असार १५ – दही चिउरा या धान दिवस ?

दुर्गा खनाल । खेतको हिलो सँग रमाउँदै, असारे भाका सुन्दै, रोपार र बाउसेहरुको ख्यालठट्टा गर्दै रोपेको धानको दृश्य यतिबेला मेरो मानस्पटलमा छाइरहेको छ । मेरो सानो परिवारको मुख्य पेशा नै कृषि थियो । त्यसबेलाको आम्दानीको स्रोत भनेकै धान हुन्थ्यो । सयौँ मुरी धान उत्पादन गरेर वर्ष भरी त्यसैले खर्च धान्नु पथ्र्यो, साहुलाइ व्याजमा पनि धान नै दिनु पथ्र्याे । असार लाग्नु अघिनै घरमा खाजाको लागी भनेर चिउरा तयार गर्नुपथ्र्यो । मलाई याद छ आमा र ठुलिआमाले रातभरी चिउरा कुटेको । बुवाले रातभरी खेतमा पानी लगाउन कुलो धाएको । कतिखेर आराम गर्नुहुन्थ्यो मलाइ केही पत्तो हुँदैन थियो । त्यस समयमा अर्म पर्म लगाएर एक अर्काको काम सक्ने चलन थियो । बिहानै खेतमा पानी, ब्याड काडेर धानको बिउ सबै तयार पारिसक्नु पथ्र्यो । पर्मको लागी छिमेकी खेतमा आउँदा सबै तयारी गर्दा काम सजिलो र छिटो हुन्छ भनेर राती बाट नै काममा खटिनु पर्थ्याे ।

हाम्रो ठाउँमा असार १५ मा नै मैजारो गर्नुपर्छ भन्ने चलन थियो । समयमै रोपेको धान राम्रो फल्छ भनेर प्राय असार १५ मा नै रोपाई सकिन्थ्यो । असारको महिना अक्सर सबैलाई कामको चटारो पर्ने महिना हो । बिहानै उठेर आमा र म बिउ काड्न धानको ब्याडमा जान्थ्यौँ भने बुवा आलि लाउने खेत टालटुल गर्ने, पानीको व्यवस्था गर्ने गर्नुहुन्थ्यो । म सानै भएकाले खासै काम त सघाउन सक्दिन थिएँ तर, त्यो हिलो र झरीमा रुझ्न औधी मन पथ्र्याे । जिद्धि गरेरै भए पनि खेत जान्थेँ । बिहानभरि हिलोमा खेलेर काम गरेर हिलो सरिको ज्यान लिएर खाना खान भनि घर जान्थ्यौँ । खाना पकाएर खाने समय कम भएकाले दही,चिउरा र केरा खाएर फेरी खेतमै जान्थ्यौँ । रोपाई नसकुञ्जेल बिहानको खाना नै यहि हुन्थ्यो । रोपार, बाउसे हली खेतमा आउनु भन्दा अगाडी पुग्नु पर्छ भनेर सँधै हतार हुन्थ्यो । १० बजे पछि सबै परेली (पर्म लगाउने माान्छे) भेला भई रोपाईको काम सुरु हुन्थ्यो । ती दिनहरु एकदम रमाइला थिए । सानी भएकीले होला मलाइ बिउ वसारपसार गर्न मात्रै लगाउनुहुन्थ्यो । बिउ फ्याल्ने निउँले बाउसे र रोपारहरुलाई हिलो छ्याप्न खुब रमाइलो हुन्थ्यो । झरी परेको बेला मैले ओढेको घुम म भन्दा ठुलो भएर होला हिँड्न निकै गाह्रो हुन्थ्यो । धान रोप्दा रोपारहरुले गाएको

असारे भाकाको केही अंश मलाइ अझै याद छ ।
असारलाई भनी कुटेको चिउरा मै कति साँचूला ।
सासुका हात दुई कुट्की भात म कति बाँचूला ।
छुपुमा छुपु खेतमै रोपूँ, हातको बीउ छउन्जेल ।
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको घर भइन्जेल ।

रोपाईँको दिन आमाले बनाएको तेल बेसार हालेको चाम्रे, गुन्द्रुकको अचार र चिया चिसो आलिमा बसेर खाएको स्वाद सम्झदा अझै पनि मुख रसाउँछ । असारको लामो दिनमा पनि साँझ सम्म झ्याउँकिरि, गंगटा र भ्यागुत्ताको आवाज सुन्दै खेतको काम सकेर जुनेली रातमा घर फर्केको दृश्यहरु मेरो मानशपटलमा अझै ताजा छन् । त्यस बेला कसैलाइ पनि थाहा थिएन असार १५ मा दहि चिउरा खानुपर्छ भनेर । छिटो र सजिलोको रुपमा यही खाजा÷ खाना खाने चलन थियो । सायद त्यस समय देखीनै असार १५ लाई दहि चिउरा खाने दिन भन्दै आएको हुनु पर्छ । आफ्नै बारीमा बोटैमा पाकेको केरा, ठेकीमा चकना परेर जमेको दही, ढिक्किमा कुटेका चिउराको स्वाद मलाई यतिखेर खुब याद आइरहेको छ । भोजन भन्दा भोक मिठो भन्ने भनाइ नै छ । त्यहि भएर होला त्यस समय जस्तो मिठो दही चिउरा अहिले मैले पाएको छैन ।

मैले धान रोपेका ती खेतहरु बाँझै छन् । अर्म पर्म गर्ने गाउँका युवाहरु खाडी मुलुकमा छन् । गाउँ रित्तै छ, चौतर्फी रुपमा खनिएका बाटाहरुले खोल्सी र कुलो सुकेका छन् । नेपालमा २०६२ सालदेखी असार १५ लाई धान दिवसको रुपमा मनाइन्छ । त्यस दिन पक्की सडकका बिचमा धानको बिउको माला लगाएर फोटो खिचेको प्रसस्त देख्न पाइन्छ । यसलाई कुन खालको परिवर्तन सम्झने ? कृषि प्रधान देशमा खेती योग्य जमिनमा प्लटिङ भयो, युवाहरु विदेसिए । आज प्याकेटको दही, प्याकेटका चिउरा र विषादी प्रयोग गरेको केरा किनेर सामााजिक सञ्जालमा फोटो हाली असार १५ मनाउँदै छौँ हामी । असार पन्ध्रको शुभकामना ….. ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..