annapurna add

mother

अनुभव

शारीरिक, मानसिक, भावनात्मक, यौनिक, सामाजिक र आर्थिक प्रताडना खप्दै जाँदा एक्लोपन अनि निरीह महसुस गर्दै गएँ। पीडा असह्य हुँदै गएपछि मैले फेरि आत्महत्याको प्रयास गरेँ। मेरो दोस्रो प्रयास पनि असफल रह्यो।


‘आई फिल सरी फर एलिसन द्याट सी ह्याज अ मदर लाइक यु !’ मलाई एलिसनको माया लागेर आउँछ किनभने उसको तिमीजस्ती आमा छिन्।मेरा आफ्नै निकटतम आफन्तले ममाथि गरेको व्यंग्य थियो यो। मलाई यस्तो आरोप लागेको यो पहिलो पटक भने थिएन। पहिले पनि यस्ता आरोप लागिसकेको छ मलाई। र सम्भवत : यो ममाथि लाग्ने अन्तिम आरोप पनि हुनेछैन।

त्यसो त म आफैंले पनि प्राय : फेसबुक, ट्विटर, आपसी भेटघाट इत्यादि लगायतका विभिन्न सामाजिक सञ्जालमा खुलेआम स्वीकार्ने कुरा के हो भने म ‘मातृत्व’ नभएकी आमा हुँ। मातृत्व नहुनु र अक्षम हुनु के एउटै कुरा हुन् ? मलाई थाहा छैन।

तर यति थाहा छ-मलाई बालबच्चाहरू मन पर्दैनन्। मेलै कहिल्यै आफ्नो इच्छाले बच्चा जन्माउन चाहिनँ। बच्चाहरूको नजिक पर्दा म अत्तालिन्छु। मलाई बच्चाहरूसँग न खेल्न आउँछ, न त मनै पर्छ।

आफ्ना दुई सन्तानलाई त जन्म दिएँ। तर हरपल भयभीत मनस्थितिले कहिल्यै छोडेन। छोरो लगभग १६ वर्षको भयो। छोरी २७ महिनाकी भई। निकै ममता छ मलाई आफ्ना सन्तानप्रति। तर प्राकृतिक ममत्वको चेतना (न्याचुरल मदर्ली इन्स्टिन्क्ट) भने छैन।

जो जसले आरोप लगाए, मैले कहिल्यै अस्वीकार गरिनँ। किनभने, यो कुरा म आफू स्वयंले महसुस र स्वीकार गरेको ध्रुवसत्य हो। म अक्षम आमा नै हुँ।

१६ वर्षअघि शल्यक्रिया गरी निकालेको छोरा कम वजनको जन्मियो। जन्मेको तीन दिनमा म र छोरा दुवैलाई जन्डिस देखा पर्‍यो। जन्डिसका कारण स्तनपान गराउन सकिएन। त्यो आफैंमा एउटा ठूलो निराशा थियो। छोरालाई फोटोथेरापी गराउनुपर्ने भयो। नवजात शिशुको त्यस्तो अवस्था देखेर नैराश्य छायो, मनमा। यस्तो ग्लानि र निरीह महसुस भएको बेलामा ‘पोस्टपार्टम डिप्रेसन’ सुरु हुनु स्वाभाविक नै थियो, सायद।

अरू दु :खको कमी नभएजस्तो अर्को आपत् पनि आइलाग्यो। छोरा ११ दिनको पुग्दानपुग्दै छोराको बाबुले काखीको नानी बोकी, शल्यक्रियाको आलो घाउ निको पनि नहुँदै अदालतमा फर्जी पारपाचुके गर्न लिएर गयो। उसको लन्डनको भिसा अर्कैको ‘डिपेन्डेन्ट’ बनेर प्रोसेस गर्ने भनेर ! पाठकहरूलाई अहिले यो पढिरहँदा आश्चर्य लाग्न सक्छ। रियल लाइफमा यस्तो पनि हुन्छ र ? तर मेरो जिन्दगी यस्तै यस्तै सुन्दा पनि विश्वास नलाग्ने घटनाहरूको योगफल हो।

त्यो नक्कली डिभोर्सको नौटंकीले डिप्रेसनको दलदलमा मलाई अरू धकेल्दै लग्यो। विवाहका नाममा त्यस्तो पति जो आफ्नो विदेश जाने हुटहुटी पूरा गर्न सुत्केरी पत्नीलाई अदालतसम्म लान पछि नपर्ने। आफ्नै शारीरिक र मानसिक स्वास्थ्यस्थिति ठीक नभएको अवस्थामा मैले आत्महत्याको प्रयास गरेकी थिएँ। मानसिक उत्पीडन र पोस्टपार्टम डिप्रेसनको नतिजा थियो सायद। विफल रह्यो, आत्महत्या प्रयास। अनेक लाञ्छना लागे। चुपचाप सहेँ। आखिर सन्तुलित र सक्षम आमा हुँदो हुँ त आफ्नो नाबालक शिशुको भविष्य नसोची केवल आफ्नो पीडामात्र सम्झेर स्वार्थी भएर आत्महत्याको निर्णय लिन्थेँ होला र ? समयले मलाई साँच्चिकै असन्तुलित, असफल र अक्षम आमामा परिणत गर्दै गयो।

