annapurna add

सुन्दर र सेक्सीमा के फरक छ ? मैले कोही मान्छे सुन्दर लाग्नु र सेक्सी लाग्नु एउटै होइन भन्ने थाहा पाएको ६ वर्षअघि मात्रै हो। ‘धुम टु’ फिल्मको ‘धुम मचाले’ भन्ने गीतमा ऋतिक रोशनलाई देखेपछि।

gfffffअसोजको महिना, शनिबार, केटीकेटी भेला भएर टीभीमा ‘धुम टु’ हेरेथ्यौँ। टीभीभित्रको ऋतिकले सुनी पो हाल्छ कि झैँ गरी केटीहरूले लजाउँदै भनेका थिए, ‘हेर न ओइ, क्या चिल्लो छाती, चिप्लिन्छु होला हौ म।’
‘त्यही भनेको, हेरेरै भोक मेटिन्छ जस्तो !’

यो सुपरहिट फिल्ममा ऋतिक खपिनसक्नु सेक्सी देखिएको छ भन्ने हल्ला पनि सुपरहिट थियो। तर आफैँले फिल्म हेरेपछि मेरा लागि त्यो हल्लाले फ्लप खायो।
सँगै हेरेका साथीहरूलाई ऋतिक सेक्सी लाग्यो रे, मलाई ह्यान्डसम। उनीहरूलाई ह्यान्डसम ‘पनि’ लागेको हो। तर मलाई ह्यान्डसम ‘मात्रै’ लाग्यो।
प्रायः केटाहरू जिम जाने कारण यिनै केही हुन्- तिघ्रा पुष्ट बनाउन, बाइसेप्स ट्राइसेप्सको सेप निकाल्न, छाती पुक्क फुलेको बनाउन, पेट सपक्क बनाउन। होलसेलमा भन्दा जीउ सेक्सी बनाउन।

तर केटी भएरै पनि मलाई केटाको चिल्लो छातीमा चिप्लिएर लड्ने रहर कहिल्यै आएन। न मलाई सर्ट खोलेर कडा कडा बोल्ने बोल्ड केटाको हाउभाउले छोयो; न सर्ट लाएरै मीठो, मायालु कुरा गर्नेको नरम स्पर्शले।
छोरीको शरीरले कुनै केटा खोजिहालेको छैन, यसो थाहा पाउँदा छिटै बिहे गरिदिन हतार ‘नभएका’ मेरा बाआमालाई अहिले त खुसी नै लाग्छ होला। तर मेरो बिहे गर्ने उमेर नै भएपछि चाहिँ खुसी हराउँछ। डर लाग्नेछ।

खुसी आफूलाई सहज लागुन्जेल मात्रै खुसी हो, आफ्ना सर्त पूरा नगर्नेबित्तिकै डर बन्छ। मैले कक्षा १२ मा पढ्दासम्म मबाहेक मेरा सबै साथीले ‘खास’ साथी भेटिसकेका थिए।
मलाई कसैले खास साथी बनाउन नखोजेको पनि हैन। एउटाले पूरा कलेजले देख्ने गरी भलिबल कोर्टमा घुँडा टेकेरै फूल दिएको थियो। कति केटा साथीका आमालाई त झन् म बुहारी नै बनाउने खालकी लाग्थ्यो रे। तर मलाई ती कोही आमाका छोराहरू श्रीमान् बनाउने खालका लागेनन्। खासमा मलाई ती आमाका हैन, कोही आमाका छोरालाई श्रीमान् बनाउनु थिएन।
केटाहरू साथी हुँदासम्म ठीक तर कसैलाई श्रीमान्चाहिँ बनाउनु थिएन।

किन बनाउनु थिएन, त्यो पनि थाहा थिएन। साथीहरू भन्थे, ‘यो सब एउटा फेज हो, सही टाइम आएपछि सब ठीक हुन्छ, आफूजस्तै केटा भेटेपछि सब ठीक हुन्छ।’
१२ पास गरेर कलेज पुगेपछि त्यो फेज गयो। सही टाइम आयो, सब ठीक भयो।
मैले आफूजस्तै मेरो खास मान्छे भेटेँ, तर केटी भेटेँ।
कलेज गएको दोस्रो दिन पहिलोपल्ट बोलेका थियौँ हामी। एकछिन कुरा गर्दैमा थाहा भयो, हामी ठ्याक्कै उस्तै रहेछौँ। एउटै किताबका दुई प्रति जस्ता।

