कमरेड माओको नेतृत्वमा कसरी सम्पन्न भयो चिनियाँ जनवादी क्रान्ति ?

चीनको जनवादी क्रान्ति सन् १९४९ मा सफल भयो । यसलाई मुक्ति युद्ध भनेर पनि चिनिन्छ। यसको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टी र यसका अध्यक्ष माओ त्से तुङ्ले गरेका थिए। यसको नतिजा स्वरूप १ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीनको घोषणा भयो। क्रान्तिको सुरुवात १९४६ मा दोश्रो चीन-जापान युद्ध (१९३७-४५) पश्चात भएको थियो र यो क्रान्ति चिनियाँ गृहयुद्ध (१९४५-४९)को दोश्रो संस्करण थियो।

सन् १६४४ मा मन्चुरियाका चिङ वंशले पूरानो मिङ वंशलाई हटाई आफ्नो साम्राज्य स्थापना गर्यो । यो वंशलाई मञ्चु वंश भनेर पनि चिनिन्छ । सन् १६८५ मा क्यान्टुन बन्दरगाह हुँदै अङ्ग्रेजले चीनमा प्रवेश गरी कम्पनी मेत स्थापना गर्यो । यसपछि चीनमा जापान, अमेरिका तथा फ्रान्सको समेत हस्तक्षेप हुँदै गयो । यसले चीनको आर्थिक, सामाजिक, धार्मिक तथा राजनीतिक अवस्था दिन प्रतिदिन बिग्रँदै गयो । देश एक किसिमले विदेशीहरूको बन्धकीमा परेर जीर्ण हुँदै गयो । यो अवस्थामा सुधार गर्नका लागि चिनियाहरूले चिङ वंशको अन्त्य गरी गणतान्त्रिक राज्य व्यवस्थाको स्थापना गर्नु आवश्यक सम्झे ।

चीनको गणतान्त्रिक क्रान्ति सन् १९११ को अक्टोबर १० मा हेनकाउको रुसी बस्तीमा एउटा विस्फोट भयो। यो विस्फोट गणतान्त्रिक क्रान्तिको थालनीको पूर्वसूचना जस्तो भयो । शाही सरकारले यस घटनाका बारेमा छानबिन गर्दा शाही सेना नै यो विस्फोटमा संलग्न देखिए। सरकारले यो विस्फोटमा संलग्न शाही सेनालाई कारबाही गर्न सुरु नगर्दै कर्णेल “ली–युआन–हङ” को नेतृत्वमा क्रान्तिकारी सैनिकहरू सङ्गठित भए। १२ अक्टोबरदेखि “बुचाङ” भन्ने स्थानबाट औपचारिक रूपमा क्रान्तिको थालनी भयो । २२ अक्टोबरको दिनमा क्रान्ति कारीहरूले “ली–युआन–हङ” को नेतृत्वमा साङ्घाइमा गणतान्त्रिक सरकारको गठन गरे । क्रमशः अन्य प्रान्तहरूमा समेत गणतान्त्रिक सरकार गठन हुँदै गयो । डा.सन यात्सेन “तुङ मिङ हुई ” नामको पार्टीका अध्यक्ष थिए। यो पार्टी पनि गणतान्त्रिक क्रान्तिमा संलग्न थियो। विभिन्न प्रान्तहरूमा गणतान्त्रिक सरकार गठन भएपछि ती गणतान्त्रिक प्रान्तहरूको परिषद् गठन गरी डा. सन यात्सेनलाई परिषद्को अध्यक्ष बनाइयो । क्रान्ति ले गति लिन थालेपछि शाही सरकार आत्तियो र क्रान्ति दबाउने उद्देश्यले “युआन–सिह–काई”लाई प्रधानसेनापति तथा प्रधानमन्त्री नियुक्त गर्यो ।

तर शक्तिको प्रयोग गरी क्रान्ति दमन गर्न नसकेपछि मंचु सरकारले “युआन–सिह–काई” लाई क्रान्तिकारीहरूसँग वार्ता गर्ने प्रतिनिधि तोक्यो । यिनी महत्वाकांक्षी स्वभावका मानिस थिए। परिषद् अध्यक्ष डा. सन यात्सेन र “युआन–सिह–काई” बिच वार्ता भयो। “युआन–सिह–काई” लाई गणतान्त्रिक चीनको राष्ट्रपति बनाउने सहमति भएपछि उनले शाही सरकारलाई धोका दिए । सन् १९१२ को फेब्रुअरी १२ मा सम्राट “पु यी” ले गद्दी त्याग गरे। फलस्वरूप २६८ वर्ष लामो मन्चु वंशको शासन अन्त्य भयो र चीनमा गणतन्त्रको स्थापना भयो ।

