एअर इण्डियामा साइबर हमला, ४५ लाख सेवाग्राही प्रभावित

भारतको राष्ट्रिय ध्वजावाहक एअर इण्डियाको सर्भरमा भएको साइबर हमलाका कारण विश्वभर रहेका उसका ४५ लाख सेवाग्राही प्रभावित भएका छन् ।

जेनेभास्थित हवाई यात्रु अपरेटर यसआईटीएलाई लक्षित गरिएको उक्त आक्रमणमा एअर इण्डियाका टिकट लिएका यात्रुको नाम,जन्म मिति,सम्पर्क र टिकट नम्बर प्रभावित भएको बताइएको छ ।

तर एअर इण्डियाले भने क्रेडिट कार्डबारेको विवरण निशानामा परेका सर्भरहरूमा नभएको जनाएको छ ।

साइबर–हमलाबाट विश्वभरका लाखौं यात्रुहरूको सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० सम्म दर्ता भएका सबै व्यक्तिगत जानकारी चोरिएको एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सले भने आफ्ना यात्रुहरूलाई डाटाको दुरुपयोग नभएको भन्दै आश्वस्त तुल्याउने प्रयास गरेको छ ।

डाटाको दुरुपयोग नभए पनि आफ्नो गोप्य डाटाको सुरक्षा गर्न उसले सबैलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । कम्पनीले त्यसपछि कुनै पनि किसिमको थप अनाधिकृत गतिविधि नभएको जनाएको छ ।

सन् २०१८ मा चार लाख सेवाग्राहीहरूको व्यक्तिगत र क्रेडिट कार्डसम्बन्धी विवरण प्रभावित भएपछि गत बर्ष ब्रिटिश एअरवेजलाई २ करोड ६० लाख अमेरिकी डलर जरिवाना गरिएको थियो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..