गाईमारा भर्सेस् भाइमारा : यश लामा

स्कुल पढ्दादेखि नै
नगर्नु पर्ने शङ्का गर्थे
साथीहरूले मलाई ।

गुरूहरू
आपसी कानेखुसी गरेको सुन्थेँ
साउती मारेको देख्थेँ
यसको पुर्खाले त गाई खान्छ गाई
सायद अहिले पनि खाँदो हो ।

जब म निकै कठिनताका बाबजुद
सिक्दैथेँ भाषा
जस्तो कि
कति गाह्राे हुन्छ
गह्रौँ भारी बोकेर गन्तव्य पुग्न
त्यतिबेला मलाई जिस्काएर भाग्थे
पर… पर… सखाहरू
भोटे मरे डाँडामा चामल पिठो भाँडामा ।

म बालाई सुनाउँथेँ
आबा ङादा
बामनला कोलाकादेसे जोराङ पाङ्जी
बा सालिन हुनुहुन्थ्यो
मात्र यत्ति भन्नुहुन्थ्यो
मिला लिच्छा थाब्राऊ
खुरू खुरू पढ्दिऊ ।

काकालाई सुनाउँथेँ
आब्च्याङ ङादा
बामनला कोलाकादेसे जोराङ पाङ्जी
हाला थे ङादा ओन्गो
दारेम् तिगाई बिजिबिसाम्
पुङ्गो स्वा ताइन्ना, ङा मुला
काका अलिक मुढी हुनुहुन्थ्यो ।

तर……
च्याङ्बाले भने जवाफ फर्काइहाल्थ्यो
ओई ! काठा निउ खोज्छस् ?
आइज जुध्ने ?
सिङ्गल सिङ्गल आइज ।

देश कहाँदेखि कहाँ पुग्यो
म पनि ठूलो भएँ ठूलो
कयौँ वादहरू पनि निलियो
धर्मनिरपेक्षता पनि देखियो
सङ्घीयता पनि देखियो
विद्रोहीहरूले गाई काटेर
भोज गरेको पनि देखियो
तैपनि मलाई अपराधी सम्झेर हेर्छन्
केही जोर अपराधी आँखाहरूले ।

म त मुस्कानसँग हारेको मान्छे
रिसलाई जितेको मान्छे
कत्तिले मेरो जातसँग जोडेर
कुकुरको अगाडि भोटे जोडिदिए
कत्तिले ताल्चाको अघि
तैपनि चुपचाप छु म
म सोच्छु सकारात्मक सोच्छु
कुकुरहरू इमान्दार हुन्छन् भन्ने बुझ्छु

ताल्चाहरू बलिया हुन्छन् भनेर बुझ्छु ।
अब त जरा खोज्न सक्ने भइसकेको छु म
त्यतिबेला मेरा बालसखाहरूको
मस्तिष्कमा रोपिएको जरा ?

तैपनि अवशेषहरू
रिसको नाममा
खुसीको नाममा
दिललग्गीको नाममा
आइलाग्ने गर्छन् मसँग ।

हली सम्झिन्छन् मलाई हली
म चेतको ढोकामा देख्छु
लिखुरे चुच्चो ताल्चा
र ताल्चामा देख्छु
लामो डोरो ।

जसले मलाई स्कुल पढ्दा जिस्काउँथे
ऊ बुढी गाई लिएर जान्छ
मेरो घरको आँगन हुँदै सीमा पारिसम्म
पछि पछि पुच्छर समाउँदै
हिँड्छ उसको छोरो
फर्किँदा खसी डोहोर्‍याउँदै ल्याउँछ
छोरो ललीपप चुस्दै आउँछ ।

सम्धी सञ्चै छ भनी सोध्छ
म एकैखाले जवाफ दिन्न घरिघरि
मात्रै यत्ति सोच्छु
तन्नेरी खसीसँग बुढी गाई किन साट्यो ?
उसको छोराले पुच्छरको दाम किन माग्यो ?
फेरि एकोहोरो रिस किन गरिरह्यो ?

लक्ष्मी भनिने
राष्ट्र प्रतीक मानिनेको पनि
किन मोलमोलाइ गर्‍याे ?
किन बेचियो ?

किन्नेले मात्र खाने प्रयोजनले किने
बेच्नेले के प्रयोजनले बेचे ?

गाई खाने अपराधी भए
कथित धार्मिक आस्था बेच्ने
र कथित देशकै प्रतीक बेच्ने
देशमाराहरू सज्जन भइरहे ।

मलाई कठघरामा उभ्याइयो
उसले गलाभरि माला पहिरिएर हिँड्यो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..