annapurna add

devghat photoगण्डकी प्रदेशको कान्छो जिल्ला हो नवलपुर । यसको सिमाना मित्रराष्ट्र भारतसँगै जोडिएको छ । हिमालपारिको जिल्ला मनाङ मुस्ताङदेखि तराइको जिल्ला नवलपुर समेटिएको गण्डकीमा हरेक जिल्लाका आफ्नै सम्भावना रहेका छन् ।

दुई ठूला छिमेकी राष्ट्र चीन र भारतलाई छुने यो प्रदेश पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेकोले गण्डकी प्रदेश सरकारले पर्यटनको राजधानी घोषणाका लागि औपचारिक प्रस्ताव गरिसकेको छ ।

तिनै सम्भावनाको उजागर गर्ने प्रयासमा पछिल्लो समयमा प्रदेश सरकारले नवलपुरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ आफ्ना योजना अघि बढाएको छ ।

यहाँका धार्मिक पर्यटकीय गन्तव्यलाई पर्यटन बजारमा प्रचारप्रसार गर्ने सोचका साथ हालै नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको प्रवद्र्धन एवं नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण समेत सम्पन्न भएको छ । पर्यटन सम्बद्ध व्यवसायीका साथै सरोकारवालासहितको टोलीले नवलपुर क्षेत्रका त्रिवेणीधाम, वाल्मिकी आश्रम, कैलाश आश्रम, शास्वत धाम लगायतका धार्मिक पर्यटकीय गन्तव्यको अवलोकन गरेको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिनुभयो ।

“भ्रमणका क्रममा लामो समयदेखिको कोरोना कहरले धार्मिक पर्यटकीय क्षेत्रमा पारेको प्रभाव, आगामी दिनमा धार्मिक पर्यटनका गतिविधि कसरी चलायमान बनाउनेलगायतका विषयमा सरोकारवालाबीच छलफल ग¥यौं,” उहाँले भन्नुभयो, “नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यलाई पर्यटन बजारमा उपयोग गर्न सकिएमा त्यसले समग्र पर्यटनमा महत्वपूर्ण योगदान गर्ने पुष्टि भएको छ ।”

नवलपुर क्षेत्रका हरेक सम्भावनालाई उजागर गर्नका लागि लाई सीधा पोखरासँग सडक सञ्जालले जोड्नु अपरिहार्य भएको बताउँदै गुरुङले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका कारण देखिएको समस्यालाई चाँडो समाधान गर्नुपर्ने बताउनुभयो ।

नवलपुर क्षेत्रमा धार्मिक रुपमा विशेष महत्व राख्ने स्थलहरू प्रवद्र्धनको पर्खाइमा रहेको त्रिवेणी विनय नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रितम गुरुङ बताउनुहुन्छ । “यस आसपासका त्रिवेणीधाम, गजेन्द्रमोक्षाश्रम धाम, वाल्मिकी आश्रम, कैलाश आश्रम आदि प्रचारप्रसारकै अभावमा ओझेलमा परेका छन्,” उहाँले भन्नुभयो, “धार्मिक पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका साथै यिनीहरूको प्रवद्र्धनमा राज्यस्तरबाटै चासो दिनुपर्छ ।”

नवलपुरको श्रीगजेन्द्रमोक्ष धाम पछिल्ला समयमा आकर्षणको केन्द्र बन्दै गएको छ । विभिन्न कला, संस्कृति, आगमशिल्प, तन्त्रशिल्पको विधिबाट निर्मित गजेन्द्रमोक्ष नारायण मन्दिर, अष्टकोणात्मक प्यागोडा शैलीमा निर्मित शीशमहल आदिले यहाँको गरिमा र महत्व अझै बढाएको धामका कृष्णप्रपन्नाचार्यले बताउनुभयो । स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको संगमस्थलमा यो धाम रहेको छ ।

अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथबाबा) को सक्रियतामा गजेन्द्रमोक्ष धाम परिसरमा श्रीगजेन्द्रमोक्ष नारायण मन्दिर, पाठशाला, गजेन्द्रमोक्ष कामधेनु गौशाला, धर्मशाला लगायतका विभिन्न संरचना निर्माण गरिएको छ । गजेन्द्रमोक्ष धाम सहित यस आसपासमा माता सीताको पाताल प्रवेश भूमि, महर्षि वाल्मिकीले आदि काब्य वाल्मिकी रामायण लेखेको स्थान, लव र कुशको जन्मभूमि, केउलानी मन्दिर, स्वयं प्रकट नागस्थान, बालपुरी, नागाबाबा कुटी, लक्ष्मीवेंकटेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, रामजानकी मन्दिर, कठवाँ गुफा, विष्णुधाम, गडीमाई आदि यहाँका धार्मिक पर्यटकीय गन्तव्य हुन् ।

