एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती, उपत्यकामा आजदेखि निषेधाज्ञा लागू

हुम्लाको सिमकोट गाउँपालिका–८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् ।

उक्त स्वास्थ्यचौकीमा एक एचए, तीन अहेब, दुई अनमी र एक जना कार्यालय सहयोगी गरेर जम्मा सात जनाको दरबन्दी भए पनि यतिखेर दुई अनमीले मात्रै काम गर्दे आएको स्थानीयवासीले बताएका छन् । अनमी स्वास्थ्य संस्थामै कार्यरत भएको भए पनि सेवाग्राहीले भने पर्याप्त मात्रामा सेवा नपाएको गुनासो गरेका छन् ।

चार दिनदेखि लगतार ज्वरोबाट ग्रस्त भएका एक वर्षीय बालकलाई उपचार गर्नका लागि स्वास्थ्यचौकीमा लैजाँदा झारो टार्ने काम गरेको सिमकोट–८ याङ्गु गाउँका स्थानीयवासी गजिन्द सुनारले गुनासो गर्नुभयो । अन्य स्वास्थ्यकर्मीलाई उपस्थित हुन पटकपटक ताकेता गर्दा पनि नआएको वडाध्यक्ष चक्र बुढाले बताउनुभयो । आउँदो आइतबारसम्म स्वास्थ्यचौकीमा फिर्ता हुने सो स्वास्थ्यचौकीका इन्चार्ज रविजङ्ग शाहीले बताउनुभयो ।

टीकापुर र सेती अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द
कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएका छन् ।

अस्पतालबाट प्रदान गरिँदै आएका बहिरङ्ग सेवा आजदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएका छन् । “कोरोना दिनानु दिन बढिरहेकाले अत्यावश्यक अवस्थामा बाहेक अस्पतालमा नआउनसमेत नागरिकलाई अनुरोध गरेका छौँ”, टीकापुर अस्पतालका डा रमेशप्रसाद उपाध्यायले भन्नुभयो, “कोरोना सङ्क्रमणका बिरामीलाई धान्न सक्ने अवस्था छैन । अब अस्पतालमा अन्य बिरामीको भीड गर्न थप जोखिम भएको छ । अस्पतालले विगतजस्तो निरन्तर सेवा दिन सक्ने अवस्था छैन ।”

उहाँले अस्पतालमा दैनिक १५ जना बढी कोरोनाको लक्षणका बिरामी आउन थालेकाले अस्पतालमा थप जोखिम बढेको बताउनुभयो । “हामीले समस्या भएमा बिरामीले फोनबाट परामर्श लिनसक्ने व्यवस्थाका लागि चिकित्सकहरूको मोबाइल नम्बर बाँडेका छौँ । सामान्य समस्या भएकालाई टेलिफोनमै परामर्श लिन भनेका छौँ”, उहाँले भन्नुभयो, “यस्तो विपत्तिमा नागरिकलाई खानपानमा ध्यान दिन, सुरक्षित रहन आग्रह गर्ने हो । श्वासप्रश्वासमा समस्या भए यहाँ अक्सिजन पाउन मुश्किल छ ।”

टीकापुर अस्पतालले १५ शय्याको अक्सिजनसहितको कक्षसमेत सञ्चालन गरेको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले समेत आकस्मिकबाहेक बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा स्थगित गरेको छ । बुधबार अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको निर्देशनानुसार आजदेखि बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको जनाएको छ । साथै अस्पतालले उक्त अवधिमा अस्पतालमा कार्यरत चिकित्सक लिनसक्ने गरी सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ ।

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुग्यो

सुदूरपश्चिममा दैनिक सयौँ कोरोना सङ्क्रमित थपिन थालेका छन् । सुदूरपश्चिममा बुधबार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ४७१ नमूना परीक्षण गर्दा २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताउनुभयो ।

“सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ मा सङ्क्रमण पुष्टि भएको छ”, प्रवक्ता कार्कीले भन्नुभयो, “डडेल्धुरा अस्पतालमा २७ जनाको परीक्षण गर्दा १४, डोटी अस्पतालमा २९ जनाको नमूना परीक्षण गर्दा १४ र महाकाली अस्पतालमा ४१ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।”

