विश्व औलो दिवस : झापा र मोरङमा औलो रोग उन्मूलन उन्मुख बन्दै

बनियानी (झापा) । सन् २००३ देखि २००५ सम्म महारामारीका रुपमा रहेको औलो रोग झापामा उन्मूलन उन्मुख बन्दै गएको छ । 

malaria disease

जिल्लामा सन् २०१२ देखि औलो रोग क्रमशः घट्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेका अनुसार चालु आवमा झापामा आठ जनामा मात्र औलो रोग फेला परेको छ । 

यस वर्ष बनियानी, पाठामारी, बुधबारे, बिर्तामोड, भद्रपुर र पृथ्वीनगरमा एक÷एक जना तथा सतासीधाममा दुईजना औलो रोगी भेटिएको उनले बताए  । 

पछिल्लो चार वर्षको तथ्याङ्क हेर्ने हो भने झापामा क्रमशः औलो रोग नियन्त्रण हुँदै गएको देखिन्छ । आव २०७०÷७१ मा ८९ जना, ०७१÷७२ मा ५८ जना, ०७२÷७३ मा ४२ जना र चालु आव आठ जनामा मात्र औलो रोगी फेला परेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

औलो नियन्त्रणका लागि सन् २००८ देखि सन् २०१५ सम्ममा झापामा करिब दुई लाख थान सुपानेट (झुल) वितरण गरिएको थियो । गाउँ तथा सहरी गरी ६६ वटा स्वास्थ्य संस्थाबाट द्रुत निदान विधिबाट औलोको निःशुल्क परीक्षण तथा औषधि वितरण हुँदै आएको घिमिरेले बताए । 

मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट पीताम्बर ठाकुरले १२÷१३ वर्षअघि झापामा औलो भयावह अवस्थामा रहेको बताए । “मैले यहाँ काम गरेको १४ वर्ष भयो, पहिले औलोको जोखिम उच्च थियो”  “अहिले हामी शङ्का लागेका बिरामीलाई जाँच गराउँछौँ तर औलोका केस कम्ती भेटिन्छन् ।” 

“पहिले सीमावर्ती भारतीय क्षेत्रमा औलो महामारीका रुपमा थियो, हाट बजार गर्न जाँदा औलो जोखिम बढी हुन्थ्यो”, उनले भने, “अहिले त्यहाँ पनि औलो घट्दै गएको छ ।” 

सन् २०२६ सम्ममा नेपाललाई औलो मुक्त बनाउने सरकारी लक्ष्य रहेको छ । सरकारले मुलुकका ६५ जिल्लालाई औलो जोखिमयुक्त जिल्लाको रुपमा लिएको छ । तराई र भित्री मधेसका ३१ जिल्लालाई उच्च प्रभावित जिल्लाका रुपमा सरकारले राखेको छ । 

 मोरङमा औलो रोगीको सङ्ख्या दिनप्रतिदिन घट्दै गइरहेको छ । 

सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा कीटनाशक औषधि छर्कने, निःशुल्क औषधि वितरण र औलो रोगविरुद्ध जनचेतना जगाउनेलगायतका कार्यक्रमका कारण सो रोगको प्रभाव क्रमिक रुपमा घट्दै गइरहेको हो । 

मोरङमा २०७०÷०७१ मा २० जनामा औलो रोग फेलापरेको थियो भने क्रमिक रुपमा घट्दै गत आवमा मात्र सातजना सो रोगबाट पीडित भएको जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले जनाएको छ । 

यस जिल्लाको मधुमल्लामा तीनजना, कोसी–हरैचा नगरपालिकामा दुईजना र बेलबारी र विराटनगरमा एक–एक जना रोगी फेलापरेको सो कार्यालयका प्रमुख चन्द्रदेव मेहताले जानकारी गराए । 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..