गजेन्द्र मोक्षधाममा आएका पर्यटकलाई वैदिककालिन कला र सभ्यता झल्कने किसिमले निर्मित मन्दिर परिसरमा विभिन्न दृश्यले लोभ्याउने गरेको छ । गजेन्द्रमोक्ष नारायण मन्दिरको बाहिरी दृश्य प्यागोडा शैलीको छ भने भित्री दृश्य दक्षिण भारतीय शैलीमा पाउन सकिन्छ । धेरै सङ्ख्यामा रहेका देवी देवताका मूर्तिले यहाँ आउने जो कोही मोहित हुने गरेका छन् । धाम परिसरकै शीशमहल यहाँको अर्को आकर्षण हो । शीशमहलभित्र राधाकृष्ण भगवानको युगल स्वरुप हेर्न लायक छ । शीशमहलमा जाने दर्शनार्थीहरू जता हे¥यो उतै देखिने आफ्ना प्रतिविम्बले मोहित बन्दै फर्कने गरेका छन् ।

नवलपुरकै गैँडाकोट नगरपालिका वडा नं १३ मा अवस्थित कैलाश सन्यास आश्रम यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो । सेनकालीन सभ्यता झल्किने चितवनको नारायणगढबाट करिब १६ किलोमिटर पश्चिम दक्षिणमा रमणीय तपोभूमिका रुपमा रहेको यस आश्रमको दक्षिणतर्फ नारायणी नदी बगेको छ भने यहाँबाट चितवन राष्ट्रिय निकुञ्जको ठूलो भूभाग अवलोकन गर्न सकिन्छ । त्यस्तै पूर्वतर्फ कैलाश पार्क एवम् विशाल खेलमैदान रहेको छ । आश्रम क्षेत्रभित्र हजारौं वर्ष पुरानो साल, सल्लो, रुद्राक्ष, रक्तचन्दन लगायतका थुप्रै वनस्पतिले यहाँको गरिमा र महत्व अझै बढाएका छन् ।

आश्रममा पौराणिक, धार्मिक एवं कला संस्कृतिले भरिएका वास्तुकलाका महत्वपूर्ण शिला दर्जनौं सङ्ख्यामा देख्न सकिन्छ । यस क्षेत्रलाई पुरातत्व विभागले पुरातात्विक क्षेत्र घोषणा गरी उत्खनन् गर्दा ढुङ्गाद्वारा निर्मित ज्योर्तिलिङ्ग, गणेश मूर्ति र सार्दुल मूर्ति भेटिएका छन् । पुरातत्व विभागले उत्खननका क्रममा प्राप्त गरेका पुरातात्विक सामाग्रीको अध्ययनबाट यो स्थल करिब ८०० वर्ष पुरानो भएको अनुमान गरिएको कैलाश सन्यास आश्रम सञ्चालक समितिका सदस्य शेषराज शर्मा बताउनुहुन्छ ।

कैलाश सन्यास आश्रम व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेका अनुसार विभागले गरेको उत्खननका क्रममा यहाँ चौधौँ–पन्ध्रौँ शताब्दीमा सेन राजाको शासनकालमा भव्य कलात्मक मन्दिर रहेको हुनसक्ने आधार भेटिएका छन् । उत्खननबाट यस स्थलमा शिवको भव्य कलात्मक मन्दिर रहेको हुनसक्ने अनुमान गरिएको छ । उत्खननमा भेटिएका सामाग्री सुर्खेतको काँक्रे बिहारमा जस्तै पाइएकोले यो सेनकालीन समयको भएको उहाँले बताउनुभयो ।

तत्कालीन समयमा यसै क्षेत्रमा मणिमुकुन्द सेनको दरबारसमेत रहेकाले यस मन्दिरमा उनले पूजाआजा गर्ने गरेको बुढापाकाको तर्क छ । कैलास सन्यास आश्रमको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह सबैको संयुक्त प्रयास अपरिहार्य भएको गैँडाकोट नगरपालिका वडा नं १३ का वडाध्यक्ष पदम पौडेलले बताउनुभयो ।

उत्खननमा भेटिएको शिव मन्दिर र त्यसको गर्भमा भेटिएको शिव लिङ्गको आधारमा यहाँ शिवको भव्य मन्दिर रहेको पुष्टि हुने आश्रमका प्रमुख महात्मा पवित्रानन्द बताउनुहुन्छ । सेनकालिन समयको मन्दिर हुनसक्ने भन्दै यसलाई उस्तै शैलीमा पुनः निर्माण गर्नका लागि विभागले रु सात करोड ६९ लाख रकम विनियोजन गरेको छ ।

