नेतन्याहूलाई बहुमत सिद्ध गर्न मङ्गलबार मध्यरातसम्मको समयसीमा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि नयाँ गठबन्धन सरकार निर्माणका लागि मङ्गलबार मध्यरातको समयसीमा तोकिएसँगै इजरायलको राजनीतिमा तिब्र सरगर्मी शुरु भएको छ ।

प्रधानमन्त्री नेतन्याहूले बहुमत जुटाउन नसके १२ वर्षयता पहिलो पटक नेतन्याहूको दल लिकुड पार्टी सत्ता बाहिर पुग्नेछ ।

गत मार्च २३ यता प्रधानमन्त्री नेतन्याहूले संसदमा बहुमत हासिल गर्न सङ्घर्ष गरिरहेका छन् ।

दुई वर्षको अन्तरालमा चौथो पटक सम्पन्न संसदको चुनावबाट पनि कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको छैन ।

प्रधानमन्त्री नेतन्याहूलाई नयाँ सरकार गठन गरी संसदमा बहुमत सिद्ध गर्न इजरायली राष्ट्रपतिले चार हप्ताको समयावधि तोकेका थिए ।

प्रधानमन्त्री नेतन्याहूले त्यसपछि आफ्ना विपक्षी र साना इस्लामिक अरब पार्टीसँग शृंखलाबद्ध छलफल गरे पनि कुनै सहमति जुट्न सकेको छैन ।

राष्ट्रपतिले प्रधानमन्त्री नेतन्याहूलाई दिएको समयसीमा आज मध्यराति समाप्त हुँदैछ । प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न नसके राष्ट्रपति रुभेन रिभलिनले नयाँ कदम चाल्नु पर्नेछ ।

यद्यपी बहुमत सिद्ध गर्न नसके पनि नेतन्याहूको प्रधानमन्त्री पद गइहाल्ने छैन । राष्ट्रपति रिभलिनले नेतन्याहूलाई अरु दुई साताको समय दिन सक्ने छन् । अथवा, राष्ट्रपतिले विपक्षीलाई सरकार बनाउन आमन्त्रण गर्न सक्ने छन् र कुनै गठबन्धनमा सहमति नजुटे उनले संसदलाई नै निर्णय गर्न पठाउने छन् ।

राष्ट्रपतिले संसदलाई नै नयाँ प्रधानमन्त्री छनौटका लागि जिम्मा दिएको अवस्थामा संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ ।

यदि सबै विकल्पहरु असफल भए फेरि संसदको चुनाव हुनेछ ।

गत मार्च २३ मा सम्पन्न चुनावमा नेतन्याहूको लिकुड पार्टी संसदमा सबैभन्दा बढी स्थान जितेर पहिलो दल बनेको थियो ।

लिकुड पार्टीले १२० सदस्यीय संसदमा ३० स्थान जितेको थियो । तर सरकार गठन गर्न कम्तीमा ६१ स्थान आवश्यक पर्दछ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..