तनावबीच अमेरिकाले दक्षिण कोरियामा आधुनिक प्रविधियुक्त मिसाइल प्रतिरक्षा प्रणाली स्थापना

उत्तर कोरियाको मिसाइल तथा परमाणु कार्यक्रमका कारण जारी तनावबीच अमेरिकाले दक्षिण कोरियामा आधुनिक प्रविधियुक्त मिसाइल प्रतिरक्षा प्रणाली स्थापना गर्न सुरु गरेको छ । यसबाट उत्तर कोरियाले आक्रमण गरेमा त्यसको जवाफ दिन तयार रहेको सन्देश अमेरिकाले दिएको छ । विगतमा गल्फ कोर्सका रूपमा प्रयोग गरिएको सियोङजुमा यो प्रणाली स्थापना सुरु गरिएको हो । 

टर्मिनल हाई अल्टिच्युट एरिया डिफेन्स सिस्टम (थाड) भनिने मिसाइल प्रतिरक्षा प्रणाली स्थापनाको स्थानीय बासिन्दाले विरोध गरेका छन् । ८ हजार प्रहरीको कडा सुरक्षाबीच ती उपकरण लैजाने क्रममा स्थानीय बासिन्दासँग झडपसमेत भएको थियो । त्यस क्रममा १० जना घाइते भएको अधिकारवादीले जनाएका छन् । प्रदर्शनकारीले अमेरिकी सेनाका गाडीमा पानीका बोतल प्रहार गरेका थिए । गत वर्ष पनि चीनको आपत्तिका बाबजुद अमेरिकाले प्रतिरक्षा प्रणाली स्थापना गरेको थियो । 

उक्त प्रणाली सानो तथा मध्यम दूरीको ब्यालेस्टिक मिसाइललाई अन्तिम चरणको उडानका क्रममा रोक्न र ध्वस्त पार्न सक्षम भएको बताइएको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयले पनि उत्तर कोरियाली आणविक र मिसाइल खतराको जवाफ दिन दुवै मुलुकले ‘थाड’ प्रणाली सञ्चालनको सुरुवाती चरणको काम गरिरहेको जनाएको छ । यस विषयमा अमेरिकी सेनाले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

यो प्रणाली स्थापना गर्न अमेरिका र दक्षिण कोरियाबीच गत वर्ष सहमति भएको थियो । तर चीनले मिसाइल प्रतिरक्षा प्रणाली स्थापनाले त्यस क्षेत्रमा सुरक्षा अस्थिरता उत्पन्न गर्ने प्रतिक्रिया दिएको छ । बुधबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले यो प्रणाली फिर्ता लिन दक्षिण कोरिया र अमेरिकालाई आग्रह गरे ।

 उत्तर कोरियासँग जारी तनावलाई दृष्टिगत गर्दै अमेरिकाले यसअघि नै कोरियाली प्रायद्वीपमा कार्ल भिन्सन नामको युद्धपोत पठाइसकेको छ । दक्षिण कोरियाको एयरबेसमा समेत अमेरिकाले ‘अटयाक एयरक्राफ्टस ए १०’ तैनाथ गरिसकेको छ । उत्तर कोरियाले पनि सैन्य दिवसका अवसरमा अहिलेसम्मकै ठूलो ड्रिल गरेको छ । 

नेता किम जोङ–उनको उपस्थितिमा भएको अभ्यासमा ३ सय तोपहरू पड्काइएको उत्तर कोरियाली अधिकारीले जनाएका छन् । समुद्र किनारामा तैनाथ गरिएका ठूला क्षमताका स्वचालित बन्दुक पड्काइएको सरकारी समाचार समिति केसीएनएले जनाएको छ । 

चीनको पनि सैन्य शक्ति प्रदर्शन
यसैबीच, चीनले स्वदेशमै निर्मित पहिलो विमानवाहक युद्धपोत समुद्रमा उतारेको छ । यसअघि चीनले लियोनिङ नामको युद्धपोत प्रयोगमा ल्याएको थियो, जुन युक्रेनबाट ल्याएर चीनमा तयार पारिएको थियो । नयाँ युद्धपोतलाई उत्तरपूर्वी बन्दरगाह डालियानमा तैनाथ गरिएको छ । यो सन् २०२० देखि सञ्चालनमा आउने बताइएको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..