आश्रमका अध्यक्ष पुष्पराज घिमिरेका अनुसार यस क्षेत्रको विकासका लागि केही वर्ष अघि लगाइएका्े महायज्ञबाट ३० लाख रुपैयाँ चन्दा सहयोग सङ्कलन भएको थियो । उक्त रकम मध्ये समितिले १० लाख रुपैयाँको अक्षय कोष राखेको छ भने अन्य रकम यस क्षेत्रका भौतिक पूर्वाधार विकासमा प्रयोग गरिएको छ ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नवलपुरका संयोजक एवं मध्यविन्दु प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष जीवनराज सापकोटाले पुरानो महादेव स्थानका रुपमा रहेको यस स्थलको मौलिकता कायम हुने गरि विकास गरिनुपर्ने धारणा राख्नुहुन्छ । आश्रम वरपर रहेको जमिनलाई यसको मातहतमा ल्याउनुपर्ने बताउँदै सापकोटाले यसलाई प्राचीन मौलिकता कायम हुने गरी महादेव स्थान धार्मिक क्षेत्र विकास समितिका रुपमा राख्दै मधेशको पाशुपत क्षेत्रको रुपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो ।

धार्मिक पर्यटकीय गन्तव्यका साथै नवलपुरको देवचुली नगरपालिका वडा नं १ मा पर्ने शनिश्चरे ताल यहाँको अर्को आकर्षण हो । दिव्य मध्यवर्ती सामूदायिक बन उपभोक्ता समिति, शिसबार मध्यवर्ती उपभोक्ता समिति सहितका संघ संस्थाको पहलमा तालको विकास गर्न लागिएको छ ।

विसं २०३८ मा बौलाहा खोलामा आएको बाढीका कारण पुरिएको ताललाई पूर्ववत् अवस्थामा फर्काउन यतिखेर स्थानीयवासी लागिपरेको शिसबार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताउनुभयो । तालको संरक्षण र विकासका लागि सङ्घ सरकारबाट प्राप्त २० लाख र स्थानीय जनसहभागितासहित कुल रु २४ लाखको लागतमा ताल परिसरको व्यवस्थापन एवं संरक्षणका काम गरिएको उहाँले जानकारी दिनुभयो ।

पर्यापर्यटनका दृष्टिबाट अत्यन्त महत्वपूर्ण ताल वरपर एक सिङ्गे गैंडा, पाटे बाघ, घडियाल गोही लगायत विश्वका दुर्लभ बन्यजन्तु देख्न सकिन्छ । नजिकै बगरिहेको नारायणी नदी एवम् सिमसारयुक्त स्थान भएका कारण यस क्षेत्रमा ६०० भन्दाबढी प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।

उत्तरतर्फ देबचुली, दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्ज, नजिकै रहेको शास्वत धामले यसको गरिमा र महत्व अझै बढाएको छ । तालमा घुम्न आउने पर्यटकका लागि खान बस्नका लागि नजिकै रहेका शिसबार बोटे माझी होमस्टे र पिप्रहर सामूदायिक होमस्टे सञ्चालनमा छन् । पछिल्ला समयमा नवलपुर क्षेत्रमा हाल ११ वटा होमस्टे सञ्चालनमा आइसकेका छन् ।

त्रिवेणीधाम पारि रहेको वाल्मिकी आश्रम यहाँको अर्को आकर्षक गन्तव्य हो । यस आश्रममा माता सीता पाताल प्रवेश गरेको स्थल, लवकुशको जन्मभूमि, उनीहरूले अध्ययन गरेको पाठशाला, वाल्मिकी ऋषिको तपस्यास्थल, ऋषिमुनीहरूको यज्ञस्थललगायत तत्कालीन समयको झल्को दिने किसिमका सामाग्री तथा संरचना रहेका छन् ।

नवलपुर क्षेत्रमा रहेका ऐतिहासिक महत्वका गजेन्द्रमोक्षधाम, कैलाश आश्रम, वाल्मिकी आश्रम, मौला कालिका लगायतलाई समेटेर यहाँको धार्मिक पर्यटकीय विकास गर्न सकिने गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्धबहादुर गुरुङले बताउनुभयो । गण्डकी प्रदेशको नवलपुरमा रहेका धार्मिक पर्यटकीयस्थल सहित यहाँका मुक्तिनाथ, दामोदरकुण्ड लगायतका स्थानलाई समेट्दै यिनीहरूको प्रवद्र्धन र विकास गर्नु अपरिहार्य भएको उहाँको भनाइ छ ।

धेरै सम्भावना रहेर पनि ओझेलमा परेका नवलपुरका धार्मिक पर्यटकीय गन्तव्य समेट्दै यिनीहरूको प्रवद्र्धन गर्नुपर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापा बताउनुहुन्छ । वाल्मिकी आश्रमलगायतका स्थानको ऐतिहासिकता तथा मौलिकता जोगाएर पूर्वाधार विकास गर्न सकिएमा त्यसले समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासमा पनि टेवा पु¥याउने अर्का पूर्व अध्यक्ष डम्बरबहादुर केसीले बताउनुभयो ।

नवलपुरका क्षेत्र धेरै सम्भावना प्रवद्र्धनको पर्खाइमा रहेको होटेल व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष सन्तोष राना मगर बताउनुहुन्छ । यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्दै पोखरालगायतका पर्यटकीय स्थलसँगै आफूहरू पर्यटकीय साझेदारीका लागि आतुर भएको उहाँको भनाइ छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...