जब किताब पढ्न थाल्थ्यौँ तब शब्दमा डिको टाँसिएजसरी किताबमा टाँसिन्थ्यौँ। जब कुमार सानु–अल्का याग्निकका, यश कुमारका गीत बज्थे; हाम्रा कानले एकैपटक अरू सब आवाज सुन्न बन्द गर्थे। जब फिल्म हेर्न थाल्थ्यौँ, ल्यापटपमा स्क्रिन टाँसिएजसरी हामी पनि ल्यापटपमै टाँसिन्थ्यौँ। हाम्रै भाषामा ‘मुभी फ्रिक’।
उसलाई भेटेर मैले आजसम्म आफ्नैबारेमा थाहा नपाएको सबै थाहा पाउन थालेँ। एक एक गर्दै, बिस्तारै। हामी कहिल्यै छुट्टिन मन नलाग्ने गरी टाँसियौँ।

म खासै बोल्ने मान्छे थिइनँ, उसलाई भेटेपछि बोलेको बोल्यै भएँ। ऊ आफू सुन्न सक्ने मान्छे होइन भन्थी, तर म बोल्न थालेपछि सुनेको सुन्यै भई। मैले ऊ जति कसैलाई सुनाएकी थिइनँ। उसले मलाई जति कसैलाई सुनेकी थिइन।मान्छेले तब मात्रै बोल्ने हो, जब कोहीले सुनेको देख्छ।

मैले त्यसअगाडि कसैले मलाई सुनेको देखेकै थिइनँ। सबै मेरा कुरा सुन्थे, मलाई कसैले सुनेन। उसले सुनेपछि थाहा भयो, मलाई कति भन्नु रहेछ।एक दिन बायोलोजीको खाली क्लासमा मैले मेरा कुराले उसलाई यसरी भरिदिएँ, मलाई आफ्नै अपूरो लाग्ने जिन्दगी भरियोजस्तै भयो।त्यो दिन थाहा भयो, सही मान्छे भेटेपछि आफूभित्रका कुरा निकालेर आफूभित्रकै खाली ठाउँ भर्न मिल्ने रहेछ।

बायोलोजी क्लासमा मैले मेरो बायोलोजी बुझेँ, अनि हाम्रो केमेस्ट्री पनि।भोगेकी थिइनँ तर फिल्म हेरेरै मलाई थाहा थियो, प्रेम हुँदा के के हुन्छ ? हुन त मैले हेरेका कुनै फिल्ममा दुई केटीले कुरा गर्दा न हावा चल्थ्यो, न कसैको कपाल उड्थ्यो, न ब्याकग्राउन्डमा रोमान्टिक गीत बज्थ्यो। तर हाम्रो फिल्म त भर्खर बन्दै थियो।
उसले मलाई सुनिरहँदा उसको कपाल पनि उड्यो, मैले गितार बजेको पनि सुनेँ। त्यही भएर होला, कसैले नभनी थाहा पाएँ। मैले १९ वर्षसम्म नबुझेको प्रेम मेरो छेउमा आएर टुसुक्क बसिसकेछ।

हामी नजिकै बस्थ्यौँ, दुवै आआफ्नो डेरामा। बेलुका जहिल्यै भेट्थ्यौँ। मैले आजसम्म भोगेको सबैभन्दा सुन्दर विपना के हो भनेर कसैले सोध्यो भने ठिमीको भित्री बाटोमा उसको हात समातेर बर्फी फिल्मको ‘सावली सि रात हो...’ गीत सुन्दै हिँडेको छर्लंग देख्छु म।