सुदूरपश्चिममा कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुगेको छ भने सङ्क्रमण पुष्टि भएका मध्ये १४ हजार २३३ जनाले कोरोना जितेका छन् । दोस्रो लहर फैलिएपछि कैलाली जिल्लामा मात्रै एक हजारभन्दा बढी सङ्क्रमित पुगेका छन् । सेती अस्पतालमा सङ्क्रमित बिरामी भरिभराउ छन् । बिरामीहरु अक्सिजन नपाएर छटपटाइरहेको अवस्था छ ।

आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ । आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो । कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभयो ।

निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन् । “अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्”, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भन्नुभयो, “खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल खुला रहनेछन् । खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने व्यवस्था गरेका छौँ ।”

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द गर्न आग्रह गरिएको छ । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने व्यवस्था गरिएको छ ।

हत्या अभियोगमा बाबुछोरा पक्राउ
जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको शव गत आइतबार फेला परेको थियो । अनुसन्धानपछि हत्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताउनुभयो ।

उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुग्यो

सुदूरपश्चिममा दैनिक सयौँ कोरोना सङ्क्रमित थपिन थालेका छन् । सुदूरपश्चिममा बुधबार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ४७१ नमूना परीक्षण गर्दा २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताउनुभयो ।

“सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ मा सङ्क्रमण पुष्टि भएको छ”, प्रवक्ता कार्कीले भन्नुभयो, “डडेल्धुरा अस्पतालमा २७ जनाको परीक्षण गर्दा १४, डोटी अस्पतालमा २९ जनाको नमूना परीक्षण गर्दा १४ र महाकाली अस्पतालमा ४१ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।”

सुदूरपश्चिममा कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुगेको छ भने सङ्क्रमण पुष्टि भएका मध्ये १४ हजार २३३ जनाले कोरोना जितेका छन् । दोस्रो लहर फैलिएपछि कैलाली जिल्लामा मात्रै एक हजारभन्दा बढी सङ्क्रमित पुगेका छन् । सेती अस्पतालमा सङ्क्रमित बिरामी भरिभराउ छन् । बिरामीहरु अक्सिजन नपाएर छटपटाइरहेको अवस्था छ ।

पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए
पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमणको दोस्रो छालमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताउनुभयो । यससँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उपत्यकामा आजदेखि निषेधाज्ञा लागू
काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन ।

विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ ।

विवाह व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कनुपर्दा चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । मृत्यु संस्कार वा बिरामी कुरुवाका रूपमा अन्य जिल्ला जानुपर्दा विवरण खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी उपत्यकामा आजदेखि लागू गरिएको आदेश यही २२ गते राति १२ बजेसम्म जारी रहने छ । यस्तै अन्य दर्जन बढी जिल्लामा पनि यसैगरी आदेश जारी भएको छ ।

उक्त अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यकामा प्रवेश पाउने छैन ।

सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने छ । विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनु पर्ने छ । यस्तै खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका व्यवसाय बन्द गरिएको छ । खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइने छ तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।

सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैँकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने, काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्यरूपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासङ्घ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ ।

यसैबीच सरकारले नेपाल सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगन गरेको छ । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय र चिनियाँ नागरिकलाई निजले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घन्टाभित्रको कोभिड–१९ नेगेटिभ तथा १० दिन अनिवार्यरूपमा होटेल क्वारेन्टिनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नागरिकले पनि उक्त मापदण्ड पालना गर्नुपर्नेछ । उनीहरुले १० दिन अनिवार्य होटेल वा होम क्वारेन्टिनममा बस्नुपर्नेछ ।

प्राकृतिक चिकित्सालय र योग केन्द्र बन्द
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको त्रासका कारण प्राकृतिक चिकित्सालयको नामले चिनिएका म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड बुधबारदेखि बन्द गरिएकोे कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै तातोपानी कुण्ड बन्द गराउने निर्णय गरेको थियो । सिंगा तातोपानीसँगै उत्तरी म्याग्दीको भूरुङतातोपानी, मुदी बगरको तातोपानी, हिस्तान लगायतका ठाउँमा रहेका तातोपानीका कुण्डहरु पनि बन्द भएका छन् ।

