‘आक्रोश, कुण्ठा र निम्छराु शब्द संसद्‍को रेकर्डबाट हटाउन निर्देशन

काठमाडौ । गत मंगलबारको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रयोग भएका असंसदीय शब्दलाई रेकर्डबाट हटाइने भएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले त्यस दिन प्रयोग भएका संसदीय मर्यादा प्रतिकुलका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्। ‘मेरो ध्यानाकर्षणको विषयमा म केही भन्न चाहन्छु । नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननिय प्रधानमन्त्रीज्यूले स्पष्टिकरण र माननीय सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु’, सभामुख महराले भने।

सभामुखले ती शब्द हटाउन निर्देशन दिएपछि सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले कांग्रेसका सांसदहरुले बोलेका शब्द के हुन्छन्? भनेर सोधेका थिए । त्यसपछि सभामुखले प्रधानमन्त्री र कांग्रेस सांसदले प्रयोग गरेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हट्ने जानकारी दिए।

नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिने क्रममा आक्रोश, कुण्ठा र निम्छरा शब्द प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दलका सांसदले ती शब्द संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसदिन सो बारेमा सभामुखले कुनै निर्देशन नगरेपछि कांग्रेसले बैठक अवधिभर नै नाराबाजी गरिरहेको थियो । नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो।

Kantipath Media

यो छुट्टाउनु भो कि..