त्यसो त छोराको बाबुले मानसिक, शारीरिक, भावनात्मकलगायत अनेकौं यातना लगभग सधैं दिन्थ्यो। वर्षौंसम्म यातना सहेर पनि जाने ठाउँ कतै थिएन। उसको विदेश जाने हुटहुटी अझै मरिसकेको थिएन। त्यसकै फलस्वरूप मेरो आफ्नो चाहना नहुँदा नहुँदै पनि सँगै अस्ट्रेलिया गयौं। वर्षौंपछिसम्म पनि अस्ट्रेलियामा रहँदा नियमित रूपमा शारीरिक, मानसिक, भावनात्मक, यौनिक, सामाजिक र आर्थिक प्रताडना खप्दै जाँदा, एक्लोपन अनि निरीह महसुस गर्दै गएँ। पीडा असह्य हुँदै गएपछि मैले फेरि आत्महत्याको प्रयास गरेँ। मेरो दोस्रो प्रयास पनि असफल रह्यो।

बाहिर केवल नतिजा देखिन्थ्यो। दुईदुई पटक आत्महत्याको प्रयास गर्ने आमाको रूपमा म कलंकित भएँ। तर आत्महत्या गर्नुको पछाडि के कारण रह्यो होला, त्यसको अन्तर्य के थियो होला भन्ने कुरा कसैले बुझ्न खोजेन। न आफ्नो परिवारले बुझ्न खोज्यो, न त समाजले। अक्षम र असफल आमाको विशेषणले मलाई छोडेन।

मेरो जीवनको एउटा लामो कालखण्ड घरकै हिंसात्मक र अपमानजनक वातावरणबाट आफूलाई मुक्त गराउने प्रयासमै बित्यो। छोरालाई कसरी सुरक्षित वातावरण दिने भन्ने कोसिस र आफ्नो मनको भयमै रुमल्लिएर धेरै कष्टपूर्ण वर्ष बिते। म कुशल आमा हुन नसक्नमा सायद यो पनि एउटा कारण रह्यो। किनभने, मैले शान्तपूर्ण वातावरणमा कहिल्यै पनि आमा हुनुको भूमिका निर्वाह गर्न पाइनँ। हिंस्रक पतिकी स्वास्नी हुनु र त्यसबाट आफूलाई बचाउनु नै जिन्दगीको उद्देश्य थियो। कुशल आमा बन्नु त धेरै दूरको कुरा।

करिब सात वर्षअघि मैले एकल अभिभावक भएर जसोतसो गरी बस्नका लागि यहाँ अस्ट्रेलियामा घर किनेँ। त्यो बेला कसैले मलाई छोरोलाई बिरानो ठाउँमा एक्लै कसरी हुर्काउँदै छौ ? के खान दिएकी छौ ? काम, छोरा र घर कसरी एक्लै म्यानेज गर्दै छौ ? गाह्रो भए बरु नेपाल फर्क आदि इत्यादि भनेर कसैले सोधेन। बरु केही समयअघि छोरोको बाबुले मेरो मेहनत, रगत, पसिना र बलिदानले किनेको घरमा आँखा लगाउँदै अंश माग्न भनी अदालतमा उजुरी हाल्न खोजेछ। उजुरी हाल्न नमिल्ने बुझेर जालझेलको बाटो अपनाउँदै बयान दिएछ-छोरोको आमा असन्तुलित, असफल र अक्षम आमा हुन् र त्यसै कारण उसलाई घरको अंश चाहियो।

हाँस्यास्पद कुराचाहिँ के भने, उसले स्वयं असन्तुलित, असफल र अक्षम आमा करार गरे पनि त्यही अक्षम आमासँग छोरो बस्दै आएको थियो। यसमा चैं उसलाई कुनै आपत्ति थिएन। न अतीतमा, न त वर्तमानमा। न उसले भविष्यमा नै छोरोलाई आफूसँग राख्न कुनै प्रयास गर्‍यो।

