annapurna add

futeko sisa ncp

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध ओली निकट यमलाल कंडेलको नेतृत्वमा १८ जना सांसदले हिजो संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको निर्देशनमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपा भित्रको विवाद फेरि बढ्न थालेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान यहि विषयको वरिपरि झण्डै २ घन्टा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको छ ।

भेटवार्तामा प्रचण्डले ओलीलाई तत्काल प्रस्ताव फिर्ता लिएर पार्टी एकताका बाँकी काम टुंगो लगाउन आग्रह गरेका थिए । उनले भेटवार्तामा भने, ‘कर्णालीको विषयले बन्दै गरेको पार्टीको एकता फेरि विवादमा पर्ने देखियो । तपाईँले जे गर्न लगाउनु भयो, त्यो नितान्त गलत छ । पार्टी एकताको खिलापमा तपाईँ जानु भयो, यसले राम्रो गर्दैन । त्यसैले तत्काल यो मिलाउनुस् ।’ ओलीले पार्टीभित्रको असन्तुष्टिले त्यस्तो भएको बताएका छन् । उनले भने, ‘त्यहाँ पार्टीभित्र समस्या रहेछ । साथीहरुबीच आलोपालोको कुरा पनि भएको रहेछ । मैले कुरा गर्छु । मिलाएर अगाडि लैजानुपर्छ । यस्ता असन्तुष्टिलाई पनि सम्बोधन गर्नुपर्छ ।’

खुमलटारले पूर्वमाओवादीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लगाएर पार्टी एकता अन्तिम चरणमा पुगेको बेला ओलीले फेरि बखेडा झिक्न खोजेको निष्कर्ष निकालेको छ । प्रचण्ड निकट एक स्थायी समिति सदस्यका अनुसार पार्टी नेतृत्वको असफलता, संघीय सरकारको असफलताबारे पार्टीभित्र धेरै नेताहरुले प्रश्न गर्न थालेपछि दबाबमा परेका प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आफूमाथिको दबाब कम गर्नका लागि ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ काम गरेका हुन् । तर अन्ततः यसले पार्टीलाई नै हानी गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपालसँग अविश्वास प्रस्तावको विषयमा छलफल गरेका प्रचण्डले बिहान आफ्ना पक्षका वर्षमान पुन, जनार्दन शर्मा लगायतका कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग परामर्श गरेका थिए। स्रोतका अनुसार सो परामर्शपछि अविश्वासको प्रस्ताव फिर्ता गराउन प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने र त्यहाँबाट समाधान ननिस्के अन्य विकल्पमा जानुपर्ने सुझाव आएपछि प्रचण्ड बालुवाटार पुगेका हुन्।

प्रचण्डले कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे अन्य प्रदेशमा पनि त्यस्तै गतिविधि देखिने र यसले एकतामा समस्या पार्ने कुरामा सचेत रहनुपर्ने बताएका थिए। पूर्वमाओवादीका जनकमाण्डर पृष्ठभूमिका शाहीले २०७४ साल फागुन ४ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीको सपथ खाएका थिए। त्यसको दुई दिनपछि शाहीको नेतृत्वमा ६ सदस्यीय मन्त्रीमण्डल गठन गरिएको थियो। पूर्वएमाले पृष्ठभूमिका र हाल नेकपा कर्णाली प्रदेशका सह–इञ्चार्जसमेत रहेका नेता यामलाल कँडेलले कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि योग्य भएको दाबी गरे पनि एकताका बेला पूर्वएमाले र माओवादीबीच भागबण्डा गर्ने क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेश पूर्वमावादीको भागमा पारिएको थियो। त्यस लगत्तै कँडेल लगायत पूर्वएमालेका अधिकांश सांसदहरुले मुख्यमन्त्री शाही नेतृत्वको सरकारका कमिकमजोरी र त्रुटिमाथि निरन्तर प्रश्न उठाउँदै आएका थिए।

वास्तवमा शाहीको कार्यशैलीले कर्णालीमा नेकपाभित्र पूर्वएमाले ‘भर्सेस’ माओवादी समूह बन्न पुगेको थियो। लामो समय एमालेको केन्द्रीय राजनीति गरेका र मन्त्री पनि भइसकेका कँडेल मुख्यमन्त्री हुने योजना बनाएर गत निर्वाचनमा प्रदेश सभामा चुनाव लडेका थिए। कर्णाली प्रदेश सभामा पूर्वएमालेको मात्रै झन्डै बहुमत आएपछि मुख्यमन्त्री हुने उनको सपनालाई झन बल पुगेको थियो। पूर्वमाओवादीको भागमा परेकाले कालीकोटबाट निर्वाचित शाही माओवादीका १३ जना सांसदमात्र हुँदा पनि मुख्यमन्त्री बने। कँडेललगायत सांसदहरूले त्यतिबेला नै यसमा असन्तुष्टि जनाएका थिए। तर केन्द्रबाट गरिएको निर्णय भएकाले उनले चर्को विरोध गर्न सकेनन्। उनको असन्तुष्टि भने जारी नै थियो।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...