annapurna add

paru chamlagainरातको १२ बजेछ, निन्द्रा लाग्ने सुरसार नै छैन, मनमा अनेक कुरा खेलिरहेका छन्। छेउमा सुतेकी मेरी ५ महिनाकी छोरीलाई हेरे, कति आनन्दले सुतेकी छिन्, उसको मुहार हेरेर अलिकती आनन्द भए जस्तो भयो, साथै मनमा चिन्ता पनि।  दिनै समाचार सुनेर मेरो मनमा एकदम बेचैनी हुन्छ, बलात्कारका घटनाले मलाई एकदम गाह्रो बनाउछ, सुनेर मुटु फुट्ला जस्तो, के गरौं गरौ जस्तो, एकदम छटपटि हुन्छ मलाई।

अहिले समाजमा घटेको घटना मध्ये सबैभन्दा प्रमुख घटना नै बलात्कार र महिला हिंसा हो। सामान्य अवस्था मात्र पनि दिनहुँ ६ जनाको बलात्कार हुने गरेको छ यहाँ। दिनहुँ रुपमा घरेलु हिंसा कति भएका छन् कति, त्यसमा पनि धेरै आफ्नै घरपरिवार भित्र हुने हिंसा छन्, जुन लुकाएर राख्ने कोसिस गरिन्छ। आज एउटी नारी कतै सुरक्षित छैनन्, उसले अनेक पिडाको सामना गर्नुपर्ने हुन्छ। एउटी नारी गर्भमा मारिन्छे, अलिक ठुलि हुँदा बलात्कृत हुन्छे, बिहेपछि श्रीमान मर्दा बिधवा बनेर बस्छे, अनि फेरि बुढी हुँदा त्यही नारी बोक्सी हुन्छे। हो हाम्रो समाजले नारीलाई यहि दर्जा दिएको छ। समाज, धर्म, संस्कृति र पितृसत्तात्मक सोचले गर्दा नारीले जन्मेदेखी मरुन्जेल सम्म पिडा मात्र भोग्नु परेको छ।

छोरी जन्मिदा म एकदम खुशी छु। उसको स्याहार सुसार र लालनपालनमा मैले सबै समय खर्चेको छु। उसलाई भोक लाग्यो कि, निन्द्रा लाग्यो कि, फोहोर भयो कि, एक्लै भएर डर लाग्यो कि भनेर म जति बेला नि चिन्तित नै हुन्छु। काेही नहुँदा उ राम्रो सँग खेलेर बस्दा पनि उसलाई एक्लै छाडी चियासम्म खान मन लाग्दैन।

पहिलो सन्तान भएकाले मैले केही जानिन कि वा केही कमि कमजोरी भयो कि जस्तो लाग्छ। र यो सब-सबै आमाहरुलाई लाग्छ नै। आफ्नो सन्तानति नै सबै भन्दा ठुलो सम्पत्ति हो, जसको माया अपरिहार्य हुन्छ।

यति हुँदाहुदै पनि कुनै दिन मेरो छोरीलाई केही भयो भने! म यो सोच्न सम्म सक्दिन, सायद कुनै आमाले सोचेका हुदैनन् होला तर अहिले त दिनहुँ त्यस्तै त्यस्तै घटना भइरहेका छन्।

निर्मला पन्त बलात्कार र हत्याकाण्ड हाम्रो समाजमा भएको दर्दनाक हत्याकाण्ड मध्ये एक हो। बि.स. २०७५ साउन १० गते कंचनपुर जिल्लाको भिमदत्त नगरपालिकाकि १३ बर्षिय बालिकाको बलात्कारपछि हत्या भएको थियो। जुन घटनाको आज सम्म दोषी पत्ता लागेको छैन। त्यस्तै अहिले २०७७ असोज ०८ गते बझाङ जिल्लाको मष्टा गाउपालिकाकी १२ बर्षिय सम्झना बिककाे पनि बलात्कारपछि हत्या भएको छ।