हाम्रो परम्परा, संस्कृति, समाज र विचारधारामा नअटाउने खालको मातृत्व प्रदर्शनलाई हामी सीधै बहिष्कार गर्छौं, या त त्यसको विरोध गर्छौं। कि त कलंकित गर्छौं। आखिर कसले तोकेको छ यहाँ मातृत्व र ममताको परिभाषा ? अनि कसले लिन्छ ममत्वको तौल यहाँ ? कुन कानुन छ त्यस्तो जसको आधारमा कहल्याइन्छन् आमाहरू अक्षम, अस्थिर, असन्तुलित ? कस्ता हुन्छन् सबल र सन्तुलित आमाहरू ? के हो असल आमाको परिभाषा ? जति जति म आफूलाई सामाजिक मातृत्वको मापदण्डले तौलिन्थेँ, त्यति त्यति नै म आफूलाई त्यो परिभाषाबाट पृथक् पाउँथेँ।

सामान्यतया हाम्रो बुझाइमा आमा ममताले भरिएकी, बच्चा मन पराउने, बच्चासँग समय बिताउने, सजिलै माया दर्शाउने, अनुशासन सिकाउने, आफ्नो धर्म र संस्कृतिसित परिचय गराउने आदर्श नारी हुन्छिन्। तर न मैले अनुशासनको त्रास देखाएँ, न त पढाइको दबाब दिएँ। न परम्परागत संस्कृति र धर्मसँग परिचय गराएँ, न त अभिभावकको हक जताएँ, न बच्चासँग साथीजस्तो हुन छोडेँ। न बच्चासँगै बच्चा बनिदिने चञ्चलता रोकियो मेरो। न खुवाउने, सुताउने, रेखदेख गर्ने अभिभावकीय जिम्मेवारीको अत्यास कम भयो मेरो। दुवै बच्चाको बेला जटिलताका कारण आकस्मिक शल्यक्रिया गरेर हो वा सायद आमा बन्ने इच्छा नभएर हो, सन्तान जन्मिनेबित्तिकै ममता भरिएर आएन मभित्र। आफ्नो काटिएको शरीर, तुफानी हार्मोन, असह्य पीडाको कारणले होला, सायद बच्चाको रुवाइले बच्चाप्रति ममत्वको सट्टा त्रासले भरिन्थ्यो, मेरो शरीर।

झन् २७ महिनाअघि जन्मेकी छोरीको हकमा त म झनै अक्षम आमा हुन पुगेँ। जटिल प्रसूतिका कारण सिजेरियन सर्जरी गरी छोरी जन्मिई। सुत्केरी भएको तीन÷चार दिनमा मलाई हृदयाघात र फोक्सोको इम्बोलिजम भयो। लगभग सात दिनको सीसीयूको बसाइ अनि करिब पाँच महिनाको बारम्बारको अस्पताल बसाइले छोरीको हेरविचारमा पूर्ण रूपमा संलग्न हुनबाट वञ्चित रहेँ, म। शारीरिक आघातसँगसँगै मानसिक रूपमा पनि घाइते भएँ। बिरानो सहर, आफन्तका नाममा दुई÷चारजना मिल्ने साथीबाहेक अरू कुनै सहायता नभएको अवस्था, नवजात शिशुको निर्दोष माग पुर्‍याउन नसक्दो अवस्था। निकै निरीह महसुस गरेकी थिएँ मैले। एकदम सहयोगी र समर्थन गर्ने जीवनसाथीको मद्दत र सहयोगका बाबजुद मानसिक रूपमा कमजोर हुँदै गएँ म। त्यही मानसिक कमजोरीको परिणाम थियो, म एकपटक फेरि अक्षम आमा हुन पुग्नुमा।

हरेक दिन जुझ्थेँ म, उदासीनतासँग। खुवाउने, सुताउने प्रक्रिया झिँझो लाग्न थाल्यो, मलाई। घन्टौंको मेहनतपश्चात् पनि विरलै निदाउने छोरीसँग त्रस्त हुन थालेँ। पोस्टपार्टम डिप्रेसनको अर्को प्रभाव थियो, त्यो। घन्टौं एक्लै रुन थालेँ, अदृश्य आघात अनि विचलित मनस्थितिको चपेटामा अरू धस्सिँदै गएँ। प्राय : आमाहरू बच्चा जन्मिएपश्चात् कि त जागिर छोडी बच्चाको लालनपालनलाई आफ्नो लक्ष्य बनाई जीवनयापन गर्छन् कि त बालक कम्तीमा एक वर्षको नभएसम्म काममा फिर्ता जाँदैनन्। आमाहरूको त्यो बलिदानले सिँचिएका बालकहरू सम्पूर्ण रूपले सक्षम र तयार हुन्छन् दुनियाँदारी निभाउन भन्ने एउटा मान्यता रहिआएको छ। त्यो हिसाबले त म झनै खराब आमा भएर निस्किएँ। छोरी लगभग पाँच महिना पुग्दानपुग्दै मलाई काममा फिर्ता जान हतार भयो। लाग्न थाल्यो, म घरमा एक्लै शिशुसँग बसिरहेँ भने मैले आफ्नो सन्तुलन पूरै गुमाउँछु। सन्तुलन गुमेपछि मेरो सबै अस्तित्व मेटिनेछ। त्यो डरले मलाई यति समात्यो कि म आफ्नो ‘इन्डिभिजुवालिटी’ नै बिर्सने भयको पकडले ग्रस्त भएँ। अन्तत : निकै सरसल्लाह र समझदारीअनुरूप पाँच महिनाकी छोरीको स्याहारको जिम्मा श्रीमान्लाई लगाई म काममा फिर्ता गएँ।

प्राकृतिक रूपमा आमा रहेरै पनि व्यावहारिक रूपमा म आमा बन्न असमर्थ भएँ। हो, यस कारण पनि म सामाजिक रूपमा एउटा गैरजिम्मेवार र अक्षम आमा भएँ। तर के म असामान्य, अक्षम आमा भएका कारण मेरा बच्चाहरूले दु :ख भोग्नु परेको छ ? त्यो मैले भन्न सक्ने कुरा होइन। मैले देखेको, मैले महसुस गरेको केही कुरा मात्र आंैल्याउन र दर्शाउन सक्छु। मेरो टिनेज छोराले उसको मनको कुरा व्यक्त गर्न मसँग कहिल्यै अप्ठ्यारो मानेन। पढाइदेखि गर्लफ्रेन्डको कुरा, लुगादेखि लिंग अनि सेक्सको उत्सुकताका कुरा निर्धक्क सुनाउँछ। क्षमा गर्नुहोस् तर यी सब कुरा छोराले मलाई निर्धक्क व्यक्त गर्छ। उसको मन चंगा भएको वा ऊ असमञ्जसमा परेको कुरा खुलस्त र निसंकोच भएर भन्छ। समाज र आफन्तले मलाई अक्षम आमाको ‘ट्याग’ झुन्ड्याइदिए पनि मेरा दुवै बच्चा सामान्य र खुसी नै छन्।

हो, मैले आफ्नो परिचयलाई केवल ‘आमा’मा सीमित राख्न चाहिनँ। मैले मेरो मानसिक स्वास्थ्यलाई पनि त्यत्तिकै महत्र्व दिएँ, जति महत्र्व मैले मेरो सुरक्षा, स्वास्थ्यमा सुधार र मेरा बच्चाहरूको समष्टिगत विकासमा दिएँ। जसरी एउटा रित्तो गिलासले अर्को भाँडा भर्न सक्दैन, त्यसरी नै मेरो अपूरो व्यक्तित्वले मेरा सन्तानको समष्टिगत विकास गराउन अक्षम रहन्थ्यो।

हाम्रो समाजले बुवालाई किन अक्षम करार गर्र्दैन ? के आमा मात्र हुन् अभिभावकीय जिम्मेवारीको भार बोक्ने ? छोराको बाउले तीनतीनवटी स्वास्नी भित्र्यायो। यसबीच छोरासँग ऊ लामो समय बेखबर र बेपत्ता रह्यो। छोराको लालनपालन के कसरी हुँदैछ, त्यो उसको चिन्ताको विषय कहिल्यै भएन। तर समाजले उसलाई कहिल्यै पनि अक्षम र गैरजिम्मेवार बाबुको नजरले हेरेन। बस्, शुक्रकीट दान गर्‍यो, हिँड्यो। एक पटक फर्केर हेर्नु पनि नपर्ने !

कैयौं त्यस्ता बाबु छन् हाम्रो नेपाली समाजमा जो बच्चाहरूलाई चटक्क छोडी हिँड्छन्। तर अक्षम बाबुको आरोप हामी विरलै मात्रै सुन्छौं। कलंकित त केवल आमा हुन्छे। समाजको परिभाषा यस्तै रहिआएको देखिन्छ, सक्षम र अक्षम अभिभावकका हकमा।

पहिलो सन्तानको बेलामा आफू जीवित रहनु र हिंसाबाट बच्नु नै मेरो प्राथमिकता रह्यो। त्यस कारण आमा हुनुको सुख महसुस गर्न लगभग असम्भव भयो। दोस्रो सन्तान जन्माउने मेरो आफ्नो कुनै चाहना थिएन; त्यसमाथि बढ्दो उमेर, उमेरले निम्त्याएको प्रसूति जटिलता, बच्चा जन्मिसकेपछि स्वास्थ्य क्रमश : बिग्रँदै जानु, इत्यादिले बच्चासँग खासै लगाव हुन सकेन। तर सामाजिक परिभाषामा अटाउन नसकेकै कारणले मात्र मैले दिएको लालनपालनमा खोट लगाइन्छ भने मलाई ‘अक्षम आमा’को त्यो दर्जा सहर्ष स्वीकार्य छ। http://annapurnapost.com/news/137008

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...