जुम्लामा सुरु भयो डाक्टरको पढाई !

  • 1 month अगाडि

आइतबारदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) अध्यापन सुरु भएकाे छ। कर्णालीमा पहिलोपटक एमबिबिएसको पढाइ सुरु भएकाे हाे। प्रतिष्ठानका एमबिबिएस कोडिनेटर डा सुनिल बुढाथाेकीले आइतबारदेखि पढाइ सुरु भएकाे जानकारी दिए।

चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्त्तीर्ण भएका विद्यार्थीमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच जनाले शुल्क तिरेर अध्ययन गरिरहेकाे प्रतिष्ठानले जनाएकाे छ। कर्णालीले एमबिबिएसका कार्यक्रमका लागि २० सिट पाएकाे थियाे।

प्रतिष्ठानले ३ सय शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ। अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आईसीयू) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ। चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक छन्। प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ पनि अध्यापन पनि सुरु भएकाे छ। ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन्।

एक वर्षदेखि प्रतिष्ठानमा पाँच जनाले एमडी अध्यापन गरिरहेका छन्। यस्तै व्याचलर पब्लिक हेल्थ (बिपीएच), स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ। ती विषयमा २०/२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ। सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले विसं २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो।