कमल थापाद्वारा अध्यक्षको कुर्सी छाड्न आनाकानी !

  • 1 month अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त अध्यक्ष राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । धुम्बाराहीस्थित पार्टी कार्यालयमा लिङ्देनले पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा नेता कार्यकर्ताले उनलाई फूलमाला र खादा लगाएर स्वागत गरेका छन् । पार्टी कार्यालयमा नवनिर्वाचित अध्यक्ष लिङ्देनका लागि नयाँ अस्थायी कार्यकक्ष बनाइएको छ । यसअघि मुख्य अध्यक्षका रूपमा कमल थापाले प्रयोग गरिएको कार्यकक्ष लिङ्देनले प्रयोग गर्ने भनिए पनि सचिवालयले उनका लागि छुट्टै कार्यकक्ष तयार पारेको हो ।

थापाको कार्यकक्ष यथावत् राखिएको छ । थापाकाे कार्यकक्ष प्रयाेग गर्ने विषयमा विवाद सिर्जना भएपछि लिङ्देनले छुट्टै कार्यकक्ष तयार पार्न निर्देशन दिएका थिए । लिङ्देनले सम्मानित नेताका रूपमा कमल थापालाई नै उनले प्रयाेग गर्दै आएकाे कार्यकक्ष दिएर आफ्ना लागि नयाँ कार्यकक्ष बनाएकाे बताए ।

लिङदेनले भने आफ्नै इच्छामा नयाँ कार्यकक्ष बनाएको बताएका छन् । पूर्वअध्यक्षहरूको सम्मानका लागि उनीहरूको कार्यकक्ष यथावत राखिने उनको भनाइ छ । ‘उहाँहरूलाई आउँदा-जाँदा बस्न र भेटघाट गर्न सहज होस् भनेर पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत राख्न भनेको छु,’ उनले भने, ‘अभिभावकका रूपमा उहाँहरूको मार्गदर्शन हामीलाई चाहिन्छ ।’ ज्ञानेन्द्रले गद्दी छाडे, कमल थापाले अध्यक्षको कुर्सी छाड्न नसकेको भन्दै लिङ्देनका कार्यकर्ताले कमल थापाको विरोध गरेका छन् ।

राप्रपामा यसअघि तीन अध्यक्ष थिए, जसमध्ये कमल थापाले चुनाव हारे भने पशुपतिसम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी चुनावमा भाग लिएनन् । पार्टीको कार्यकारी पदमा अब नरहे पनि कार्यालयमा उनीहरूको कार्यकक्ष यथावत रहने लिङदेनले प्रत्याभूत गरेका हुन् । तस्वीर: सुशील श्रेष्ठ/शिलापत्र