संसद विघटनबारे के भन्छन सन्यासी बनेका पुर्व प्रधानन्यायाधिश ?

अनायासै देवघाट जाने योजना बन्यो, २०७८ असार ४ गते । फेसबुकमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश दामोदर शर्माको एउटा तस्बिर भाइरल भएको थियो । उहाँको आश्रम देवघाटवारि नै रहेछ । म कार पार्क गरेर उहाँको आश्रम पुगें । उहाँले आफ्नो आश्रमको नाउँ– अखण्डानन्द आश्रम राख्नुभएको रहेछ ।

बिहान ११ बजिसकेको थियो । कृष्ण मन्दिरसँगै रहेको आश्रमभित्र प्रवेश गर्दा उहाँ अग्निपूजामा मग्न हुनुहुन्थ्यो । एउटा रित्तो कुर्चीमा बसेर चारैतिर नियालें । भित्तामा हिन्दु भगवान्हरूका तस्बिर टासिएका थिए र भित्तैमा टाँसिएको टीभीमा भजनकीर्तन चलिरहेको थियो । उहाँ एकाग्र मनले एउटा हातले अग्निमा चरु हवन गर्दै हुनुहुन्थ्यो, अर्को हातमा रुद्राक्ष माला थियो । म पुगेको उहाँलाई आभास नभएको होइन तर उहाँले आफ्नो पूजाक्रमलाई जारी राख्नुभयो । लगभग आधा घण्टाको प्रतीक्षापछि उहाँ ध्यानबाट निवृत भई मन्दिर कक्षबाट बाहिर निस्कनुभयो । हातमा रहेको त्यो रुद्राक्षको माला आफ्नो घाँटीमा राख्नुभयो, मैले ‘नमस्कार’ टक्र्याएँ, लिनुभयो तर मप्रति खासै रुचि देखाउनु भएन । अलिक खल्लो स्वरमा सोध्नु भयो, ‘किन आउनुभयो ? कता आउनुभयो ?”

मैले विनम्रतापूर्वक नै भनें– “तपाईंलाई भेट्न आएको हुँ । अहिले म देवघाट आएको छु ।”

उहाँले भन्नुभयो, “म संन्यासी भएर बसेको मान्छेसँग किन भेट्न खोज्नुभयो ?’ मैले फेसबुकमा भाइरल भएको फोटोद्वारा आकर्षित भएर उहाँलाई भेट्ने उत्कट इच्छा जागृत भएकाले आश्रम खोज्दै आएको भन्दा उहाँले पुनः अरुचिकै स्वरमा भन्नुभयो – ‘हामी यसरी नै बस्छौं, जीवन चलिरहेछ । ईश्वरमा समर्पित छौं । यहाँभन्दा बढी केही छैन मसँग ।” साथै सोध्नुभयो, “तपाईंको परिचय के हो ?” मैले विनम्रताका साथ भनें, “मेरो खासै परिचय छैन गुरु । म त्रिभुवन विश्वविद्यालयको सेवानिवृत्त प्राध्यापक हुँ । चितवनमै बस्छु ।” त्यसपछि उहाँमा अचानक परिवर्तन आयो र भन्नुभयो, “ओहो ! तपाईं यो देशको विद्वान् नागरिक । यता आउनुस्, सँगै बसौं ।”

पहिला म टाढा कुर्चीमा बसेको थिएँ । उहाँको स्वर केही नरम हुँदा नजीकै गएर बसें । मेरो परिचय खुलेपछि उहाँले आफ्नै खाटमा बस्न कर गर्नुभयो र सँगै कफी खान आग्रह गर्नुभयो । स्टीलको गिलासमा कफी आयो र कफीसँगै विभिन्न विषयमा कुरा गर्यौं । उहाँले आफ्नो व्यक्तिगत जीवनबारे केही भन्न चाहनु भएन । मैले कर पनि गरिनँ । मात्र भन्नुभयो– “मेरो बारे बाहिर सोध्नुभयो भने सबैले भनिहाल्छन् ।” परिवारबारे सोद्धा छोटकरीमा भन्नुभयो– ‘मेरो कोही छैन । म एक्लै आएँ, एक्लै जाने हो ।’ त्यसपछि मैले वर्तमानमा नेपाली राजनीतिबारे कुरा गर्ने चाहना राख्दा यस विषयमा उहाँले केही बोल्न चाहनुभएन । मैले भनें– “तपाईं देशको पूर्व प्रधानन्यायाधीश, देश राजनीतिक रूपमा लथालिङ्ग बनेको परिवेश, जनताको सार्वभौम भनिएको संसद दुई-दुई पटक भंग भएको अवस्था छ । त्रिभुवन विश्वविद्यालयको एक जना सेवानिवृत्त प्राध्यापक यसबारे तपाईंसँग विमर्श गर्न चाहँदा आपत्तिजनक त होइन सर ।”

(एलबी क्षेत्री पुर्व प्राध्यापक हुन् !)

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..