सम्झनाको हत्या आरोपमा भने प्रहरीले २० बर्षिय राजेन्द्र बोहोरालाई प्रकाउ गरेको छ। प्रहरीका अनुसार राजेन्द्रले हत्या स्विकार गरिसकेका छन् र उनले यसअघि पनि सोही क्षेत्रकी १३ बर्ष कि बालिकालाई बलात्कार गरेका साथै विभिन्न पराधिक क्रियाकलापमा संलग्न रहेको पाइन्छ। यसपछि पनि अन्य थुप्रै घटनाहरु सार्वजनिक भइरहेका छन्। काका ससुरा बाट ३ महिना सम्म बुहारी बलात्कार, बस मै बन्धक बनाएर २ दिन सम्म सामुहिक बलात्कार, घाँस काट्न गएकी किशोरी बलात्कार, शिक्षकद्वारा बिद्यार्थी बलात्कार, हुदा हुँदै आफ्नै बाबू बाट छोरी र आफ्नै दाजु बाट बहिनि बलात्कार भएको घटना पनि सार्बजनिक भए। उफ् ! यस्ता कति घटनाहरु त बिश्वास गर्न नसक्ने जस्ता हुन्छन्। यस्ता घटनाहरु दिनहुँ रुपमा झन झन बढेको पाइएको छ। बिगत चैत्र लकडाउन देखि त झन बलात्कार र महिला हिंसाको घटनामा वृद्धि भएको पाइएको छ। यी त केबल उदाहरण मात्र हुन्, धेरैजसो घटना त सार्बजनिक नै हुन पाउदैन, परिवार कै मिलेमतो मा घटना सामसुम बनाइन्छ।

यी सब घटना सुनेपछी एउटी आमालाई कस्तो हुदो रहेछ मैले महसुस गरे। र जुन आमाले भोगेकी छिन् उसलाई कस्तो होला मैले कल्पना सम्म पनि गर्न सकिन। आमाबुवाले खाइ नखाई गरेर जन्माइ हुर्काएको आफ्नो कोमल, अबोध नानिहरु यसरी बलात्कार हुँदा एउटी आमा र परिवारमा कस्तो पिडा होला त्यो महसुस गर्न सकिँदैन। सोच्नस् त निर्मला पन्तकी आमा, सम्झना बिककी आमा र अन्य थुप्रै आमाहरुलाई कस्तो भएको होला ! म एक शिक्षित आमा भएर पनि आफ्नो बच्चामाथी हुन सक्ने खतराबाट डराउदै छु भने बिकट गाउका अशिक्षा र गरिबीबाट पिरोलिएका आमाहरुको मनमा कस्ता कुरा खेल्दा हुन्।

उनिहरुले बलात्कार र महिला हिंसाका बिरुद्व आवाज उठाउने, शोषणका बिरुद्व बोल्ने, आफ्ना नानीहरुलाई घरमा यौन शिक्षामा बारेमा जानकारि दिने र बच्चाहरुलाई अन्याय र अत्याचारका बिरुद्व सधैं लड्न सक्ने बनाउन सक्छन् त ? पक्कै पनि यो धेरै गाह्रो छ। आजकाल यहाँ न्याय र सत्य पैसा र पावरमा बिक्ने गरेको छ। बिशेष गरि शोषण हुनेहरु पनि आर्थिक अवस्था कमजोर भएको, निमुखा बर्ग, दलित वा पिछडिएका समुदायका बढी छन्। त्यसमा पनि ११ देखि १५ बर्ष उमेरका कलिला नानीहरु धेरै छन् जसलाई समाज र मान्छेको कुरुप अनुहारको बारेमा धेरै ज्ञान हुदैन।

यसरी सर्सती र्हेर्दा आखिर के रहेछ त बलात्कारको कारण भन्दा पुरुष साथिहरुले नारिले लगाएका छोटा कपडा र रहनसहन नै भन्ने गरेका छन्। तर यदी त्यस्तो हुन्थ्यो भने ११/१२ बर्ष का स्कुले बच्चाहरु काम गरेकै ठाउमा कसरी बलात्कार हुन्थे।

