भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

School 650413

School 650413पर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको पाँच वर्षको अवधिमा पुनःनिर्माणको प्रगति सार्वजनिक गर्दै ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको जानकारी दिएको हो ।

पहिलो चरणमा सम्झौता भएका विद्यालयको पुनःनिर्माण सकिए पनि दोस्रो चरणमा सम्झौता भएका ७१ विद्यालयको पुनःनिर्माण गर्न बाँकी नै रहेको कार्यालयका प्रमुख युक्तप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएका १५३ विद्यालय पुनःनिर्माणको सूचीमा थिए । जिल्लामा १५३ विद्यालयको पुनःनिर्माण, ४४ विद्यालयको शौचालय र ४१ विद्यालयको खानेपानी योजनाको काम गर्नुपर्ने दायित्व कार्यालयसँग छ । कार्यालय प्रमुख शर्माले कोरोना सङ्क्रमणका कारण गत वर्ष काम गर्न समस्या भए पनि कोरोना नियन्त्रणउन्मुख भएपछि विद्यालय पुनःनिर्माणले गति लिएको बताउनुभयो ।

कोरोना नियन्त्रणपश्चात तीनवटा विद्यालयले फिनिसिङको काम गरिरहेकाले यो महिनाभित्र काम सक्ने जानकारी दिनुभएको छ । आगामी पुससम्ममा सबै विद्यालयको पुनःनिर्माण सक्नुपर्ने बाध्यता छ । पुनःनिर्माण प्राधिकरणको म्याद पुससम्म रहेको र त्यसपछि म्याद थपिने कि नथपिने भन्ने कुरा सरकारकै हातमा रहेको हुँदा सकेसम्म पुससम्म सबै काम सक्ने हतारोमा रहेको शर्माले बताउनुभयो ।

जिल्ला आयोजना कार्यालय शिक्षामा दोस्रो चरणमा २० विद्यालयमा दुईकोठे, चार विद्यालयमा तीनकोठे र ३९ विद्यालयमा दुईकोठे भवन निर्माण गर्ने सम्भौता भएको थियो । अधिकांश विद्यालयको पुनःनिर्माणको प्रगति ६५ प्रतिशत रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो । भवन निर्माणको काम सकेका विद्यालयका बालबालिका भूकम्प प्रतिरोधी भवनमा बसेर पढ्न पाएका छन् । भूकम्पले विद्यालयका सबै कक्षाकोठा नभएका विद्यालयलाई पहिलो प्राथमिकता र केही मात्रै भवन भत्किएका विद्यालयलाई दोस्रो चरणमा पुनःनिर्माण गर्ने गरी कार्यालयले कार्ययोजना बनाएको थियो । सोहीअनुसार विद्यालयका भवन पुनःनिर्माण भइरहेको कार्यालयले जानकारी दिएको छ ।

जनगणनाका लागि सुपरीवेक्षकको सूची सार्वजनिक

पर्वतमा जनगणनाका लागि परिचालन हुने सुपरीवेक्षकको पहिलो सूची सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा अनलाइन आवेदन दिएकामध्ये सुपरीवेक्षकका लागि ८३ जनाको संक्षिप्त सूचीमा नाम निकालिएको छ । यिनीहरुमध्येबाट जनगणनाका लागि ६१ सुपरीवेक्षक छनोटमा पर्ने जनाइएको छ । पर्वतमा जनगणनाको तयारी भइरहँदा गणक र सुपरीवेक्षक खटाइनेछ । आवश्यकताभन्दा धेरैको आवेदन परेपछि संक्षिप्त सूचीमा पनि धेरै जनाको नाम निकालिएको छ ।

जनगणना कार्यालय पर्वतका प्रमुख ज्योति केसीले संक्षिप्त सूचीमा परेकालाई कार्यालयले वैशाख १० गतेसम्म कार्यालयमा सम्पर्क राख्न भनेको बताउनुभयो । कार्यालयमा आवेदकलाई बोलाएर आवश्यक कागजातको परीक्षण, अन्तरवार्ता र तथ्याङ्क विभागले बनाएको कार्यविधिलाई टेकेर सुपरीवेक्षक छनोट गरिने केसीले जानकारी दिनुभयो । जिल्लाका सातै स्थानीय तहका ६१ वटा वडामा एक–एक जना सुपरीवेक्षक र चार गणक खटिने जनाइएको छ । गणकको सूची भने वैशाख १५ गतेपछि मात्रै सार्वजनिक हुने कार्यालय प्रमुख केसीले बताउनुभयो । सुपरीवेक्षक वैशाख २६ देखि गणनाको काम लिएर गाउँ जानेछन् ।