एक साँझ, त्यही बाटोमा उसले भनेकी थिई, ‘मलाई तिम्रो हात पकड्दा जति ढुक्क अन्त कहीँ लाग्दैन।’
मचाहिँ पहिलोपल्ट हात पकड्दा कामेकै थिएँ। धन्न, आफूले मात्रै थाहा पाउने गरी। त्यसअगाडि कसैको हात नपकडेको हैन, केटा केटी सबको हात पकडेको हो। तर त्यो दिन पहिलोपटक कामेँ म। पूरै जीउ तातेको थियो।
त्यही एउटा दिन थाहा पाएँ, मलाई १२ क्लासमा पढ्दा घुँडा टेकेर फूल दिने साथी त्यो दिन मैले उसको हात पकड्ने बित्तिकै किन त्यति रातो भएको रैछ।
कोही मान्छे खुब डराएर पनि ढुक्क महसुस गर्ने त्यही एउटा बेला मात्रै होला। पहिलोपटक प्रेमको हात पकड्दा।
कहिलेकाहीँ मेरो कपालमा उसका औँला घुसाउँदै ऊ भन्थी, ‘काइँयो लगाएको भुवा हो कि क्या हो ओइ ?’ अनि मेरो कपालमा औँला दौडाउँदै हाँस्थी।

मलाई ऊ हाँसेको खुब मन पर्थ्यो। त्यही हाँसेकै बेला गएर आफ्नो ओठले उसको ओठ बन्द गरिदिऊँजस्तो हुन्थ्यो। उसका ओठ मेरा ओठभित्र झन् खुसी भएर हाँस्थे। म दिनभर उसलाई त्यसरी हँसाइरहूँ, ऊ आफूलाई मन पर्ने कपाल सुम्सुम्याइरहोस्। म डराएर उसका हात पकडूँ, ऊ तानेर उसको कम्मरमा लगिदियोस्। आँखा खोलेर उसलाई हेर्दै सपना देख्थेँ म। मेरा सबै सपना एकएक गर्दै पूरा हुन थाले। एउटा सपना पूरा हुनेबित्तिकै लोभ लाग्ने रैछ, म थपी थपी अरू सपना खान थालेँ।

अहिले ऊ २४ वर्षकी भई। म केही महिनाले कान्छी तर जन्मेको साल फरक, अनि आफूलाई २३ वर्ष भन्छु। हामी हाम्रा हर साथीका जोडीजस्तै बाँचेको चार वर्ष पुगिसक्यो। हाम्रा सपना पनि सिंगै चार वर्ष बाँचिसके।
हामीभन्दा कति पछि भेटेका केहीको त बिहे नै भइसक्यो। केही प्रेम आधीमै रोकिए।
‘घरमा उपाध्याय बाहुनबाहेक अरू मान्नुहुन्न’ यति कारणले मात्र एकजनाको तीनर्षे लभ छुटेछ। कोही आफ्नै रहरले छुट्टिए, केही बाआमाको करले, अनि कोही डरले। कहीँ पैसा बीचमा आयो।

दुई जना मान्छे जति नजिक भए पनि बीचमा के–के आउन मिल्ने ठाउँ हुने रैछ। छुटेका सब साथी मसँग खुब रोएका छन्। सबैले भन्थे, ‘हाम्रो जसरी माया कसैले गरेन तर हामीलाई जति अप्ठ्यारो कसैलाई छैन।’
‘तेरो घरमा त सब बुझ्ने छन्, तँ कति लक्की यार !’ ‘तैँले त जुन केटाको कुरा घरमा लग्छेस्, त्यही केटासँग बिहे हुन्छ पक्का।’
मेरा साथीहरूले ठीक भनेका हुन्। मेरो घरमा सबै आधुनिक छन्। एकपटक खाना खाँदा सुनाएकी थिएँ साथीहरूका कुरा। सुन्नेबित्तिकै बा र दाइ नबोल्दै आमाले भन्नुभयो, ‘यस्ता केही बहानाले तेरो प्रेम छुट्दैन, कोही मन परेको भए भन् है, त्यही केटासँग बिहे गर्दिन्छौँ। रोजेको केटा छ भने भेटा है।’
तर म यो सब भन्ने साथीहरू, बा आमा कसैलाई मैले रोजेको केटा भेट्टाउन सक्दिनँ। किनकि मैले रोजेको जो छ, ऊ केटा हैन।