अनि यहाँ ०९ महिनाका बच्चा देखि ६० बर्षका बृद्वा आमाहरु पनि बलात्कार नभएका हुन् र। त्यसैले यहाँ कपडा दोषी नभएर बलात्कारीको मनसाय वा उसको मानसिक स्थिति कै दोष हो। अनि फेरि हाम्रो समाज पितृसत्तात्मक सोचबाट लिप्त छ, पुरुषलाई नै प्रमुख ठान्ने र महिलालाई हिंसा गर्ने गर्दछ। पितृसत्तात्मक व्यवस्थाका कारण सदियौँ देखि नारी विभेदको शिकार हुँदै आएका छन् ।

जसको राम्रो उदाहरण बोक्सीको आरोप पनि हो। अपवाद बाहेक कुनै पनि पुरूषलाई बोक्सी भनिँदैन । बोक्सीको आरोपलाग्नेहरू प्रायः गरीब, दलित, असहाय, बृद्धहरू रहने गरेका छन् । अझ एकल महिलाहरू यसको बढी शिकार हुन्छन् । अर्थात आर्थिक रूपले विपन्न त्यसमा पनि एकल महिलाहरू बोक्सीको आरोपमा शोषित हुने गरेको छन्। रूपले सुन्दर, पढेलेखेका, सम्पन्न परिवारका कुनैपनि महिलालाई बोक्सी भनिएको एउटा पनि उदाहरण छैन।

यस बाहेक दाइजो प्रथा, घुम्टो प्रथा, बाल बिवाह, छाउपडि प्रथा जस्ता अन्य प्रथाहरुले महिला हिंसालाई झन प्रोत्साहन गरिरहेकै छन् । यस्तो लाग्छ कि यहाँ महिलाहरु को कुनै ठाउ नै छैन, महिलाहरु भनेका घरको काम गर्न, पुरुषको शारीरिक आवस्यकता पूरा गर्न र बच्चा जन्माउन मात्र प्रयोग गर्ने चिज वा बस्तु हो।

दिनहुँ हुने बलात्कारका घटना मेरो दिमागमा के प्रश्न आउँछ भने, के पुरुषलाई हाम्रो यौनाङ मात्र चाहिएको हो त ? हामी उनिहरुको शारीरिक आवश्यकता पूरा गर्न मात्र हो त ? माया, ममता, साथ, सहयोगको कुनै अर्थ नै भएन त ? अनि यो सब घटना देखेर, सुनेर वा भोगेर म जस्तै एउटी आमाको मन कति अमिलो हुदो हो।

मेरै छिमेकी दिदीले एकपल्ट के भन्नुभयो भने," मलाई त छोरी मनपर्दैन, छोरी जन्मायो भने त बलात्कार गरिदिन्छन्"। म उहाँका कुरा सुनेर छक्क परे, एकदम दुखी भए। उहाँ पढेलेखेकी २ छोराकी आमा हुनुहुन्थ्यो।

उहाँ जत्तिको मान्छेले त्यसो भन्दा मलाई लाग्यो कि, अनि ती छोरीलाई बलात्कार गर्ने त तिनै कसैका छोरा हैनन् र ? अर्को कोहिले भन्छ छोरीलाई पढाएर के गर्नु, अर्काको घर जाने जात, छोरी भनेका पराई हुन्। एउटा परिवारमा छोरा जन्मियो भने खुशी हुन्छन्, हामिलाई पाल्छ बुढेसकालको साहारा हुन्छ भन्छन् अनि छोरी जन्मिदा निराश हुन्छन्। जन्मेकै दिनदेखि छोरी पराई भैहाल्छे। अझ छोराले त मर्दा क्रिया गर्छ नि त भन्छन्। बाचुन्जेल राम्रो गरोस् नगरोस् मर्दा चाहिँ क्रिया गरिदियोस् भन्ने चाहाना हुन्छ मान्छेको। यिनै कुराहरुले गर्दा छोरिमान्छेहरु हेपिदै आए, उहिले हजुरामाहरु हेपिनु भयो उहाँहरु ले आफ्ना बुहारीलाई त्यसै गर्नुहुन्छ अनि फेरि नातिनीलाई पनि भन्नू हुन्छ हाम्रो पालामा यस्तो थियो हेर हेर तिमिहरुको चैन, अनि एउटि छोरी फेरि घर भित्रै दबिएर बस्छे।

