बेलायतको बार्नेट बरो र पोखराबीच भगिनी सम्बन्ध स्थापना

बेलायतको लण्डन शहरमा पर्ने बार्नेट बरो काउन्सिल र पोखराबीच भगिनी सम्बन्ध स्थापनाको अवसरमा मंगलबार बार्नेट बरो काउन्सिलमा एक कार्यक्रम सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बार्नेटकी मेयर डा क्यारोलिन स्टकबीच एक सम्झौतापत्रमा हस्ताक्षर गरी औपचारिकता दिइएको थियो । कार्यक्रममा बोल्दै राजदूत रेग्मीले यस सम्बन्धले नेपालसँग सांस्कृतिक, आर्थिक र थप नजिकको सम्बन्ध स्थापना गर्ने बताए ।

बार्नेट बरोका उपमेयर लक्ष्य गुरुङको विशेष पहलमा जोडिएको उक्त भगिनी सम्बन्ध समारोह कार्यक्रममा बोल्दै मेयर क्यारोलिनले यस बरोमा रहेका नेपालीले यहाँको आर्थिक, सामाजिक एवं सबै क्षेत्रमा सहयोग गर्दै आइरहेको र अब बनेको यो सम्बन्धले नेपालमा पनि सोहीअनुरूप सबै क्षेत्रमा टेवा पुग्ने बताए । लामो समयदेखि नेपालसँग कुनै न कुनै रूपमा यो ठाउँलाई जोड्न खोजिरहेको सन्दर्भमा अहिले उपयुक्त समय आएको र यसले नेपालमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उपमेयरको भनाइ थियो ।

कार्यक्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ, नेपाली समुदायमा परिचित समाजसेवी सूर्य गुरुङको समेत उपस्थिति थियो । बेलायतमा लामो समय बस्दै आएका गुरुङ आफू पनि पोखरावासी नै भएको र आज यस सम्बन्ध स्थापना हुँदा एकदम खुशी लागेको बताए। पोखराजस्तै देशका अन्य ठाउँसँग पनि बेलायतका विभिन्न ठाउँलाई जोड्न सके बेलायत र हाम्रोबीचको लामो सम्बन्धलाई थप बलियो बनाउने समाजसेवी गुरुङको तर्क थियो ।

अक्सिजन प्लान्टका लागि रु ७५ लाख

प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेकोे सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ ।

सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम तयारीमा रहेका ५० शय्याको नवनिर्मित सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सरकारले बिहीबार रु ७५ लाख बजेटको व्यवस्था गरेको छ । नेकपा (एमाले)का युवानेता एवं सांसद बस्नेतले बिहीबार अर्थ र स्वास्थ्य मन्त्रालयमा छलफल गरी अक्सिजन प्लान्ट सञ्चालनका लागि उक्त बजेटको व्यवस्था गरेका हुन् ।

उनले भने, “कोभिड–१९ को दोस्रो लहरको महामारीमा सञ्चालनमा आउन लागेको नगर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने आवश्यकता देखेर मैले पहल गरेँ, आजै रु ७५ लाखको बजेट व्यवस्थापन गर्ने निर्णय भयो, अब छिट्टै अक्सिजन प्लान्ट पनि शुरु हुन्छ ।” यसअघि उहाँकै पहलमा यस अस्पताललाई आइसीयू र भेन्टिलेटर सञ्चालनका लागि रु एक करोड ५० लाख बजेटको व्यवस्था गरेका थिए ।

बस्नेतले भने, “केही दिनअघि मात्रै अर्थमन्त्री, स्वास्थ्यमन्त्री र सचिवहरूसँग छलफल गरेर भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क निर्माण गर्न भक्तपुर अस्पताललाई रु तीन करोड ८० लाख, नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई रु तीन करोड १२ लाख ७० हजार र सूर्यविनायक अस्पतालका लागि समेत गरेर सङ्घीय सरकारबाट रु आठ करोड एक लाख ७० हजार बजेट व्यवस्था गरेको थिएँ, थप बजेटको व्यवस्था गरियो, जनताको स्वास्थ्य र सुरक्षाका लागि जनप्रतिनिधिको हैसियले सक्दो प्रयास गर्छु ।” उनले भक्तपुरका जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफू लागिरहेको बताउँदै यो सङ्कटको बेलामा विरोध गर्नेभन्दा पनि सहयोगको हात फैलाउनुपर्ने बताए ।