बा आमालाई गरिब भए हुन्छ, तर केटा चाहिएको हो। साथीहरूलाई जुन जातको भए पनि हुन्छ तर भिनाजु चाहिएको हो। मेरा आधुनिक साथी, बा आमा, कसैको आधुनिकताको आँगन त्यति फराकिलो छैन जहाँ दुवै बेहुली बसाउने एउटा मण्डप बनाउन सकियोस्। ऊ र म साँघुरो आँगनमा निसास्सिन्छौँ। कहिलेकाहीँ त लाग्छ कोहीसँग नडराऊँ। जसको आँगन जति साँघुरो होस्, म मेरो आवाज फराकिलो गराउँछु। यति चिच्याउँछु कि जति साँघुरा सोचभित्र पनि पस्न सकूँ।

मन सोच्छ, संसारकै सबैभन्दा खुसी जोडीजस्तो देखिने उसको र मेरो फोटो अहिल्यै राखिदिऊँ फेसबुकमा। पुराना फोटोका क्याप्सनजस्तो ‘आई लभ यु माई बेस्ट फ्रेन्ड’ लेख्न बन्द गरिदिऊँ अनि माया नै मायाले भरिएर लेखूँ, ‘आई एम इन लभ विद यु माई लभ।’
तर प्रेम गर्न हिम्मत गर्ने मुटुले हिम्मत गर्नचाहिँ हिम्मत नगर्ने रैछ। आँखा बन्द गरेर सपना देख्दादेख्दै केही महिना अगाडिको विपना सम्झिन्छु।
तीन महिनाअघि एउटा फेसबुक ग्रुपमा एउटा फोटो हिट भएको थियो। सयौँ कमेन्ट आएका थिए। फोटो थियो एक समलिंगी जोडीको।

ती केटाहरूको जोडी पनि हाम्रोजस्तै मिलेको थियो। मजस्ता काँतर थिएनन् ती केटाहरू। हामीजस्ता काँतर थिएनन्। तिनमा हिम्मत थियो, प्रेम गर्ने पनि, देखाउने पनि।
उनीहरूलाई लागेको थियो कि फेसबुकभित्रका मान्छे साँच्चै त्यस्तै हुन्छन् जस्ता फेसबुकमा देखाउँछन्। लाखौँ मान्छेले आफ्नो फोटो इन्द्रेणी रङको बनाएको त्यो जोडी केटाहरूले पनि देखेका थिए जसको अर्थ हुन्छ- हामी सबै मानिसबीच हुने सबै किसिमका विवाह (प्रेम)को समर्थन गर्छौं।
यही पत्याएर ती केटाहरूले त्यो फेसबुक ग्रुपमा फोटो राखेका थिए। सब बुझ्झकी बनेको देखेर अब त साँच्चै बुझ्छन् लागेको थियो होला।
सोचेका थिए होला, कमेन्टहरू यस्ता आउलान्-
- ‘प्रेमभन्दा माथि केही छैन’।
- ‘गड मेड यु विथ लभ, गड विल ब्लेस यु’।
लभको फोटोमा लभ रियाक्ट आउँछ भन्ने लागेको थियो होला उनीहरूलाई।
तर मान्छे उनीहरूले देखेको भन्दा फरक भोगिए। लभ होइन, हाहा रियाक्टको वर्षा भयो। प्रायः कमेन्टमा कि त हाँसिएको थियो, कि त उनीहरूलाई आरोप-
- ‘के के सिकेका विदेशीको देखेर, हाम्रो संस्कृति बिगार्ने यस्तैले हो’।
- ‘दुई दिनको चटक पपुलर हुन’।
- ‘यस्तो हुन थाले सृष्टि कसरी चल्छ हौ !’