यी सबका कारण के त ? के हामिले कहिल्यै छोरा र छोरीलाई एउटै नजरले हेर्याैं त ? समान अवसर दियौ त ? छोराले पाल्ने हुँदा छोरिले पाल्न सक्दिन त ? छोरीलाई पढाउनु हुदैन तर बुहारी किन पढेको चाहियो ? मरेपछी त सकियो हैन र, बाचुन्जेल साथ हुनु राम्रो गर्नु ठिक कि मरेपछी क्रिया गर्नु ठिक ? छोरी जन्मिदा बलात्कार गरिदिन्छन भनेर छोरी नजन्माउने भने के बलात्कारि छोरा जन्माउने त ? कि छोरालाई राम्रो संस्कार सिकाउने, छोरीलाई यौन शिक्षा दिने ? यस्ता विषयहरुको खुलेर बहस हुन जरुरी छ। छोरी पाउन डराउने, दुखी हुने वा छोरिलाई घृणा गर्ने आमा पनि त एउटी छोरी नै हुन् नि।

यसरी सबै बिसयबस्तु हेर्दा समाजमा छोरिकी आमा भएर जिउन धेरै गाह्रो भन्ने गरेको मैले सुनेकी छु। तर छोरिलाई छोरी भएर बाच्न दिएको थोरै मात्र पाएकी छु। हामिले छोरिलाई कहिले खुल्ला रुपमा बाच्न दियौ र ? उसका भावना चाहानालाई कहिले बुझिदियौ र ? जुन कुरामा पनि रोक लगायौ, लाउने कुरा, हिड्ने कुरा, खाने कुरा, बोल्ने कुरा सबैमा। सुरुमा त हामिले छोरिलाई बिश्वास नै गरेनौं। यसले केही गर्न सक्दिन, जान्दिन, बुझ्दिन भन्छौं। धेरै पढायो, बाहिर जान दियो भने छोरी पोइला जाली भनेर त हाम्रै आमालाई कतिले भनेका थिए। छोरीका लागि सबैकुरा प्रतिबन्ध गर्यौ, अवसरका कुनै बाट खोलेनौ, उसलाई कहिल्यै साथ दिएनौ।

प्रिय छोरीका आमाबुवाहरु, तपाईहरु एकपल्ट मात्र छोरीलाई जिउन दिनुहोस्, केही गर्न दिनुस्, बिश्वास गरिदिनुहोस्, साथ र हौसला दिनुहोस् एकदिन त्यही छोरीले तपाईहरुको नामलाई उच्च पारिदिन्छे। उसलाई सानैदेखी राम्रो शिक्षा दिक्ष्या दिनुहोस्,। राम्रो नराम्रा कुरा सिकाउनुस्, अझ भन्ने हो भने यौन शिक्षाका बारेमा खुलेर कुरा गर्नुहोस। बलात्कार हुनुमा छोरीको कुनै गल्ती नै छैन, न त तपाईको हेरचाहमा कुनै कमि भएर नै हो, यो त छोरालाई राम्रो संस्कार नदिएर भएको हो।

आउनुहोस् प्रिय आमाहरु सबैले छोरी पाएकोमा गर्व गरौं, हामिले यो देशको लागि एउटा असल नागरिक जन्मायौ। हामी छोरा र छोरिमा अन्याय नगरौं। छोरिलाई आफ्नो इच्छा अनुसार खुलेर जिउन दिउ, अवसर दिउ। उसलाई सधैं अन्याय अत्याचार र गलत प्रवृत्ति बिरुद्ध बोल्न सिकाउ। सानैदेखी उसका भावना बुझै, उसले के भनेरहेकी छिन् सुनौ र समाजमा दिनहुँ भइरहेका बलात्कार र महिला हिंसाका घटना बाट उसलाई बचाउ र बच्न सिकाउ।

लेखक : पारु चौलागाईँ

याे पनि पढ्नुहाेस् :
रजस्वला दोष मुक्तिका लागि व्रत बस्ने कि महिला मुक्तिका लागि बिद्रोह गर्ने ?

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...