बग्दादीको भिडियो, इराकमा हारको बदला लिन श्रीलंकामा हमला

काठमाडौ । इस्लामिक स्टेट (आईएस) ले इराकमा पराजित भएको बदला लिन श्रीलंकामा हमला गरेको जनाएको छ। एक भिडियो सार्वजनिक गर्दै आईएसले इराकको बागुजमा पराजित भएको स्वीकार गरेको छ।

अन्तिम गढ मानिएको बागुज आफूहरुको नियन्त्रणबाट गुमेको स्वीकार गर्दै उसले बागुजमा भएको पराजयको बदला लिन श्रीलंकामा हमला गरेको बताएको छ। १८ मिनेट लामो भिडियोमा देखिएका व्यक्ति अबु बकर अल बग्दादी रहेको बताइएको छ। भिडियोमा बोलिरहेका व्यक्ति बग्दादी हुन् या होइनन् भन्ने पुष्टि हुन सकेको छैन।

यदि उनी बग्दादी नै हुन् भने पाँच वर्षयता उनको यो पहिलो भिडियो हो। बग्दादीले सन् २०१४ मा पछिल्लो पटक भिडियो जारी गरेका थिए। त्यसयता सुरक्षा कारवाहीमा घाइते भएको, मारिएको जस्ता चर्चा चले पनि उनको अवस्थाबारे जानकारी हुन सकेको थिएन।

आईएसको मिडिया नेटवर्क ‘अल फुरकान’ मा पोस्ट गरिएको सो भिडियो कहिले रेकर्ड गरिएको हो भन्ने पनि प्रष्ट छैन। तर श्रीलंकामा गरिएका ताजा हमलाका बारेमा चर्चा गरिएका कारण उक्त भिडियो हालै रेकर्ड भएको अनुमान गरिएको छ। बग्दादीले बागुजको युद्ध समाप्त भएको स्वीकार गरे पनि त्यसपछि धेरै कुरा हुन बाँकी रहेको बताएका छन्।

इराकबाट आईएस पराजित भएको भनिए पनि उसले अझै विश्वका विभिन्न मुलुकमा हमला गर्न सक्छ भन्ने सन्देश दिन उक्त भिडियो सार्वजनिक गरिएको हुनसक्ने विश्लेषकहरूले बताएका छन्।

Kantipath Media

यो छुट्टाउनु भो कि..