सब आरोपभन्दा खत्रा कमेन्ट आयो एउटीको। लेखिएको थियो, ‘ब्वाइफ्रेन्ड बचाऊ है केटीहरू !’
फोटोमा एउटा केटा र केटी होउन्जेल कसैले केही मन घोच्ने लेख्दैन। कोही केटीले अर्को केटा बिहे गर्दा बाँकी कोही केटी असुरक्षित महसुस गर्दैनन्। तर एउटा केटाले अर्को केटा नै मन पराउँदा त्यो केटा अब सारा केटाहरूको पछाडि हात धोएर लाग्छ भन्ने लाग्दो रैछ मान्छेहरूलाई। मेरै उमेरका, पढेका, बुझ्झकी मान्छेहरूलाई।
आँट देखेर चंगा भएको आँत मेरो, त्यो फोटोका कमेन्ट देख्नेबित्तिकै सुकेको थियो। यो विपना सम्झिनेबित्तिकै आफ्नो प्रेम सुनाउने मेरो जोसिलो सपना स्वाट्ट हराउँछ।

मलाई थाहा छ, हामीले आफ्नो प्रेम देखायौँ भने हामीलाई पनि यस्तै हुनेछ। मौका पाउनेबित्तिकै मान्छेलाई मिम बनाउन तयार भएर बसेकाहरूले हामीलाई पनि बाँकी राख्नेछैनन्। एकाएक सारा ब्वाइफ्रेन्डबीच त्रास बढ्नेछ। एकाएक हामी दुई केटी दुनियाँका कोही केटी नछाड्ने सिकारीजस्ता देखिनेछौँ।
हाम्रोबारे पनि त्यसरी लेखिनेछ, ‘गर्लफ्रेन्ड बचाऊ है केटाहरू !’
त्यसैले हामीलाई बोल्ने आँट छैन।
सामाजिक सञ्जालमा मात्र हैन, कहीँ बोल्ने आँट छैन। न बाआमालाई बोलाउने आँट छ, न त साथीलाई सुनाउने। मेरा बाआमा प्रेम बुझ्छन्, तर त्यति मात्र, जति आफूले सुनेका छन्। मेरा साथीहरू त झन् प्रेम बुझ्छन्, तर त्यति मात्र जति आफूले भोगेका छन्।
आफूले सुनेको, देखेको र भोगेको भन्दा परको सब थोक अप्राकृतिक लाग्ने रैछ मान्छेलाई। लाग्न नहुने हो, तर लाग्छ।

आफूभन्दा फरक सबैलाई देखेर हाँसो लाग्ने रैछ मान्छेलाई। लाग्न नहुने हो, तर लाग्छ।मलाई त प्रेम देखाउने आँट भएन। कतिलाई प्रेम गर्ने पनि आँट छैन। कतिलाई आफूलाई स्वीकार्ने आँट छैन।
कतिलाई आफू हुने मात्रै पनि आँट छैन। आफू छु भन्ने थाहा हुँदाहुँदै आफू हुन नसक्नु जति त केले पोल्छ होला र !

आँट नहुने सबैलाई पोल्यो। पोलिरहेको छ। कतिलाई त जिन्दगीभर यति पोल्यो कि अहिले खरानी भइसके।
मलाई खरानी हुने आँट भएन। हामीलाई हामी हुन त आँट भयो, देखिने आँट भएन।
त्यतिका आँट भएको भए म आज यो केटा मन पर्ने लेखकको शब्दभित्र गुम्सिएर बोल्नु पर्दैनथ्यो। म यो लेखक होइन। म बाहिर छु। वरपरै छु। मेरी ऊ पनि यतै वरपर छे। ती मान्छेहरू पनि वरपर नै छन् जसले जोडी केटाको फोटोमा कमेन्ट लेखे, ‘ब्वाइफ्रेन्ड बचाऊ है केटीहरू !’
ती मान्छेहरू पनि वरपर नै छन् जसले भोलि जोडी केटीको फोटो देखे कमेन्ट लेख्नेछन्, ‘गर्लफ्रेन्ड बचाऊ है केटाहरू !’

म प्रार्थना गर्छु- यी सबैका ब्वाइफ्रेन्ड गर्लफ्रेन्ड बचून्। उनीहरूको प्रेम कसैले नखोसोस्। आफूले पाएको प्रेम पाइरहन पाउनुपर्छ। यो जन्मजात अधिकार हो। उनीहरूको प्रेम बचाउने यो अधिकारका लागि म पनि बाँचुन्जेल लडिरहनेछु।
अरूलाई मार्ने, बाँच्न नदिनेहरूको पनि आफू बाँच्न पाउने अधिकार हुन्छ अरे त। अन्नपूर्णबाट

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर