काकाले हारेपछि भतिजाले राजिनामा दिने: कमल थापाले अब ज्ञानेन्द्र ‘नबोक्ने’ !

  • 1 month अगाडि

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन्। हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्ततः राजीनामा दिने तयारीमा पुगेका हुन्। महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिन लागेको अभिषेकले बताए।

अध्यक्षमा काका कमल थापा पराजित भएपछि उनले सदस्यबाट राजीनामा दिन लागेका हुन्। थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका छन्।

राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङ्देनसँग पराजित भएलगत्तै दरवारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकमा सो निष्कर्ष निकालिएको हो।

अध्यक्ष लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको प्रारम्भिक समीक्षा बैठकका अधिकांश सदस्यले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेको सहभागी एक नेताले बताए।