केयर गिभरमा इजरायल जानेको भाषा परीक्षा आज

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज सोमबार भाषा परीक्षा हुँदै छ। दिउँसो १ बजेबाट एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुन पाउने छन्। साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने छनाेट भएका हुन्। परीक्षा काठमाडौं उपत्यकाका २० वटा केन्द्रमा सञ्चालन हुने वैदेशिक रोजगार विभागका प्रवक्ता तथा निर्देशक कमल ज्ञवालीले जानकारी दिए।

परीक्षामा सहभागी हुनेलाई विभागले इमेलमा नै प्रवेश पत्र पठाइसकेको छ। यस्तै परीक्षा केन्द्र पनि इमेलबाटै जानकारी गराइसकेको निर्देशक ज्ञवालीले बताए। परीक्षामा सहभागी हुनका लागि आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानुपर्नेछ। ८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिनेछ। ४० वटा टिकमार्क प्रश्नको हरेक २ अंकका हुनेछन्।

लिखित परीक्षामा १६ सय ८० जना उत्तिर्ण हुनेछन्। परीक्षाको नतिजा दुईदिन भित्रमा सार्वजनिक हुने निर्देशक ज्ञवालीले बताए। प्रश्नपत्र चेकजाँच कम्प्युटर सिस्टमबाट गरिने भएकाले छिटो नतिजा सार्वजनिक हुने भएको हो। लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिन भित्रमा अन्तर्वार्ता र शारिरिक परीक्षण गर्ने विभागको तयारी छ। केयर गिभरमा जानेले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ। नेपालीले पनि त्यहाँका नागरिक सरह नै सुविधा पाउनेछन्। इजरायलको वर्तमान तलब व्यवस्था अनुसार एक लाख ८६ हजार रुपैयाँ अथवा १६ सय अमेरिकन डलर मासिक कमाइ हुनेछ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..