विश्व गतिविधी अपडेट : चीनको हेनान प्रान्तमा बाढी, ७३ व्यक्तिको मृत्यु

जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताउनु भएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भएको हो ।

स्पानका अनुसार ४ करोड १८ लाख जर्मन हाल पूर्णरुपमा सुरक्षित भएका छन् । जर्मनीको कूल जनसंख्या ८ करोड ३० लाख भन्दा बढी छ । जर्मनीको आधा जनसंख्या भनेको ४ करोड १५ लाख भन्दा बढी हो ।

त्यस्तै ६१.१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि उहाँले बताउनु भएको छ । प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप लिने पनि स्पानले ट्विटरमा लेख्नुभएको छ ।

जर्मनीमा कोरोना भाइरस शुरु भएदेखि हालसम्म ३७ लाख ६६ हजार ५०१ व्यक्ति सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको कारण ९१ हजार ५९२ व्यक्तिको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

चीनको हेनान प्रान्तमा बाढी, ७३ व्यक्तिको मृत्यु
मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ । गत जुलाई १६ बाट शुरु भएको वर्षाका कारण १५० जिल्लाका एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । भीषण वर्षापछिको बाढीका कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ ।

पिपुल्स लिबरेसन आर्मी ९पीएलए० केन्द्रीय थिएटर कमान्डले हजारौंको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेक मानिसहरुलाई सुरक्षित रुपमा उद्धार गर्न पठाइएको छ । झेङझाओको मौसम विभागले वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभर राहत वितरण र पुनः निर्माणको प्रयास भइरहेको जनाइएको छ ।

भारतमा थप ४३ हजार ६५४ जना कोरोना भाइरस सङ्क्रमित
भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यहाँ दैनिक कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारको तुलनामा मङ्गलबार बढेको सो मन्त्रालयले जानकारी दिएको छ । सोमबार २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो ।

हाल भारतमा तीन लाख ९९ हजार ४३६ जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ६४० जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २२ हजार २२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ

गत २४ घण्टामा यहाँ ४१ हजार ६७८ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख ६३ हजार १४७ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

सङ्क्रमण मुक्त भएकाहरुको यो सङ्ख्या ९७.३९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसविरुद्ध ४४ करोड ६१ लाख ५६ हजार भन्दा बढी डोज खोप लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४६ करोड ९ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै
कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको संख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्डमा पुगेको देखिएको छ । यहाँ गएको २४ घन्टामा पनि अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ ।

यहाँका अधिकारीहरुले मंगलबार यहाँ १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमितहरु पाइएको बताएका समाचारमा जनाइएको छ । यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड–१९ का सङ्क्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् ।

दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो थपिएका यी संख्यासँगै सङ्क्रमितको संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यतामात्र यतिधेरै सङ्क्रमित थपिएका हुन् ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।

यहाँका अधिकारीहरुले दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको दुई हप्ता अघि नै बताएका थिए । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ ।अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला महिनाको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरु कम्तीमा पनि ५८ प्रतिशत बढेका छन् ।

कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..