मसानघाटको मन्जुरी

हिजो ऊ वितेछ
ऊ मेरै सहपाठी थियो
श्रद्धान्जलीका दुई शब्द
सामाजिक सञ्जालमा अघि सरे
अस्ति ऊ सकिएछ
ऊ पनि त मेरै सहकर्मी थियो
उसलाई पनि सञ्जालमा
श्रद्धान्जलीका दुई शब्दले विदाई गरे
आफन्तहरु एकपछि अर्को
सामाजिक सञ्जालमा पोष्टिएर
श्रद्धान्जली थापिरहेछन् ।।

हिजै एउटा नेता मन्त्री बन्यो
बधाईका दुई शब्द अघि सरे
अस्ति एउटा साथी महाप्रबन्धक भयो
शुभकामनाका शब्दले स्वागत गरे
संविधान च्यातेर नेताले मन्त्री पडकायो
भजन गाएर साथीले महाप्रबन्धक
शुभकामना र विरोध
विरोध र शुभकामना
श्रद्धान्जली र बधाई
बधाई र श्रद्धान्जली
मेरो ल्यापटपको किबोर्डमा
सामाजिक सञ्जालमा पोष्टिन
शब्दहरुको लडाईं चलिरहेछ ।।

केहीदिन अघि एकहुल वकिलहरु
इजलासमा उभिएर कुर्लिए
श्रीमान् यो सरकार निरंकुश भयो
अर्कोथरी विद्धानहरु हुत्तिएर आफैं
घचेटिएर अरुहरुसंगै
चर्कोचर्को स्वरमा कराए
श्रीमान् यो सरकारले कामै गर्न पाएन
विरोध र समर्थन
समर्थन र विरोध
सबै आआफ्नै स्वार्थ र मतलवमा छन्
शब्दहरु द्धन्दमा बॉचिरहेछन्
सामाजिक सञ्जालमा पोष्टिन
मेरो ल्यापटपको किबोर्डमा नाचिरहेछन् ।।

अलि अस्ति बा’ले गाली गर्नुभयो
काकाहरुलाई छाडा भयौ भनेर
अनि काकाहरु पनि कुर्लिनुभयोे
आमै र बाबै मिलेर
घरै ध्वस्त पार्न लागे भनेर
बाआमा पनि आफ्नै
काकाहरु पनि आफ्नै
आफ्नैआफ्नाहरु
एकले अर्कोलाई धारे हात लगाएर
गाली गर्नमा मस्त छन्
एकले अर्कोलाई
सिध्याउनमा व्यस्त छन्
त्यसैले त मेरो ल्यापटपको किबोर्डमा
सामाजिक सञ्जालमा पोष्टिन
शब्दहरु पनि असमन्जसमा छन् ।।

अस्ति एकजना मन्त्रीले
श्रद्धान्जली दिएछन् संक्रमितलाई
शुभकामना दिएछन् फर्किएर आउन
आर्यघाटतिर पठाउन तयार पारिएको एउटा लासलाई
सम्माननीयहरु
आइसियु र भेन्टिेलेटर तयार पार्न
आर्यघाटमा दाउराको अभाव टार्न
मातहतमा आदेश फर्माउदैछन्
खोप र डोजको लागि
भीख माग्दैछन् विदेशीहरुसंग
त्यसैले त मेरो ल्पापटपको किबोर्डमा
सामाजिक सञ्जालमा पोष्टिन
शब्दहरु लड्दैछन् र भिड्दैछन् ।।

एकजना माननीयले अर्कोलाई
अस्ति प्रहार गर्नुभयो
शब्दबाण तिखारेर
फेरी अस्ति एकजना आदरणीयले
अर्को आदरणीयलाई टेलिभिजनबाट
थर्काउनुभयो
दादागिरी मच्चायौ भनेर
एकले अर्कोलाई
अर्कोले अर्कोलाई
र, अर्कोले अर्कोलाई
गालीगलौज गरिरहेछौं
ढालीरहेछौं आफ्नै सम्यता र संस्कृतिलाई
त्यसैले त मेरो ल्पापटपको किबोर्डमा
समर्थन र विरोधमा उरालिदैं
मसानघाटको मन्जुरी लिएर
सामाजिक सञ्जालमा पोष्टिन
शब्दहरु लड्दैछन् र भिड्दैछन् ।।

-अनन्तराज लुईंटेल

(बालकोट, भक्तपुर)
२०७८, जेठ २२

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..