उत्पादन हुन थालेको छ ।

कृषि औजार र यन्त्रको प्रयोगसँगै समयमै सिँचाइ र उन्नत जातको गहुँको बीउको प्रयोगले उत्पादनमा वृद्धि गरेको उहाँको भनाइ छ ।

वडाध्यक्ष मोहनबहादुर बस्नेत कृषि उपकरण पाइएपछि यस क्षेत्रका किसानको आर्थिक अवस्थामा सुधार आएको बताउनुभयो । कृषिमा प्रतिवर्ष पाइने अनुदान रकम गाउँका किसानले सदुपयोग गरेका छन् । “समूह, पकेट र ब्लकमा परिणत भएका किसानले आधुनिक तरिकाले खेती गर्न जानेका छन यही नै खुशीको कुरा हो”, उहाँले भन्नुभयो, “थारू समुदायका बसोबास रहेको सुन्दरीफाँटाका किसान मिहिनेती समेत छन् । मिहिनेतकै परिणामस्वरुप तरकारी र गहुँबालीमा यो गाउँ चिनिन थालेको छ ।” कृषि ज्ञान केन्द्र र वडा कार्यालयका तर्फबाट पौरखी किसानलाई अनुदान उपलब्ध गराउने कार्य निरन्तर रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।

सुन्दरीफाँटा नाम जस्तै सुन्दर कार्यक्रम दिने सोच छ । यस गाउँलाई गहुँ बालीसँगै तोरी र तरकारी उत्पादन बढाउका लागि कार्यक्रम सञ्चालन गर्ने कृषि ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर बिष्टले बताउनुभयो ।

कृषि उत्पादनलाई आयआर्जनसँग जोेडेर रोजगारी सृजना गर्ने कार्यमा लाग्ने उहाँ बताउनुहुन्छ । “उपकरण र औजारको भरपुर रुपमा प्रयोग गरी कृषि उत्पादन र उत्पादकत्व बढाउनमा निरन्तर रुपमा लाग्नोस्”, उहाँले भन्नुभयो, “उत्पादन बढेसँगै यसलाई जोनमा परिणत गर्छांै ।”

ब्लक समितिका सदस्य गयाप्रसाद चौधरीका अनुसार परियोजनाअन्तर्गत गठन भएको थारू गहुँ ब्लक समितिलाई गत वर्ष कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट पावर टिलर १२, पम्पसेट २३, जिरो भेटर दुई, विद्युतीय मोटर १३ वटा जिआई पाइप ५८४ फिट, जिई जाली पाइप १६, बलसेट १६ वटा उपलब्ध गराइएको थियो । जसका लागि कूल रकम ४८ लाख ७८ हजार ३७५ खर्चिएको थियो । त्यसमा कृषि ज्ञान केन्द्रबाट २३ लाख दुई हजार ५६१ र जनश्रमदान २५ लाख ७५ हजार ८१४ लागेको थियो ।

चालु आवमा थारू गहुँ ब्लकलाई बोरिङ जिआई पाइप ७० फिट, पम्पसेट इन्जिन तीन, जिआई जाली पाइप तीन, जडान सामग्री वाल सेट तीन, पावर टिलर ती, रिपर तीन, गहुँ चुटने थ्रेसर एक, स्प्रेयर ट्याङ्की १७, जिङ्क मल १९३ किलो, गहुँको बीउ २३ क्विन्टल, विषादी ३५ लिटर उपलव्ध गराइएको छ । जसका लागि कृषि ज्ञान केन्द्रबाट नौ लाख ६८ हजार ९४९ र जनश्रमदान सात लाख ७४ हजार ९४७ रकम लागेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..