ओली नेतृत्वको दक्षिणपन्थी धारको चाहना नै एमाले विभाजन : नेकपा (एस)

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पूर्वपार्टी नेकपा (एमाले)बाट विद्रोह गर्न आफूहरु बाध्य भएको बताएका छन्। मंगलबारदेखि सुरु भएको एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा नेपालले आफ्नो नेतृत्वमा छुट्टै पार्टी गठन ओलीकै कारण भएको उल्लेख गरेका छन्। एमालेलाई एकताबद्ध राख्न थुप्रै प्रयत्न भए पनि ओलीकै कारण ती प्रयास सफल नभएकोसमेत उनले बताएका छन्।

‘आफूसँग असहमत रहेका व्यक्तिहरूलाई सङ्‍गठित गरिएन र जिम्मेवारी नै दिइएन। कम्युनिस्ट पार्टी नीति प्रधान हुनुपर्नेमा नेता प्रधान बनाइयो। व्यक्तिवादी अहंकारवाद हावी हुँदै गयो। व्यक्ति पूजाको संस्कृति मौलाउँदै गयो,’ नेपालले उल्लेख गरेका छन्, ‘पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलमा धकेल्दै लगियो। हामीले उक्त गलत विचार र व्यवहारका विरुद्ध निरन्तर रूपमा अन्तरपार्टी सङ्‍घर्ष चलाउँदै आयौँ तर केपी ओलीका विचार, व्यवहार र कार्यशैलीमा कत्ति पनि परिवर्तन भएन।’

नेपालले ओलीले नै एमाले विभाजन चाहेको दाबी गरेका छन्। ‘केपी ओली पार्टीमा आफ्नो एकल वर्चश्व कायम गर्नका निम्ति एकता होइन विभाजन नै चाहन्थे, त्यसैले उनले पार्टी एकता जोगाउनका निम्ति कुनै पनि पहल गरेनन्,’ नेपालले राजनीतिक प्रस्तावमा उल्लेख गरेका छन्, ‘केपी ओलीले यसरी गुटबन्दीपूर्ण, निरङ्कुश, स्वेच्छाचारी र व्यक्तिवादी ढङ्‍गले गरेका सम्पूर्ण निर्णयहरू अवैधानिक भएको हुनाले तिनलाई सच्याएर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्‍याउनका लागि हामीले निकै नै प्रयत्न गर्‍यौं, तर केपी ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो कि उनी कुनै कुरा पनि सच्याउन तयार भएनन् र आफ्नो विखण्डकारी अडानमै रहिरहे।’

उनले नयाँ पार्टी खोल्ने आफ्नो निर्णयलाई आवश्यक र उचित भनेका छन्। ‘मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका निम्ति पनि यो विद्रोह आवश्यक र उचित थियो,’ नेपालको राजनीतिक प्रस्तावमा उल्लेख छ। नेकपा एकीकृत समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको भन्दै केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको ठम्याएको छ । केन्द्रीय कमिटीको मंगलबार शुरु भएको बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको १३ पेज लामो राजनीतिक प्रतिवेदनमा ओली र एमालेलाई प्रमुख दुश्मन किटान गरिएको छ ।

नेपालको राजनीतिक प्रतिवेदनमा एमालेले अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृति बोकेको दक्षिणन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच बोकेको उल्लेख छ । अर्कोतर्फ वाम लोकतान्त्रिक समिकरण (सत्ता गठबन्धन) रहेको यसले लोकतन्त्रको रक्षाका लागि सहकार्य गरेको नेपालले बताएका छन् ।

यो गठबन्धनलाई प्रतिनिधिसभाको पूर्ण कार्यकाल जोगाएर चुनावसम्म लैजानुपर्ने प्रस्ताव नेपालको छ । अध्यक्ष नेपालले एमाले एकताका लागि भएको १० बुँदे सहमतिलाई प्राविधिक भन्दै त्यसले कुनै समस्या समाधान नगर्ने बुझेरै आफूहरुले विद्रोह गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

दस्तावेजको पूर्णपाठ:

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..