एमाले जोगाउन ओलीलाई माधव नेपालको अन्तिम ‘अल्टिमेटम’ र ६ बुँदे पत्र

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट लखेटिएको महसुस गरेका एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहका सांसदले पार्टी एकताका लागि उनलाई ‘अल्टिमेटम’ दिएका छन् ।

यो समूहका सांसदले गरेको निर्णयअनुसार ओलीले सोमबार बिहानसम्म गत फागुन २८ गते गरेको निर्णय फिर्ता र पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ । तर बालुवाटारको दृष्टिबाट यी दुवै निर्णय असम्भवप्रायः छ ।

खनाल–नेपाल समूहका नेताहरूले बारम्बार गरेका यी प्रस्तावलाई ओलीले अप्ठ्यारोमा साथ दिएका माओवादीका आगन्तुक सदस्यलाई पार्टीबाट हटाउन नसक्ने र पार्टी २०७५ जेठ २ भन्दा धेरै अघि बढिसकेको भन्दै अस्वीकार गर्दै आएका छन् । यी दुवै विषयमा नेपाल पक्षको पनि आफ्नै अडान रहेकाले मिल्ने सम्भावना शून्यजस्तै भएको हो ।

संसद् सचिवालय सिंहदरबारमा आइतबार करिब ३ घण्टा बसेको यो समूहका सांसदको बैठकले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउन अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्मको समय दिएको एमाले सचिव योगेश भट्टराईले बताए । ‘पार्टीलाई सहमतिमा पुर्‍याउने दायित्व अध्यक्षको हो भन्नेमा एकमतमा पुगेका छौं, उहाँले त्यो दायित्व गम्भीरतासाथ पूरा गर्नुभएको छैन, आजै निकालेको वक्तव्यमा समेत पार्टीको एउटा समूहलाई लाञ्छित गर्नुभएको छ, त्यसमा हामीले चिन्ता व्यक्त गरेका छौं,’ उनले भने, ‘फागुन २३ मा दुई पार्टीको एकता भंग भएपछि एमाले स्वतः जेठ २ मा फर्केको कुरा सर्वोच्चले नै भनिदिएको छ । हामी अब पार्टीको जीवन, संगठन, विचार र नेतृत्व एकतापूर्वको अवस्थामा फर्किनुपर्छ भन्नेमा दृढ छौं । आज पनि हामीले २०७५ जेठ २ को अवस्थामा फर्किन वैशाख २७ गते बिहान ९ बजेसम्मको समय दिएका छौं । उहाँले यसमा प्रतिबद्धता जनाए प्रतिनिधिसभामा हाम्रो उपस्थिति हुन्छ र विश्वासको मत दिन्छौं ।’ भट्टराईले त्यसो भएन भने कठोर कदम चालिने र त्यसका लागि साढे ९ बजे संसद् सचिवालयमा उपस्थित हुन सांसदहरूलाई भनेको बताए ।

सांसदहरूको बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री ओलीले नेताहरू विष्णु पौडेल र सुवास नेम्वाङलाई नेता नेपालसँग कुराकानी गर्न पठाएका थिए । त्यही कुराकानीका बारेमा नेता नेपालले बैठकलाई ब्रिफिङ गरेका थिए । ‘उनीहरू मिल्ने ठाउँमा कुरा गर्दैनन्, केपी ओली पार्टी विभाजन गर्ने डिजाइनअन्तर्गत चलिरहेका छन्, हामीलाई धकेल्नु नै उनको मुख्य उद्देश्य हो,’ बैठकमा नेता नेपालले भने ।

समझदारीका लागि बीचको बाटो खोज्ने भन्दै नेपालसँग पौडेल र नेम्वाङ छुट्टिएको केहीबेरमै ओलीले वक्तव्य निकाल्दै राजीनामा दिने या फ्लोर क्रस गर्नेजस्तो अपराध कर्ममा नलाग्न आग्रह गरेका छन् । उनले कतिपय व्यक्तिहरूको स्वार्थ र अहंकारका कारण पार्टीमा समस्या सिर्जना भएको बताउँदै पार्टीभित्रै रहे कसैलाई काखा र कसैलाई पाखा नगरिने पनि स्पष्ट पारेका छन् । कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्ष्याहरू छन्, यस आन्दोलनलाई उनीहरूको स्वार्थपूर्तिको माध्यम र त्यसको सिकार बनाउनु हुँदैन,’ वक्तव्यमा छ, ‘आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरूको स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने, कतै केही नलागे सामूहिक राजीनामा गरी, गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारिछाड्नेजस्ता हानिकारक प्रयासहरू भएका छन् ।’

एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । मुख्य सचेतक विशाल भट्टराईले कोभिडका कारण भौतिक उपस्थितिसहित बैठक बस्न नसकिएको भन्दै वक्तव्यमार्फत सबै सांसदलाई विश्वासको मत लिने ओलीको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीमाथि संसद्को विश्वास छ कि छैन भनेर स्पष्ट गर्न सोमबार अपराह्न १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर, आफ्नै दलभित्र विश्वासको वातावरण बनाउन नसकेका ओलीलाई प्रतिपक्षी जसपाले मत नदिने स्पष्ट भएको छ । कांग्रेस र माओवादीले भने उनको विपक्षमा मतदान गर्ने स्पष्ट गरिसकेका छन् । एमालेका कति सांसदले ओलीलाई मत दिन्छन्, स्पष्ट छैन । तर, सबै एक सय २१ सांसदले मत दिए पनि ओली सरकारले विश्वासको मत साबित गर्न सक्नेछैन ।

एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले २ जेठ ०७५ को अवस्थामा पार्टीलाई फर्काउने प्रतिबद्धता जनाएको अवस्थामा मात्र विश्वासको मत दिने निर्णय गरेको छ । खनाल–नेपाल समूहले ओलीका तर्फबाट त्यस्तो प्रतिबद्धता सोमबार बिहान ९ बजेसम्म नआए सामूहिक राजीनामाको कठोर निर्णय गर्ने अल्टिमेटम दिएको छ । एमाले विवादको छिनोफानो सोमबार मध्याह्नसम्ममा हुनेछ ।

प्रधानमन्त्री केपी ओलीमाथि विश्वासको मत छ कि छैन भनेर मतदान हुनु अघिल्लो साँझ एमाले वरिष्ठ नेता माधव नेपालले ओलीलाई पत्राचार गरेका छन् । पार्टी एकताका लागि ६बुँदे प्रस्ताव राख्दै उनले सम्बोधन नभए संसद् सदस्यताबाट राजीनामा दिन बाध्य हुने औपचारिक जानकारी गराएका छन् ।

सहमतिका लागि माधव नेपालको ६ बुँदे प्रस्ताव

♠ जेठ २, ०७५ को स्थितिमा पार्टी, जनसंगठन र पेसागत संगठनका सबै संरचनालाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।

♠ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी विघटन गर्न २८ फागुनमा भएको निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णय खारेज गर्ने ।

♠ पार्टीलाई विधि, विधान र पद्धतिअनुरूप सञ्चालन गर्ने ।

♠ पार्टीमा उत्पन्न अन्तर्विरोध, मतभेद र विवादका कारण सिर्जित समस्या तथा एक–अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवं समस्याबारे समीक्षा गरी आवश्यक निर्णय गर्ने ।

♠ सरकार र पार्टीबीच समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम तथा देश तथा जनताको हित, अपेक्षा र आवश्यकताअनुसार अघि बढ्ने ।

♠ यथासमयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..