annapurna add

Bangladeshपलासबारी (बङ्गलादेश)। आमालाई मनोरोगले छोएपछि तीन वर्षे बालक अलामिनले आमाको काखे माया पूरापूर पाएनन् । विसं २०६६ तिर नै उहाँलाई मनोरोगले छोइसकेको थियो । श्रीमान् अब्दुल कुद्दुस प्रहरी अधिकृतमा जागिरे हुँदा परिवारमा खासै आर्थिक समस्या भएन । श्रीमान् काममा खटिँदा ठूलो परिवारको माइती सहारा भई उभिन्थो ।

उहाँमा रोग बल्झिँदै गयो । एक दिन मानिसलाई ढुङ्गा हान्ने, जथाभावी बोल्ने गर्न थाल्नुभयो । कुनै घटना हुने डरले दाजु मिजानु रहमानले डोरीले हात बाँधेर राख्नुप¥यो । त्यसलाई पनि उहाँले चुँडालेर भाग्नुभयो । तीन÷चार महिना यसरी बिते । एक दिन अचानक मुर्मुरिँदै घरबाट निस्कनुभयो । “त्यस दिन मोमिनालाई सम्हाल्न छोरालाई पठाएँ, तर भेट्न सकिएन”, रहमानले स्मरण गर्दै भन्नुभयो, “हामीले तीन÷चार वर्ष खोज्यौँ, प्रहरी अफिसर श्रीमान्ले धेरै ठाउँमा खोजी गर्दा पनि पत्तो लागेन ।”

दिन अनि वर्ष बित्दै गयो । बिछोडिएको व्यक्ति नदेखेपछि परिवारका सदस्यबाट याद हराउँदै गयो । परिवारले बिर्सिदै जाँदा उहाँको कष्टकर जीवनको शुरुआत हुँदै थियो । घरबाट निस्किएपछि सडक÷सडक भौंतारिनुको विकल्प थिएन ।

मानिसको हप्काइ, छिछी÷दुरदुर त छँदै थियो । पटकपटक कुकुरको टोकाइ सहनु प¥यो । पीडा र वेदनासँग पौैंठेजोरी गर्दै दिन बित्न थाल्यो । उहाँको जति पाइलो अघि बढ्थ्यो, जीवन त्यति नै परिवारबाट टाढिँदै गयो । मोमिनालाई कतिपटक रेलमा ठोक्किएर पुनःजीवन पाएको विगतका तीता घटना मानसपटलमा बेलाबेला बल्झिने गर्दछ । उहाँलाई कति दिन भोकै बसेको याद छ, रातमा निन्द्रा नभएको पनि ताजै छ ।

उहाँमा विस्तारै विगतका याद फर्किन थालेको छ । “चितवनको रामनगरमा मात्रै दुई वर्ष बिताएको हुँ, माग्थेँ, शहरका मान्छेले दिन्थँे, त्यही खान्थेँ”, पारिवारिक पुनःमिलनका क्रममा भाषानुवादक रोशन पटेलले उहाँको भनाइ उद्धृत गर्दै सुनाउनुभयो । उहाँ नेपाली र हिन्दी भाषा केही बुझ्नुहुन्छ तर बोल्दा बङ्गाली भाषा बोल्नुहुन्छ ।

बिहीबार आफ्नो माइती गाउँ बङ्गलादेशको गाइबन्दस्थित पलासबारीमा पुग्दा पनि साथी÷सङ्गीसँग ती कुरा साट्न भ्याउनुभयो । सो ठाउँ राजधानी ढाकाबाट झण्डै ३०० किलोमिटर उत्तरमा पर्छ । उहाँले बङ्गलादेशबाट हिँड्दाहिँड्दै भारत हुँदै नेपाल प्रवेश गरेको पनि सुनाउनुभयो ।

नेपालमा पुगेपछि २०७२ बाट उहाँको नाम फेरियो ‘गीता मानव’ । उद्धारक संस्था मानव सेवा आश्रमले सो नाम दिएको थियो । केही महिनाअघि परिवार पत्ता लागेपछि मात्रै उहाँको वास्तविक नाम ‘मोमिना बेगम’ भन्ने खुलेको हो । एघार वर्षपछि गीता वास्तविक नाम मोमिना बनेर पुनः गृहप्रवेश गर्नुभयो ।

उहाँलाई मङ्गलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यको उपस्थितिमा पारिवारिक सम्मिलनका लागि बिदाइ गरिएको थियो । उहाँको घर फिर्तीका सबै प्रक्रिया नेपालस्थित बङ्गलादेशी राजदूतावासले मिलाएको थियो ।

दूतावासका कन्सुलर मसुद आलमले घरसम्म पुग्ने आवश्यक प्रबन्धको समन्वय गराउनु भएको थियो । उहाँलाई घरमा पु¥याउन आश्रमका अभियानकर्मी सुशीला केसी र देवेश गुप्ता आउनुभएको थियो । परिवारिक पुनःमिलनका क्रममा देखिएको दृष्यले उहाँहरुलाई भावुक बनायो । बिदाइको क्षणमा मोमिना र केसीलाई छुट्न गाह्रो भएको थियो ।

बुधबार ढाकास्थित अन्तरराष्ट्रिय विमानस्थलमा उहाँलाई लिन भाइ रसिद मिया, छोरा राजु र अलामिन आएका थिए । मध्याह्न विमानस्थल ओर्लिंदा छोराहरुले आमा चिनेनन् । तीन वर्षमा आमाबाट बिछोड भएको कान्छो छोरा अलामिन १४ वर्षका भए । विमानस्थलमा आमा नचिनेर छोराहरु ट्वाल्ल परे । भाइ रासिदलाई देखेपछि मोमिना सम्हालिन सक्नुभएन ।

