‘महरा’ काण्डका केही प्रश्न

ram lohani prof copyअन्तत: पूर्वसभामुख महरा पुर्पक्षको लागि थुनामा लगिए। बलत्कारका प्रयास, यौनजन्य हिंसा र बलत्कारका घटनाहरू समाजमा घटिरहन्छन्। कतिपय ती बाहिर निस्किन्नन्। पीडित महिलाले यस्ता घटनालाई बाहिर निकाल्नु वा उजुरी गर्नुलाई ठूलै साहस मानिन्छ। सामान्य अवस्थामा कुनै पनि महिलाले आफूमाथि त्यस्तो घटना घटेको वा घट्न लागेको भनेर सार्वजनिक गर्दैनन् भन्ने आमविश्वासले सार्वजनिक भएका वा उजुरी भएका घटनालाई सघाउ पुर्‍याइरहेको हुन्छ। किनभने यौन सामाजिक इज्जतसँग गाँसिएको विषय हो र त्यो इज्जतलाई दाउमा राखेर कुनै पनि महिला त्यत्तिकै बाहिर निस्कँदैनन् भन्ने आमविश्वास छ। यो हाम्रो सामाजिक यथार्थ हो। कसैले यो सामाजिक मनोविज्ञानलाई उपयोग गर्नै नसक्ने भन्ने पनि होइन। सामान्य अवस्थामा हामी त्यो कल्पना गर्दैनौँ ।

महरा सार्वजनिक पद धारण गरेका मात्र व्यक्ति मात्र होइन, सम्माननीय पदमा रहेका र मुलुकको कानुन निर्माण गर्ने संस्थाको नेतृत्वमा रहेकाले यो केस स्वाभाविक रूपले आम चासोको विषय बनेको छ। संसारमा शक्तिको मदले मात्तिनै शासकहरू प्रशस्तै छन्। शक्ति र पैसाको बलले जस्तोसुकै करतुत गर्न पनि पछि नपर्ने प्रवृत्ति देखिएको पनि छ। यसमा पनि यौनलाई बढी सम्वेदनशील र सामान्य मानिसले सजिलै नियन्त्रण गर्न नसक्ने आवेगको रूपमा लिइन्छ।

अन्य प्रकारका अपराधभन्दा यौनजन्य अपराधमा दसी, प्रमाण पनि कम हुने, गोप्यता बढी रहने हुँदा सजिलैसँग प्रमाणित गर्न पनि गारो हुन्छ। त्यसैले पीडितको वयानलाई स्वाभाविक रूपले ज्यादा महत्व दिइन्छ। र महराको केसमा पनि यही भयो। आफ्ना करतुतलाई ढाकछोप गर्न शक्ति र पैसाको दुरुपयोग गर्ने प्रवृत्ति यहाँ पनि भयो भन्ने एक प्रकारको सामान्य विश्वासले पनि यो केसमा त्यत्तिकै काम गर्‍यो। किनभने पीडित भनिएकी महिलाले आफ्ना भनाइहरू पटक पटक फेरिरहिन्। कतिसम्म भने बलत्कार गरेको भनेर राति नै प्रहरी बोलाइएको र उनको सावितिसहितको अन्तर्वार्ता पनि मिडियामा आयो। तर उनको उजुरी भने बलत्कारको प्रयासमा गएर टुङ्गियो। फेरि पछि उनले त्यो उजुरी आफ्नो नभएको र जबरजस्ती दर्ता गराइएको व्यहोरा सार्वजनिक गरिन्। 

त्यही उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्‍यो। महरा पक्राउ परे। दसी, प्रमाणहरू सङ्कलन गरेर अदालतमा मुद्दा दायर पनि भयो। अदालतले महरा निर्दोष हुन नसक्ने देखिएको ठहर गरी पुर्पक्षको लागि थुनामा राख्‍न पठाइदियो। यो बीचमा महराको पक्ष विपक्षमा विभिन्न तर्क वितर्कहरू आए। खास गरी महरालाई अपराधी नै ठान्नेहरूले महरालाई हदैसम्मको कार्वाहीको लागि आवाज बुलन्द गरे। महरालाई निर्दोष ठान्नेहरूको स्वर बिस्तारै मधुरो हुँदै गयो। महराको समर्थकहरूको स्वर मधुरो हुनुमा धेरै कारण छन् ।

