फुटको संघारमा तालिबान

तालिबानका शीर्ष नेताहरुबीच गम्भीर विवाद र भनाभनको अवस्था आएको दाबी गरिएको छ। स्रोतहरुलाई उद्धृत गर्दै बिबिसीले प्रकाशित गरेको खबरमा गएको हप्ताको अन्त्यतिर तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा चर्काचर्की भएको हो ।

तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच भनाभनको अवस्था आएको हो । पछिल्ला दिनहरुमा बरादरी सार्वजनिक रुपमा नदेखिएपछि तालिबानको नेतृत्वमा विवाद रहेको हुन सक्ने अपुष्ट खबरहरु आएका थिए । उनकाे मृत्यु भएकाे दाबी पनि गरिएकाे थियाे ।

गएको अगस्ट १५ मा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण कायम गरेको थियो । त्यसपछि तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ घोषणा गरेको छ । अन्तरिम मन्त्रिपरिषद्का सबै सदस्य पुरुष छन् । अन्तरिम सरकारका उपप्रधानमन्त्री बरादर र शरणार्थीसम्बन्धी मन्त्री खलिल उर–रहमान हक्कानीबीच भनाभन भएको हो । हक्कानी नेटवर्कका प्रमुख सदस्यमध्येका खलिल र बरादरबीच अफगानिस्तानमा तालिबानको सफलताको जस लिने विषयमा भनाभन भएको स्रोतले उल्लेख गरेको बिबिसीले जनाएको छ ।

मुल्लाह मोहम्मद हसन अखुन्दलाई तालिबानले प्रधानमन्त्री बनाएको छ।सन् १९९०को दशकमा तालिबानको शासनकालमा उनी कन्दाहार राज्यको गभर्नर थिए। उनी तालिबानका सह(संस्थापक मुल्लाह ओमर निकटका मानिन्छन्। ओमरलाई संयुक्त राष्ट्रसं‌घले कालोसूचीमा राखेको छ।

अखुन्दको उमेर ६० आसपास रहेको बताइएको छ। अखुन्द तालिबान समूहभित्र सबैले मान्ने नेतामा रुपमा चिनिने रोयटर्सले जनाएको छ। उनी यसअघि त्यहाँको उपविदेशमन्त्री समेत रहिसकेका छन्।तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदले मंगलबार पत्रकार सम्मेलन मार्फत अन्तरिम सरकारको घोषणा गरेका हुन्।

तालिबानको राजनीतिक कार्यालय प्रमुख मुल्लाह अब्दुल घानी बरादार उप-नेता (उपप्रधानमन्त्री)को रुपमा रहनेछन् भने सिरजुद्दिन हक्कानीलाई अन्तरिम मामिलामन्त्री बनाइएको छ। उनी हक्कानी नेटवर्कका संस्थापकका छोरा हुन्।

तालिवानका संस्थापक मुल्लाह ओमरका छोरा मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ। यस्तै, हेदुतल्लाह बाद्री अर्थमन्त्री भएका छन्। तालिबान समूहका वार्ता दलका सदस्य अमिर खान मुताक्कीलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको छ। ३३ सदस्यीय हुने मन्त्रिपरिषद्का अन्य सदस्यहरुको नाम विस्तारै घोषणा गरिने प्रवक्‍ता मुजाहिदले जानकारी दिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..