एक्कासी आँगालो मारेर भक्कानिँदै हर्षका आँसु चुहाउनुभयो । विमानस्थलमा शुन्यता छायो । कर्मचारी र अन्य यात्रु थुम्मिए । वास्तविक घटनाक्रम चाल पाएर बङ्गाली भाषामा नेपालको खुलेर प्रशंसा भयो । उद्धार गरी रेखदेख गरेर निको पारेकामा मानव सेवा आश्रमप्रति नतमस्तक भए । मानवीय कार्य गरेकामा आश्रमलाई अल्लाहले रक्षा गर्ने सुनाए ।

विसं २०७२ पुसमा चितवनको रामनगरबाट स्थानीयले एक महिला सडकमा अलपत्र रहेको जानकारी गराएपछि तत्कालै सुशीला केसी (रुपा) को नेतृत्वमा मानव सेवा आश्रमको टोली पुग्यो । उहाँको शरीरभरि कमिलाले ढाकेको थियो । हातको घाउ कुहिएर किरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुस्किल अवस्थाबाट उद्धार गरिएको थियो ।

तत्कालै भरतपुर अस्पताल लगेर शल्यक्रिया गरियो तर पनि एउटा औँला भने काटेरै फ्याँक्नु प¥यो । विस्तारै उपचार, माया, प्रेम, थेरापी र परामर्शपछि जीवन फेरिँदै आयो । पुराना कुराहरु मानसपटलमा चल्मलाउन थाले । विस्तारै बोल्न थाल्नुभयो । उहाँलाई आश्रमले गीता मानव भनेर नाम दियो ।

आश्रमकी आमा खिमा काफ्ले उहाँको भाषा बङ्गाली भनेर पत्ता लगाएपछि ठाउँ÷ठेगाना खोज्ने क्रममा बङ्गलादेशी यकिन गरिएको केसी सुनाउनुहुन्छ । त्यसपछि नेपालस्थित बङ्गलादेशी राजदूतावासमार्फत ठेगाना पत्ता लागेको थियो । बङ्गलादेशको गोविन्दगञ्ज जिल्ला, पलसपारि गाउँ बस्ने गीता केही महिनादेखि भर्चुअलमा छोराहरुसँग नियमित कुरा गर्नुहुन्थ्यो ।

उहाँ आश्रममा अन्य बेसहाराको रेखदेखमा खटिन थालेपछि भने परिवारको एक सदस्यझैँ बन्नुभएको थियो । गीतालाई पठाउने मन थिएन तर उहाँको परिवारको खुशीका कारण पुनःस्थापित गराउन आवश्यक थियो ।

यस्तो छ पारिवारिक अवस्था

बुबा आजिसार रहमानका तीनमध्ये जेठी श्रीमतीबाट मोमिनाको जन्म भएको थियो । उहाँ परिवारको चौथो सन्तान हुनुहुन्थ्यो । तीन छोरा र दुई छोरीकी आमा मोमिनाका जेठा छोरा कादेर मानसिक रोगीका साथ अपाङ्गतासमेत छन् ।

माइलो छोरा राजु र कान्छो अलामिन छन् । छोरी कना र कल्पनाको बिहे भइसकेको छ । दाजुभाइ विभिन्न व्यापार व्यवसायमा संलग्न छन् । श्रीमानले अर्काे बिहे गरिसकेका छन् । भाइ रसिद मियाको घरमा बस्ने गरेका दुई छोरा राजु र अलामिनका साथ बस्ने गरी मोमिना भित्रिनुभएको छ ।

माया मारेको त्यही व्यक्ति ११ वर्षपछि टुप्लुक्क आइपुग्दा आफ्नै परिवारलाई अच्चम्म लाग्नु स्वभाविक । बिहीबार बिहान घर भित्रिँदा दाजुभाइ÷दिदीबहिनी भावविह्ल भए । अङ्गालो मारेर खुसी साटे । मोमिनाको पुर्नजन्म भएको भनेर फूलमालाले स्वागत गरे । आश्रमको टोलीलाई पुष्पगुच्छासहित सम्मान दिए । त्यो रात कोही पनि निदाएनन् । उहाँले एक अर्काबाट ११ वर्षका दुःखसुख साटे । मोमिनाले आफ्ना दौंतारी, छरछिमेकको अवस्थाबारे पनि जानकारी लिनुभयो ।

एघार वर्षमा परिवारका सात सदस्य गुमाउँदा….

बिहीबार राति २ बजे पारिवारिक मिलन चल्दै थियो । हर्षका आँशु खस्दै गर्दा मोमिना एक्कासि डाँको छाडेर रुनुभयो । पुनःमिलनकै क्रममा बुबालगायत नजिकका सात जना आफन्तको निधन भएको खबर थाहा पाएपछि उहाँ सम्हालिन सक्नुभएन । एघार वर्षको अन्तरालमा उहाँका बुबा, भिनाजु, बहिनीलगायत नजिकका सात जनाको मृत्यु भएको खबर उहाँका लागि ठूलो घाउ बन्न पुग्यो । उहाँलाई आश्रमकी सचिव केसीले सम्हाल्नुपरेको थियो ।

केही समयअघि काठमाडौँबाट उद्धार गरिएका अर्का तीन बङ्गलादेशीलाई पनि परिवारमा पुनःस्थापित गरिएको छ । भारतबाट आएर बेवारिसे हुने धेरै भेटिइसकेका छन् । आश्रमले उद्धार गरेका पाँच हजारमध्ये २०० विदेशी फेला परेका छन् । त्यसमा ४८ जनाको परिवारमा पुनःमिलन गराइसकिएको र १०० अझै आश्रित रहेको जनाइएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...