पहिलो त, माथि भनिए जस्तै, मान्छे शक्ति र पैसाको मदले कुन हदसम्म जान सक्छ भन्ने अनुमान गर्न सामान्य मान्छेले कल्पना गर्न सक्ने थिएन। महरामा त्यो मद पलाएन भनेर ग्यारेन्टी गर्ने कुरा पनि भएन। दोस्रो, महरा निर्दोष हुन सक्ने सम्भावनाको चर्चाहरू आलोचनाको शिकार हुने भयो बढ्दै गयो। बलत्कार जस्तो जघन्य आरोप लागेको व्यक्तिको पक्षमा बोल्नु भनेको स्वयम् व्यक्तिको नैतिक चरित्रमाथि प्रश्न उठ्न सक्ने सम्भावना बढ्दै गयो। भित्रभित्रै महराले त्यसो गरेनन् होला भन्ने लाग्‍ने मान्छे पनि सामाजिक दबावको कारण मौन रहन थाले र भित्र मनमा कतै “के बेर!” भन्ने धारणाले निर्देशित हुन थाले। तेस्रो वर्गमा केही मानिस छन्।

यिनीहरू रेसनल हुन खोज्छन्, त्यो ठाउँमा आफूलाई उभ्याएर हेर्छन् र आफू भएको भए आफूबाट त्यस्तो जघन्य कार्य हुनै सक्ने थिएन भनेर महराले पनि पदीय मर्यादा आदिको कारण त्यसो पक्कै पनि गरेनन् होला भन्ने ठान्छन्। यो उनीहरूको नितान्त भावुक विचार थियो। यसको पक्षमा प्रमणा जुट्न सक्ने सम्भावना पनि हुँदैन र अर्को व्यक्तिको बारेमा कसैले पनि खुलेर भन्न सक्ने कुरा पनि भएन। सामान्य अवस्थामा कुनै पनि विवेकशील व्यक्तिले त्यस्तो हरकत गर्दैन, गर्न सक्दैन। तर अपराध भनेको सामान्य अवस्थामा हुने पनि होइन। फसाइन सक्ने सम्भावना भए पनि त्यसको लागि सावधान भएर कदम नचाल्नु पनि व्यक्तिको दोष हो नि भन्ने तर्क त्यस्ता व्यक्तिबाट व्यक्ति भएको पाइन्छ।

विनाकारण सभामुख जस्तो पदको व्यक्ति एउटी सामान्य कर्मचारीसँग किन त्यति नजिक भए त भन्ने प्रश्नको जवाफ खुल्न सकेन। महराले व्यक्तिगत रूपमै त्यति चासो किन दिए त ती महिलालाई भन्ने प्रश्न धेरैले सोधेको देखिन्छ। त्यसअर्थमा पनि महरामाथि शंका थपिँदै गयो। महराको यही कमजोरीलाई कसैले उपयोग गर्‍यो वा षडयन्त्र गरेर महरालाई फसायो भने पनि महरा पदीय कारणअनुसार पनि निर्दोष हुन नसक्ने देखियो।

अदालतले पुर्पक्षको लागि थुनामा त पठायो। तर अदालतले उजुरकर्ता अर्थात पीडितको वयान सुन्न आवश्यक किन ठानेन भन्ने प्रश्न चाहिँ अनुत्तरित नै रह्यो। पीडित वयान दिन नसक्ने अवस्थामा पनि थिइनन्। महरालाई थुनामा पठाउँदा उनी अदालतमै उपस्थित थिइन् भन्ने समाचार पनि आयो। अदालतमा दर्ता गरिएको मुद्दामा पनि पीडितको उजुरी बाहेक अन्य वयानलाई समावेश गरिएन। पीडितको तर्फबाट सार्वजनिक मिडियामा आएका विभिन्न भनाइलाई अदालतले जानकारीको रूपमा किन लिएन भन्ने पनि अनुत्तरित नै रह्यो। पीडितलाई अदालतले वयान दिन नसक्ने ठान्यो? पीडितको फेरिएको वयानले निर्णय प्रभावित हुन्छ कि भनेर अदालत डरायो ?

 

Kantipath Media

यो छुट्टाउनु भो कि..