महामारीमा सोवा रिग्पा उपचार

डोल्मा शेर्पा/सिन्धुपाल्चोक ।

नेपालको हिमाली क्षेत्रमा परम्परादेखि नै अभ्यास गर्दै आएको सोवारिग्पा उपचार पद्धति कारोना महामारीकालमा पनि प्रयोगमा आएको छ । परम्परागत विधिबाट गरिने उपचार पद्धति समयअनुसार सुधार हुँदै आएको छ ।

ज्वरो, पखला लगातले बिरामी हुँदा नेपालका दुर्गम हिमाली भेगमा आम्चीहरुले नै उपचार गरिरहेकोमा अहिले प्रमुख सहरी इलाकामा बिस्तार भएको छ । सोवारिग्पा एसोसिएसनका अध्यक्ष डा. तेन्जीङ धार्के गुरुङका अनुुसार काठमाडौ, बुटवल, पोखरा, बिर्तामोड लगायतका सहरहरुमा सोवारिग्पा मेडिकल कलेज नै स्थापना भएको छ ।

‘सोवारिग्पा एक उपचार विधि हो, यो उपचार विधिलाई बुद्धकालिन चिकित्सा पनि भनिन्छ बुद्धले चार वर्ष तपस्य गरेर सुरुवात गरेको चार तन्त्र, जडिबुटि, चार तत्वमा आधारित रहेको हुन्छ ।’ सोवारिग्पा एसोसिएसनका अध्यक्ष डा. गुरुङले भन्नु भयो –’ नेपालको हिमाली जिल्ला, भारत, सिकिम र भुटान लगायतका हिमाली क्षेत्रमा सयौँ वर्षदेखि प्रयोगमा रहँदै आएको यो प्रणाली नेपालमा पनि सरकारले कोरोना कालमा नै मान्यता दिएको हो । हामी निरन्तर रुपमा यसको विस्तारमा लागि रहेका छौ ।

डा. गुरुङकै भनाईलाई सहमति जनाउँदै सियार समाजका अध्यक्ष निमा लामा पनि सोवारिग्पा उपचार पद्धति १२ औँ सताब्दीमा सुरु भएको र यसमा २ सयभन्दा बढि जडिबुटिहरु प्रयोग हुने गरेको बताउनु हुन्छ ।
अध्यक्ष लामाले उही प्रसंगमा थप्नु भयो ‘अहिलेका आधुनिक औषधी उपचार प्रणाली आएको धेरै भएको छैन, करिब चार दशक भयो होला, त्यस अघि हिमाली आदिवासीहरु सोवारिग्पा विधिबाटै रोगहरुको उपचार गर्दै आएका थिए ।’ अझै पनि हिमाली क्षेत्रमा यो विधि प्रयोगमा रहिआएको उहाँको कथन छ ।

दुर्गम तथा आफनो थातथलोमा रहेका आदिवासीहरुमा सोवारिग्पा उपचार विधिमा विश्वास राख्ने हुँदा यसको महत्व रहेको जनस्वास्थ्य विद डा. सुरेश तामाङको दावी छ । यसैमा उहाँले जोडनुहुँदै अगाडि भन्नु भयो ‘पश्चिमाको प्रभाव र आधुनिक औषधी उपचार विधिको विकासक्रमले गर्दा शहरी क्षेत्रका मानिसहरुमा भ्रम पनि छ । सानोसानो समस्या पर्दा समेत ठुलाठुला भवनमा बसेका सेतो कोट लगाउने बस्ने अस्पतालहरुमा पाइँने औषधीले निको बनाउछ भनेर जाने गर्दछन् ।’ वास्तबमा शहरी क्षेत्रमा हाम्रो परम्परागत उवचार पद्धतिको प्रभाव हराउँदै गएको छ ।

सोवारिग्पा विधिको संरक्षण
सोवारिग्पा एक उपाचर विधि हो र आम्ची रोगको उपचार गर्ने व्यक्ति अथवा चिकित्सक हुन् । आम्ची ज्ञानको परम्परा हिजो आज कलेजमा अध्ययन हुन थाले पनि समुदायमा पुस्ता हस्तान्तरणका माध्यमले संरक्षित छ । तर बौद्ध शिक्षा अध्ययन अध्यन गर्ने क्रममा गुम्बाहरुमा सोवारिग्पा पनि अध्ययन गराइने गरेको हुँदा संरषित हुन सकेको तर्क राख्नु हुन्छ डा. गुरुङ । जनस्वास्थ्य विद् डा. तामाङ भने सरकारी नीति तथा कानुनमा समावेश गरे मात्र सोवारिग्पा उपचार विधिलाई जोगिने बताउनु हुन्छ ।
संरक्षणकै विषयलाई जोड्दै सियार समाजका अध्यक्ष लामाले ‘हिमाली क्षेत्रको भुगोल जडिबुटिको संगम थलो भएको हुँदा यहाँ जडिबुटिको पहिचानका लागि विशेष अभियान र अध्ययन हुनु पर्नेमा जोड दिनु हुन्छ ।

सोवारिग्पा उपचारमा रोग निको पार्ने विधि
सोवारिग्पा उपचार विधिमा आफ्नै फरक रोगको पहिचान गर्ने प्रकृया रहेको हुन्छ । यस विधिमा रोग पत्ता लगाउने तिन ओटा प्रकृया रहेको छ । यससमा ताव, रिगप र टिवा भन्ने छ । यि तिन कुरालाई राम्रोसंग सिक्नुपर्छ । डा. गुरुङले थप्नुहुँदै भन्नु भयो ‘पहिलो चरणको भनेको बिरामीको छोएर उसको नारीलाई जाँचेर पत्ता लगाउनु पर्यो, दोस्रो भनेको हेरेर बिरामीको आँखाँ, मुख, जिब्रो र दिसा पिसाब हेरोर पत्ता लागाइन्छ र तेस्रोमा बिरामीलाई केकसरी कस्तो लक्षण देखियो बंशमा यस्तो रोग छ छैन भनेर सोधेर गरिन्छ ।’ जनस्वास्थ्य विद डा. तामाङले पश्चिमा विश्वविद्यलयहरुले वर्तमान अवस्थामा इथ्नो बोडानिकल, इथ्नो मेडिसिन भनेर अध्यापन गराउन सुरु गरेकोले यसको प्रचारमा सहयोग पुगेको बताउनु भयो ।

‘जडिबुटिका बोटको पात, जरा, फुल, बोक्राहरुमा केकस्ता तत्व पाइन्छ भनेर विज्ञानले हेर्छ र विज्ञानमा त्यो सम्भव छ । र यसमा हरेक विद्यालयहरुले अध्ययन गराईरहेका छन । इन्डियाले १९७९ मा सोवारिग्पाको इन्सिटुट खोली सकेको र २००९ मा राष्ट्रियरुपमा मान्यता पाएको छ । नेपालमा पनि अनुसन्धान केन्द्र, बनस्पति विभागहरु रहेको छ र अन्य निकायको पनि ध्यान गएको पाइन्छ ।’ साभारः इन्डिजिनियस फिचर सेवा

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..