पश्चिम नाइजरमा विद्रोहीको आक्रमणमा १६ सिपाहीको मृत्यु

पश्चिम अफ्रिकी मुलुक नाइजरको टिलियामा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा १६ जना सिपाहीको मृत्यु भएको छ ।
विद्रोहीको उक्त आक्रमणबाट क्याप्टेन मामान नामेवाको नेतृत्वमा रहेका अरु छ जना सैनिक घाइते भएको सेनाले जनाएको छ ।

विद्रोहीहरुले सेनालाई बारुदी सुरुङमा पारेको बताइएको छ ।
त्यस क्षेत्रका सचिव इब्राहिम मिकोले सेनासँग प्रत्यक्ष भिड्न नसकेपछि बारुदी सुरुङ बिस्फोट गराएर काँतरहरुले आक्रमण गरेको भन्दै आक्रोश पोख्नु भयो ।
साहेल–सहारा क्षेत्रको विशाल भूमिमा शान्ति, सुरक्षा र विकासमाथि नै विद्रोहीहरुले निरन्तर धावा बोलिरहेका छन् ।

छिमेकी मुलुक चाडमा सक्रिय बोको हराम र उत्तरी मालीमा सक्रिय जिहादीका कारण यस क्षेत्रमा नाइजरका सेनामाथि लक्षित गरी आक्रमण हुने गरेको छ ।
गत मार्च २१ मा नाइजरको पश्चिम क्षेत्र ताहोउका विभिन्न स्थानमा अपरिचित बन्दुकधारीले गरेको आक्रमणमा परेर कम्तीमा १३७ जनाको मृत्यु भएको थियो ।

चीनमा पोषण सुधार कार्यक्रमबाट एक करोड १२ लाख बालबालिका लाभान्वित
बेइजिङ, २० बैशाख (रासस–सिन्ह्वा) – चीनमा सञ्चालित पोषण सुधार कार्यक्रमबाट सन् २०२० को अन्त्यसम्ममा एक करोड १२ लाख बालबालिका लाभान्वित भएका छन् ।

चिनियाँ रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यस कार्यक्रमले देशका ८३२ वटा तुलनात्मक रुपमा कमजोर काउन्टीमा समेटेको थियो । यो कार्यक्रम सन् २०१२ देखि सञ्चालनमा छ ।

यस कार्यक्रम मार्फत् विषम गरिबीमा बाँचिरहेका परिवारका ६ देखि २४ महिनाका साना बालबच्चाका लागि निःशुल्क पोषण प्याकेजहरु बितरण गरिएको थियो ।

कार्यक्रम शुरु हुनुअघि यस क्षेत्रका ६ देखि २४ महिनाका बालबालिकाको रक्तअल्पता र पुड्कोपन क्रमशः १६.३ र ३.२ प्रतिशत रहेकामा हाल त्यसमा सुधार आई क्रमशः ५०.५ र ६८.३ प्रतिशतले घटेको छ ।

स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी
रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ ।
हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६० लाख डोज खोप उत्पादन गर्ने बारेमा तीन वटा सम्झौता भइसकेको रसियाले घोषणा गरेको छ । यहाँबाट उत्पादित खोप दक्षिण अमेरिका, मध्यपूर्व र अफ्रिकामा आपूर्ति गरिने छ । यी क्षेत्रका धेरै मुलुकले रसियाली खोपको माग गरेका छन् ।

अमेरिकी र युरोपेली युनियनले भने आफ्नै मुलुकका खोप अभियानमा केन्द्रित गरेपछि रसियाले अन्य मुलुकका लागि खोप आपूर्तिलाई तिब्रता दिएको छ ।
विगतमा रसियाको खोपका बारेमा विभिन्न आशंका गरिए पनि सुप्रसिद्ध बेलायती मेडिकल जर्नल दी ल्यान्सेटमा प्रकाशित विवरणले स्पुतनिक भी खोप सुरक्षित रहेको र यसको प्रभावकारिता ९१ प्रतिशतको हाराहारीमा रहेको देखाएको छ ।
तैपनि, विज्ञहरुले रसियाले विश्वका विभिन्न मुलुकबाट आइरहेको मागलाई पूरा गर्न सक्नेमा आशंका व्यक्त गरेका छन् ।

दशौं लाख डोज आपूर्ति गर्ने घोषणा र प्रतिबद्धता जनाए पनि रसियाले त्यसको केही अंश मात्र आपूर्ति गरिरहेको छ । रसियाका सरकारी प्रवक्ता दिमित्री पेस्कोभले स्पुतनिक भी को मागलाई पूरा गर्न रसियासँग रहेका प्लान्ट पूरै सक्षम नरहेको बताउनु भयो ।

उत्पादन वृद्धि गर्न रसियाको डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले भारत, दक्षिण कोरिया, ब्राजिल, सर्बिया, टर्की, इटाली र अरु मुलुक समेतका अरु मुलुकका औषधि उत्पादक कम्पनीसँग सम्झौता गरिसकेको छ । तर बेलारुस र कजाकस्तान बाहेक अन्य प्लान्टबाट पर्याप्त खोप उत्पादन हुन सकेको छैन ।

लन्डनस्थित अनुसन्धान संस्था एयरफिनिटीको अनुमानमा रसियाले १०० भन्दा बढी मुलुकलाई ६३ करोड डोज स्पुतनिक भी खोप उपलब्ध गराउन सम्झौता गरेको जनाएको छ तर हालसम्म करिब एक करोड १५ लाख डोज मात्र निर्यात भएको छ ।
फन्डले अन्य मुलुकमा कति डोज खोप निर्यात भइसक्यो भन्ने खुलाएको छैन ।

गत अप्रिल २७ सम्ममा स्पुतनिक भी खोप करिब २ करोड ७० लाख डोज मात्र उत्पादन भएको अनुमान गरिएको छ ।
यसैबीच, फन्डले हुआलान बायोलोजिकल ब्याक्टेरिनसँगको साझेदारीमा १० करोड डोज तथा शेनझेन युआक्सिन जिन टेकबाट ६ करोड डोज उत्पादन गर्ने सम्झौता गरिसकेको जनाएको छ ।
टिबेट रोडिओला फर्मास्युटिकल्सले स्पुतनिक भी खोप उत्पादन र बिक्री गर्नेगरी रसियासँग ९० लाख अमेरिकी डलरमा सम्झौता गरेको गत नोभेम्बरमै घोषणा गरिएको थियो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..