सन् १९१२ फेब्रुअरी १२ मा मन्चु वंशको अन्त्य र गणतान्त्रिक व्यवस्थाको थालनी भएपछि युआन–सिह–काई देशको राष्ट्रपति बने । गणतन्त्रको स्थापनापछि पनि देशको अवस्थामा खासै परिवर्तन भएन । युआन–सिह–काईले तानाशाहका रूपमा देशको शासन चलाउन लागे। उनी निकै ठुलो धोकेवाज र स्वार्थी व्यक्ति थिए। उनले आफैलाई चीनको सम्राट घोषणा गर्ने योजनासमेत बनाए। तर यो योजना सफल हुन भने सकेन। राजनीतिक स्थिरता कायम गरी सार्वभौमसत्ता जनतामा हस्तान्तरण गर्नु देशको प्रमुख आवश्यकता थियो। त्यसैले डा. सन यात्सेनले तुङ मिङ हुईलाई समेत मिलाएर “कोमिन्ताङ” भन्ने अर्को पार्टीको स्थापना गरे। यता युआन–सिह–काईको सर्बैसत्तावाद विरुद्ध आन्दोलनको थालनी गरे। सन् १९२१ मा पेकिङ राष्ट्रिय विश्वविद्यालयका १२ जना विद्यार्थीहरू मिलेर “कुङ चाङ तन” को स्थापना गरे। “कुङ चाङ तन” भनेको चिनियाँ कम्युनिस्ट पार्टी हो र यो साम्यवादी दल थियो। यी १२ जनाहरूमध्ये माओत्से तुङ पनि एक थिए। उता डा. सन यात्सेनले रुसका शासक भ्लादिमिर लेनिनसँग सम्पर्क गरेर कोमिङताङलाई साम्यवादी सिद्धान्तकै पार्टीमा परिणत गरे र “च्याङ–काइ–सेक”लाई “लाल सैनिक” को सङ्गठन गर्ने जिम्मेवारी दिए। सन् १९२५ मा डा. सन यात्सेनको मृत्युपछि कोमिङताङको जिम्मेवारी च्याङ काई सेकको काँधमा आयो । चिनियाँ कम्युनिस्ट पार्टी र कोमिङताङको संयुक्त पहलमा सन् १९२६ मा सैनिक शासकलाई पराजित गरियो र च्याङ काइ सेकले चिनियाँ सरकारको नेतृत्व गरे । यसै समयबाट चीनमा जनवादी क्रान्तिको पनि थालनी भयो र सन् १९४९ मा यो क्रान्ति सम्पन्न भयो।

जनवादी क्रान्तिका कारणहरू
देशको प्रगति एक व्यवस्थाको अन्त्य र अर्को व्यवस्थाको थालनीले मात्र नहुने रहेछ । देशको प्रगतिका लागि असल योजना र योजनाकारको आवश्यकता पर्दछ । गणतन्त्रको स्थापना भएर पनि चीनमा राजनीतिक स्थायित्व कायम हुन सकेन । फलतः चिनियाँ कम्युनिस्ट पार्टीले जनवादी क्रान्तिको थालनी गर्यो । जसका कारणहरू तल दिइएको छन्:

च्याङ काई सेकको नीति
च्याङ काई सेक प्रभावशाली, महत्वाकांक्षी, अवसरवादी, विश्वासघाती र अदूरदर्शी नेता थिए । यिनले अरूको सल्लाह स्वीकार गर्दैनथे । यिनले सुधारका कामहरू गर्नुभन्दा पनि विरोधीहरूलाई शक्तिको भरमा दमन गरेर मनपरि शासन चलाउन चाहन्थे । उनी सत्तमा आएपछि कोमिङताङलाई साम्यवादी विरोधी दलका रूपमा विकास गरे र साम्यवादी विचारका मानिसहरूलाई कारबाही गर्न सुरु गरे । सन् १९२७ मा उनले चिनियाँ कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धसमेत लगाए ।

चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका
च्याङ काई सेकको दमन सुरु भएपछि सन् १९२६ को मार्च महिनादेखि चिनियाँ कम्युनिस्ट पार्टीले हेनकाउबाट क्रान्तिको थालनी गर्यो । सन् १९२७ मा च्याङ काई सेकले प्रतिबन्ध लगाए पनि चिनियाँ कम्युनिस्ट पार्टीले भूमिगत रूपमा किसान, मजदुर र लाल सैनिकको व्यवस्थित सङ्गठन गर्दै आफ्ना गतिविधिहरूलाई अगाडि बढायो। सन् १९३१ मा चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनले माओत्से तुङलाई आफ्नो पार्टीको अध्यक्ष बनायो। माओत्से तुङको नेतृत्वमा पार्टीले “क्याङ्सी”लाई आफ्नो आधार इलाका कायम गरी देशको झन्डै ८ प्रतिशत भूभागमा जनसरकार गठन गर्यो। लाल सेनाको आधार इलाका ध्वस्त पार्ने उद्देश्यले राष्ट्रिय सेनाले क्याङ्सीमाथि ३ पटकसम्म हमला गर्यो। तर यसमा राष्ट्रिय सेनाले नै क्षति बेहोर्नु पर्यो। सन् १९३४को अक्टोबरमा १० लाखको सङ्ख्यामा रहेको राष्टिय सेनाले क्याङ्सीलाई घेरा हाल्यो। यस बेला लाल सेनाको पराजय हुने निश्चित थियो। तर संयोगवश लाल सेना त्यहाँबाट भाग्न सफल भयो। यो सेनाले १२ प्रान्त, १८ पहाड र १४ ओटा नदीहरू तरेर १० हजार कि.मि. को दुरी पार गर्दै सन् १९३५ को अक्टोबरमा सैन्सी”भन्ने स्थानमा एकत्रित भयो । यसलाई चीनको इतिहासमा लामो कदम (Long March) भनेर चिनिन्छ । यसबेला क्याङ्सीबाट हिँडेका १ लाख लाल सेनामध्ये २० हजार मात्र सैन्सी पुग्न सफल भएका थिए। सन् १९३६ मा च्याङ काई सेकले लाल सेनाउपर कारबाही गर्नका लागि राष्ट्रिय सेनालाई सैन्सी पठाए। तर राष्ट्रिय सेनाले लाल सेनाउपर कुनै किसिमको आक्रमण गरेन। यसरी हेर्दा च्याङ काई सेकबाट राष्ट्रिय सेना पनि सन्तुष्ट थिएन। अतः यो पनि चीनको जनवादी क्रान्तिको एउटा कारण र चरण बन्न गयो ।

जापानसँगको युद्धमा पराजय
चीनमा पहिलेदेखि नै विदेशी हस्तक्षेप कायम थियो । च्याङ काई सेकले अमेरिकीहरूको सहयोग लिएका हुनाले जापान चीनसँग रुष्ट थियो । यसै बखत सन् १९३७ मा जापानले मन्चुरियामाथि आक्रमण गर्यो । द्वितीय विश्वयुद्ध कायम रहेसम्म नै यो युद्ध कायम रह्यो । यस बखत लाल सेना र राष्ट्रिय सेना संयुक्त रूपमा जापान विरुद्ध युद्धमा सहभागी भए । चिनियाँ जनताहरू यो युद्धमा आफ्नो पराजयले निराश भए । यस वेला चिनियांँ कम्युनिस्ट पार्टीले राष्ट्रिय सेना तथा जनसाधारणमा आफ्नो सङ्गठन र प्रभाव विस्तार गर्ने अवसर पनि पायो । यो युद्धको पराजयको दोष च्याङ काई सेक र उनको कोमिन्ताङ पार्टीमाथि लगाइयो । अतः यो पनि चिनियाँ जनवादी क्रान्तिको एउटा कारण बन्न गयो ।