साथै प्रशासनले गलेश्वर, महारानीथानको नित्यपूजा बाहेकका अन्य गतिविधि नगर्न, विवाहमा बाजा नबजाउन, २५ जना भन्दाबढी भेला नहुन, जिमखाना, कबर्डहल र योग केन्द्रहरु पनि बन्द गराउन आदेश जारी गरेको छ ।

यसअघि मङ्गलवार बसेको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले वैशाख १५ देखि २८ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगराउने गरी शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

सदरमुकाम बेनीबजार पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बन्दै जान थालेको छ । बुधबारमात्रै यहाँ पिसिआर विधिबाट गरिएको परीक्षणमा १३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सदरमुकामबाहेक ग्रामीण क्षेत्रहरुमा समेत सङ्क्रमित भेटिन थालेपछि चिन्ता बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ४६ जना सक्रिय कोरोना सङ्क्रमित देखिएका छन् ।

देशका विभिन्न ठाउँबाट प्राकृतिक तातोपानीमा स्नान गरी उपचार गराउन मानिसहरु आउने भएकाले कोरोना भाइरस सङ्क्रमित व्यक्तिको आगमन हुँदा यसले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले पूर्व सतर्कता अपनाएर अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

कोरोनाको जोखिम न्यूनीकरण भएर सामान्य भएपछि अर्को सूचना जारी गरेर मात्रै कुण्डलाई पुनः सञ्चालन गराउने व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा अहिले ५०० भन्दा बढी बिरामीले कुण्डमा स्नान गर्ने र डुबेर उपचार गराउँदै आएका छन् । जमिन भित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र बिरेनुनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँड, एसाइतिसलगायतका रोगहरु निको हुने मान्यता छ ।

दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम
दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको सङ्ख्या कम भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको सङ्ख्या १९ लाख ९९ हजार रहेको छ । गत वर्ष कोरियामा प्रवासीको कुल सङ्ख्या २२ लाख थियो । उक्त सङ्ख्यालाई आधार मानेर हेर्दा यो वर्ष ९.२ प्रतिशतले कम हो । हालको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा कम हो । सन् २०१५ मा प्रवासीको सङ्ख्या १८ लाख थियो ।

त्यसैगरी सन् २०१९ को डिसेम्बरमा प्रवासीको सङ्ख्या सबैभन्दा धेरै २५ लाख दुई हजार रहेको तथ्याङ्कले देखाएको छ । हाल रहेका प्रवासीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक ४३.४ प्रतिशत छ भने दोस्रोमा भियतनामीको सङ्ख्या १०.६ प्रतिशत छ । त्यसैगरी थाइल्याण्ड र अमेरिकी नागरिक क्रमशः ८.९ र ७.३ प्रतिशत छ ।

कोरोना माहामारीका कारण कोरियामा रोजगारी कठिनाइ पनि थपिएको छ । नेपाललगायत विभिन्न देशबाट कोरिया आउन चाहनेहरू पनि आउन सकेका छैनन् । उसो त यो सङ्ख्या घट्नुमा कोरोना माहामारी अघि छोटो बिदामा स्वदेश फर्केका प्रवासी श्रमिक, विद्यार्थी, व्यवसायीलगायत पनि स्वदेशमै अड्किनुलाई पनि लिन सकिने बताइन्छ ।

मासुको प्रमाणीकरण
लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्रबाट नियन्त्रणमा लिइएको मासु परीक्षणका लागि काठमाडौँस्थित विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे तातोपानी क्षेत्रमा जनावर काटेर भाग लगाइराखेको अवस्थामा निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले मासु बरामद गरेको थियो । त्यो मासु कुन जनावरको हो भन्ने यकिन गराई कानूनी दायरामा लैजान पहिलो चरणअन्तर्गत प्रमाणीकरण प्रक्रिया अगाडि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।

बरामद गरिएको मासुको परिमाण करिब सात केजी रहेको र मासु भाग लगाउने कार्यमा संलग्न चार व्यक्तिलाई नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ । परीक्षणका लागि उक्त मासु बुधबारनै काठमाडौँ पठाएको बताइएको छ । परीक्षणबिना मासु कुन जनावरको हो भन्ने कुरा यकिन गर्न नसकिने र अनुसन्धानको प्रतिवेदन पेश नभएसम्म पक्राउ परेका व्यक्तिको नामसमेत उल्लेख गर्न नमिल्ने प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..