आज विश्व क्षयरोग दिवस, यो कस्तो रोग हो ?

विश्व क्षयरोग दिवस हरेक वर्ष २४ मार्चका दिन विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइन्छ। सन् १८८२ मा जर्मनका वैज्ञानिक डा. रोबर्ट कोचले क्षयरोग गराउने शूक्ष्म जीवाणू (माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस) पत्ता लागाएका थिएl यो नै क्षयरोगजस्तो घातक रोगको उपचार तथा रोकथामका लागि पहिलो पाइला थियोl

World Tuberculosis Day

जीवाणूबारे पत्ता लगाएको एक सय वर्षपछि सन् १९८२ मा विश्व स्वास्थ्य संगठनले पहिलो पटक ‘क्षयरोग र फोक्सो रोग विरुद्ध एक हौँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम गरी क्षयरोग दिवास मनाउन सुरु गरेको थियो। यस वर्ष ‘क्षयरोग अन्त्य का लागि एक हौँ’ (युनाइट टु इन्ड टिबी) भन्ने नाराका साथ संसारभर क्षयरोग दिवस मनाइँदैछ। सरकारले पनि क्षयरोग सन् २०५० सम्म नेपालबाट हटाउने लक्ष्यसहित यो दिवसलाई विशेष रुपमा मनाउने गरेको छ।

के हो क्षयरोग?

सामान्यतया क्षयरोग गराउने माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणूले हाम्रो फोक्सोमा संक्रमण गर्दछ। तर, शरीरका अन्य भाग (मिर्गौला, हड्डी तथा जोर्नी, मष्तिस्क झिल्ली, ग्रन्थीहरु, छाला आदि) मा पनि क्षयरोगका जीवाणूले संक्रमण गर्न सक्छ। यी जीवाणू शरीरमा प्रवेश गरेको केही हप्तादेखि वर्षौँपछि पनि क्षयरोगको लक्षण देखा पर्न सक्छ। शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र एचआइभी संक्रमित बिरामीलाई क्षयरोग लाग्ने सम्भावाना ज्यादा हुन्छ।

यो जीवाणूले कहिलेकाहीँ सामान्य मान्छेमा संक्रमण भएर पनि स्वास्थ्यमा कुनै लक्षण नदेखाई बस्न सक्छ। यस्तो अवस्थालाई ‘ल्याटेन्ट’ भनिन्छ। यो अवस्थामा क्षयरोगको जीवाणू अरुमा पनि सर्न सक्दैन र रोगका लक्षण पनि देखिँदैनन्। तर पछि जुनसुकै बेलामा पनि क्षयरोग देखिन सक्ने भएकाले यो अवस्थालाई समयमै पत्ता लगाई उपचार गर्नु जरुरी हुन्छ।

कसरी सर्छ क्षयरोग?

क्षयरोग लागेका व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट यो रोग सर्न सक्छ। क्षयरोगीले बोल्दा, गाउँदा, हाच्छिउँ गर्दा, खोक्दा हावामार्फत् नजिकको व्यक्तिमा पुनः श्वासप्रश्वासको माध्यमबाट यी जीवाणू फोक्सोमा प्रवेश गर्दछन्। फोक्सोमै पनि यसले आफ्नो बासस्थान बनाउन सक्छ भने रगतको माध्यम हुँदै शरीरका अन्य भागमा पनि संक्रमण गराउन सक्छ।

लक्षणहरु

– तीन हप्ता वा सोभन्दा लामो समय खोकी लागिरहनु,

– छाती दुख्नु,

– खोक्दा खकारसँगै रगत देखापर्नु,

– कमजोर हुनु वा छिट्टै थकाइ लाग्नु,

– खान मन नलाग्नु र तौल घट्दै जानु,

– साँझ र रातिपख हलुका ज्वरो आइरहनु,

– शरीरमा भएका ग्रन्थीहरु सुनिनु, आदि।

क्षयरोगको परीक्षण तथा निदान

सामान्यतया फोक्सोको क्षयरोगका लागि बिरामीले भनेका कुराबाट नै चिकित्सक तथा तालिमप्राप्त स्वास्थ्यकर्मीले क्षयरोग हो भन्ने थाहा पाउन सक्छन्। तर पनि फोक्सोको क्षयरोग निदानका लागि सबैभन्दा राम्रो र भरपर्दो उपाय भनेको माइक्रोस्कोपको प्रयोगबाट खकारको परीक्षण हो। यदि माइक्रोस्कोपको प्रयोगबाट पत्ता नलागे जिन एक्सपर्ट प्रविधि प्रयोग गरी रोग पहिचान गरिन्छ। त्यस्तै शरीरका अन्य अंगको क्षयरोग निदान गर्नुपरेमा एक्स-रे, मन्टु टेस्ट, प्रभाभित अंगको कोषिकाको कल्चर, बायस्पी आदि प्रविधि प्रयोग गर्ने गरिन्छ।

क्षयरोगको उपचार तथा रोकथाम

सरकारले क्षयरोग विरुद्धको औषधि निःशुल्क उपलब्ध गराएको छ। स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोगको औषधि खुवाइन्छ। सरकारले डट्स (डिओटिएस) कार्यक्रममार्फत नेपालभर चार हजार दुई सय ४४ केन्द्रबाट औषधि वितरण गर्दछ। नेपालभर प्रत्येक स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य चौकी र अस्पतालबाट यो सेवा निःशुल्क उपलब्ध छ। क्षयरोगको उपचार समय र रोगको वर्गीकरण अनुसार फरक पर्छ। यो रोगको औषधि नियमित सेवन गरेमा पूर्णरुपमा निको हुन्छ। रोग लागेको शंका लागेमा अथवा रोग लागेको थाहा भएमा नजिकको स्वास्थ्य संस्था तथा अस्पतालमा तुरुन्त सम्पर्क गर्नुपर्छ।

सरकारले क्षयरोग नियन्त्रणका लागि निःशुल्क औषधिसहित अभियान चलाएको १६ वर्ष भइसक्यो। अझै पनि जनचेतनाको अभावमा क्षयरोग भएका करिब ९ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थाको सम्पर्कमा नआएको एक अध्ययनले देखाएको छ। तसर्थ, क्षयरोगको कुनै पनि लक्षण देखिएको छ भने, सकेसम्म स्वास्थ्य संस्थामा जाने गर्नुपर्छ। – स्वास्थ्य खबरबाट 

Kantipath Media

यो छुट्टाउनु भो कि..