मुद्रास्फिती र महङ्गी
जापानसँगको युद्धपछि चिनियाँ सरकार अमेरिकी सरकारमा आश्रित भयो । यस बेला अन्तर्राष्ट्रिय बजारमा चीनको मुद्राको मूल्य नराम्रोसँग घट्यो भने महङ्गी त्यस्तै गतिमा बढ्दै गयो । मुद्रास्फिती भनेको अन्तर्राष्ट्रिय बजारमा कुनै देशको मुद्राको मूल्य घट्नु हो । सरकारले मुद्राको अवस्था सुधार्ने र महङ्गी नियन्त्रण गर्ने कुरामा ध्यान दिएन । राष्ट्र सेवक कर्मचारी, किसान, मजदुर तथा अन्य तल्लो तहका नागरिकहरूको जीवनस्तर निकै कष्टकर बन्न गयो । यसले गर्दा किसान, मजदुर तथा राष्ट्रसेवक कर्मचारीमा सरकारप्रति वितृष्णाको भावना विकास भयो । उनीहरू सरकारका विरोधी बन्न गए । अतः यो पनि चिनियाँ जनवादी क्रान्तिको एउटा कारण बन्न गयो ।

भ्रष्टाचार र कालोबजारी
च्याङ काई सेक सरकारको शासनकालमा देशमा भ्रष्टाचार निकै बढ्न गयो। ठुलो स्तरका कर्मचारीहरू यसैलाई आफ्नो आम्दानीको प्रमुख स्रोत मान्थे। त्यसै गरी व्यापारीहरूले दैनिक उपभोग्य सबै सामानहरू लुकाउँथे र बजारमा कृत्रिम अभावको सिर्जना गर्दथे। यसले गर्दा सर्वसाधारण वर्ग निकै आत्तिएको थियो। च्याङ काई सेकको सरकार यिनै ठुलो व्यापारी र कर्मचारीको आडमा चलेको हुनाले भ्रष्टाचार र महङ्गी नियन्त्रण गर्नेतर्फ कुनै सोच नै बनाउँदैन्थ्यो। अतः जनताले यो सरकारको विकल्प खोज्न थाले। यसरी यो पनि क्रान्तिको कारण बन्न गयो।

निश्चित वर्गको एकाधिकार
एकाधिकार भनेको कुनै एक व्यक्ति वा वर्गसँग विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्ने व्यक्ति वा वर्ग नहुनु र एक व्यक्ति वा वर्गले मात्रै कुनै क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम गर्नु हो । यस कालमा चीनमा कालोबजारीको विकास भएको थियो । कालोबजारी भनेको कुनै पनि वस्तुलाई आफू खुसी मूल्यमा किनबेच गर्नु हो । देशको प्रशासन, न्याय, उद्योग तथा व्यापारमा च्याङ, कुङ, सुङ र छेन वर्गका मानिसको मात्र हाली मुहाली थियो । चीनको अर्थतन्त्र यिनै पूँजीपतिहरूको नियन्त्रणमा थियो । च्याङ काई सेकले यिनीहरूकै सहयोगमा शासन टिकाइ राखेका हुनाले यिनीहरूको एकाधिकार नियन्त्रणमा चासो देखाउँदैनथे ।

माओत्से तुङको नेतृत्व र चिनियाँ कम्युनिस्ट पार्टीको कार्यक्रम
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको हो । माओत्से तुङ यसका संस्थापक सदस्यसमेत रहेका थिए । यिनको जन्म सन् १८९३ मा हुनान प्रान्तको मध्यम वर्गीय किसान परिवारमा भएको थियो । उनले सन यात्सेनलाई आफ्नो आदर्श व्यक्ति मान्दथे । सन् १९११ मा उनले आफ्नो अध्ययनलाई रोकेर सेनामा भर्तीसमेत भएका थिए तर एक वर्षमै सेनाको जागिर छाडेर आफ्नो अध्ययनलाई निरन्तरता दिए । “साम्यवादको घोषणापत्र” को अध्ययन गरेपछि उनले आफू लाई पूर्णतः साम्यवादीमै समर्पित गरे । सन् १९३१ मा चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष भएपछि उनी पार्टी सङ्गठनमा लागे । उनको सफल नेतृत्वमा लाल सेना, किसान तथा मजदुरको सङ्गठन खडा गरियो । केन्द्रीय तहदेखि स्थानीय तहसम्म पार्टीका सङ्गठनहरू निर्माण गरिए । यस बेला देशमा अत्याचार, कालो बजारी, महङ्गी, विदेशी हस्तक्षेप आदि जस्ता समस्याहरू थिए । सरकारले यी कुराहरू मिलाउन सकेको थिएन । चिनियाँ कम्युनिस्ट पार्टीले विभिन्न स्थानहरूमा जनसरकार गठन गर्दै अत्याचार, कालो बजारी, महङ्गी आदि जस्ता समस्याहरूको समाधान गर्यो । त्यतिमात्र नभई विदेशी हस्तक्षेप विरुद्ध जनचेतना फैलाउने काम पनि गर्यो । माओत्से तुङको नेतृत्व र कार्यशैलीबाट चीनका जनताहरू प्रभावित र आशावादी भई उनलाई सहयोग गर्न थाले । यसप्रकार माओत्से तुङको नेतृत्व नै चिनियाँ क्रान्तिको महत्त्वपूर्ण कारण थियो ।