जनगणना कार्यालय पर्वतमा स्थापना भएपछि कार्यालयले सञ्चारकर्मीसँग एक चरणमा अन्तरक्रिया भएको छ । जनगणना सचेतनासम्बन्धी एक चरणमा जनप्रतिनिधिसँग गोष्ठी भएको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नाराका साथ २०७८ मा हुने गणनालाई महत्वका साथ हेरिएको छ । यस वर्ष अक्सर बसोबासका आधारमा गणना हुने जनाइएको छ ।

भीमफेदीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नंको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना१९प ८९६ नंको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय मोटरसाइकल चालक अनिष खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार कन्टेनरको ठक्करबाट सोही दुर्घटनामा परी कन्टेनर मालिक भीमफेदी–२ बस्ने २३ वर्षीय सुरेश घलान र चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ बस्ने अन्दाजी ३२ वर्षीय मधुकर विष्ट घाइते भएका छन् । घाइतेमध्ये कन्टेनर मालिक घलानको हेटौँडा चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

अर्का घाइते कन्टेनर चालक विष्टको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने कन्टेनर सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

राखु भगवती कोत मन्दिर पुनःनिर्माण शुरु
म्याग्दीको ऐतिहासिक राखु भगवती कोत मन्दिर पुनःनिर्माण शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले रघुगङ्गा गाउँपालिका–२ मा रहेको भगवती कोत मन्दिरको पुनःनिर्माण शुरु गरेको हो । विभागसँग ठेक्का सम्झौता गरेको मिलीजुली–किवेष्ट जेभीले नयाँ मन्दिर निर्माणका लागि पुरानो संरचना भत्काउन शुरु गरेको छ ।

धार्मिक विधिअनुसार क्षमापूजा गरेर मन्दिर भत्काउन थालिएको हो । करसहित रु ६९ लाख ३० हजार ५६६ मा २०७७ फागुन २३ गते ठेक्का सम्झौता भएको थियो । सम्झौतामा उल्लिखित २०७८ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण शुरु गरेको मिलीजुली–किवेष्ट जेभीका सम्पर्क व्यक्ति राजीव ढुङ्गेलले बताउनुभयो ।

“मन्दिरको पुरानै स्वरूपलाई जोगाउने र भूकम्पप्रतिरोधी बनाउने गरी पुनःनिर्माण गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “भूकम्पप्रतिरोधी प्रविधि अवलम्बन गरी ढुङ्गा र काठकै सामग्री प्रयोग गर्ने डिजाइन तयार भएको हो ।” पुरानै शैलीमा निर्माण हुने मन्दिरमा सिमेन्ट र रडको प्रयोग गरिने छैन । चुना, सुर्की, गिट्टी र बालुवा प्रयोग गरेर पर्खाल बनाइने मन्दिरको छाना ढुङ्गाको हुनेछ ।

बाइसे÷चौबीसे राज्यका पालामा १७औँ शताब्दीमा भगवती मन्दिर निर्माण भएको थियो । भगवती कोत म्याग्दीका पुराना र ऐतिहासिक कोतको सूचीमा अगाडि छ । चैते र बडादशैँको अवसरमा विषेश पूजा हुने भगवती कोतमा अन्य समयमा दैनिक नृत्यपूजा हुन्छ । भगवती कोत शक्तिपीठ हो । दशैँको पूजामा यहाँ बलि चढाउने चलन छ ।

धवलागिरि आइसफल पदमार्गले समेटिएको मन्दिर परिसरबाट कालीगण्डकी नदी, पुलाश्रम, पञ्चकोटसँगै अन्नपूर्ण र नीलगिरि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न जोड दिइएको वडाध्यक्ष रिम कटुवालले बताउनुभयो ।

जिल्ला सदरमुकाम बेनीबाट चार कोस उत्तरमा कालीगण्डकी र रघुगङ्गा नदीको दोभानको शिरमा रहेको भगवती कोत मन्दिरमा पुग्न बेनी–गलेश्वर–पिप्ले–भगवती सडकको सहज पुहँच छ । पैदलयात्रामार्फत पनि पुग्न सकिन्छ । तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रूपमा चिनिदै आएको यस मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरेटाकुरे राजा तथा १४औँ देखि १७औँ शताब्दीका बाइसे÷चौबिसे राज्यका राजासँग जोडिएको इतिहास छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..