भेरीमा रु २० मा खाना : बिरामी र कुरुवालाई राहत
नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि राहत मिलेको छ ।

अस्पताल परिसरमै प्रतिछाक रु २० मा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ–बिहान दुवै छाक खाना खुवाउन शुरु गरेको छ ।

बिहानको छाकमात्रै रु २० मा खाना खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल परिसरका होटल बन्द भएकाले अस्पतालमा आउने बिरामी तथा कुरुवाको समस्यालाई मध्यनजर गरेर साँझको पनि खाना खुवाउन शुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले मासिक रु ५० हजार सहयोग गर्न थालेपछि श्री सुन्दर काण्ड मित्र मण्डल अञ्जनी माता रसोइले गत कात्तिकदेखि भेरी अस्पतालमा बिरामी र कुरुवाका लागि लक्ष्य गरेर रु २० मा बिहानको खाना खुवाउन शुरु गरेको थियोे ।

पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे । अञ्जनी माता रसोइको अनुरोधका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय मासिक रु एक लाख उपलब्ध गराउन थालेको छ ।

उपमहानगरपालिकाले सहयोग बढाएको र अन्य सहयोगी मनहरूबाट पनि सहयोग उपलब्ध हुन थालेपछि रसोइमा यही मङ्गलबारदेखि बेलुकाको खानासमेत रु २० मा उपलब्ध गराउन थालिएको छ । यसअघि बिहानको खाना रु २० र बेलुकाको खाना रु ८० प्रतिछाक रहेको थियो ।

कोभिड–१९ का बिरामीको उपचार केन्द्र बनेको भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौँ व्यक्ति उपचारका लागि आउने गरेका छन् । अस्पतालमा उपचाररत बिरामी र कुरुवालाई लक्ष्य गरेर रु २० मा खाना खुवाउन थालिएको मित्र मण्डलका व्यवस्थापक जितेन्द्रबहादुर सिंहले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले पनि यही रसोइमा खाना खाने गरेका छन् । खाना खान आउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । दैनिक ४०० जनालाई खाना खुवाउन सक्ने गरी व्यवस्थापन मिलाइएको छ ।

रु २० मा दाल, भात, तरकारी दिने गरिएको छ । बिरामीका लागि बोतलको पानी उपलब्ध गराउने गरिएको छ । सस्तोमा स्तरीय खानासँगै सरसफाइमा समेत विशेष ध्यान दिइएको व्यवस्थापक सिंहले बताउनुभयो । अस्पताल हाताभित्रै सस्तोमा खाना खान पाएपछि बिरामी र कुरुवालाई ठूलो राहत मिलेको छ ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी सरसफाइमा ध्यान दिनुका साथै तातोपानीले भाडा धुने गरिएको छ । प्रत्येक टेबलमा खाना खाएर मान्छे गएपछि टेबल अनि कुर्सीमा स्यानिटाइज गर्ने गरिएको व्यवस्थापक सिंहले जानकारी दिनुभयो ।

अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवालाई रु २० मा राम्रो खाना खुवाउनु सामाजिक कार्य भएको भन्दै यसमा स्थानीय सरकारबाट सक्दो सहयोग गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो ।

कोरोना महामारीको बेला अस्पताल परिसरमै सस्तो दरमा खाना खुवाउने कार्यले बिरामी र कुरुवालाई ठूलो राहत पुगेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो । अञ्जनी माता रसोइले व्यवस्था गरेको रु २० मा खानाले बिरामीसँगसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई समेत राहत पुगेको उहाँको भनाइ छ ।

उक्त अभियानमा उपमहानगरपालिकासहित विभिन्न मनकारी सङ्घसंस्था र व्यक्तिले नगद तथा खाद्यान्न सहयोग गर्दै आएको मित्र मण्डलका प्रवक्ता विमल चन्दले जानकारी दिनुभयो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..