तत्कालीन कारण: लाल सेनामाथि राष्ट्रिय सेनाको आक्रमण
सन् १९२६ देखि नै क्रान्तिका रूपमा गृहयुद्धको थालनी भएको थियो। सन् १९४८ मा राष्ट्रिय सेनाले मन्चुरियामा लाल सेनामाथि गरेको आक्रमण नै क्रान्तिको तत्कालीन कारण बन्यो। पछि यो युद्ध नै निर्णायक बन्न गयो। सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो। लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे। यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो। लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो। यसै पटक लाल सेनाले पेकिङसमेत आफ्नो नियन्त्रणमा लियो । सन् १९४९ अक्टोबर १ मा माओत्से तुङले जनवादी गणतन्त्र चीनको घोषणा गरे।

क्रान्तिको घटनाक्रम
सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो। लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे। यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो। लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो। यसै पटक लाल सेनाले पेकिङसमेत आफ्नो नियन्त्रणमा लियो।

देशमा भएको अत्याचार, निश्चित समूहको एकाधिकार, विदेशी हस्तक्षेप, निरङकुशता आदि जस्ता कारणले कोमिङताङ पार्टीभित्रै च्याङ काई सेकको चर्को आलोचना भइरहेको थियो। यसैबखत लाल सेनासँग राष्ट्रिय सेनाको लज्जास्पद हार भएपछि उनले राष्ट्रपति पदबाट राजिनामा दिए। राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै उपराष्ट्रपति “ली सुङ जुङ” ले चिनियाँ कम्युनिस्ट पार्टीलाई वार्तामा आउन आह्वान गरे। उनको आह्वानमा चिनियाँ कम्युनिस्ट पार्टीले निम्न सर्तहरू प्रस्तुत गर्‍यो:

(क) च्याङ काई सेक र ली सुङ जुङलाई पदबाट बर्खास्त गर्ने

(ख) देशबाट पुँजीवादको अन्त्य गर्नका लागि साम्यवादी सिद्धान्तमा आधारित भूमि, र सैनिक नीति लागु गर्ने

(ग) विदेशीसँग भएका सबै सन्धि सम्झौता रद्द गर्ने

(घ) युद्ध बिराम गर्ने आदि ।

चिनियाँ कम्युनिस्ट पार्टीले राखेका सर्तहरूलाई नानकिङ सरकारले अस्वीकार गर्‍यो । च्याङ काई सेकले नानकिङमा राजधानी बनाई देशको शासन चलाएको हुनाले यो सरकारलाई नानकिङ सरकार भनिएको हो। कुनै पनि देशका सरकारलाई राजधानीको नामबाट सम्बोधन गरिने चलन अहिले पनि छ। नानकिङ सरकारले लाल सेनाका सर्तहरू अस्वीकार गरेपछि लाल सेनाले आफ्ना गतिविधिहरूलाई अझै तीव्र बनाउँदै लग्यो । सन् १९४९ को अप्रिलमा नानकिङ र साङ्घाई पनि लाल सेनाको नियन्त्रणमा आए। लाल सेनाले देशका विभिन्न स्थानहरूमा जनसरकार गठन गर्दै गयो । च्याङ काई सेक फारमोसा भन्ने टापुमा भाग्न सफल भए। फारमोसा टापुलाई हाल ताइवान भनिन्छ। हाल ताइवान एक स्वतन्त्र राज्य हो। माओत्से तुङले १ अक्टोवर १९४९ मा नयाँ सरकार गठन गर्दै जनवादी गणतन्त्र चीनको घोषणा गरे। यसप्रकार झन्डै २३ वर्षसम्मको युद्ध पनि समाप्त भयो। जनगणतन्त्रवादी चीनलाई सर्वप्रथम सोभियत संघ रुसले मान्यता दियो।

 

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..