जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल : १० पुर्व उपकुलपति

जनतालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनका लागि सरकारलाई गम्भीर हुन पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। मंगलबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वउपकुलपतिहरूले कोरोनाबाट बच्ने साधन खोप नै भएको उल्लेख गर्दै यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका हुन्। पूर्वउपकुलपतिहरुले कमिशनखोरको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्टा भएको बताएका छन् ।

पूर्वउपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाश जंग शाह, कैलाशनाथ प्याकुरेल, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यको विज्ञप्तिमा जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति :

नेपालमा कोरोना संक्रमणको गति अति तीब्र रूपमा बढेको छ र यो गति संक्रमणको उच्च गति भएका विश्वका मुलुकहरूमध्ये नेपाल पनि परेको छ । कोविड–१९ बाट बच्न उपलब्ध साधन भनेको अहिले पनि केवल खोप नै हो । तर नेपालमा खोप प्रयोगमा अत्यन्त अव्यवस्था र अस्तव्यस्तता देखिएको छ । न प्राथमिकता तोकिँदा सामाजिक न्यायको कदर गरियो न सबै उमेर समूहका लागि खोप पूर्ण मात्रा उपलब्ध हुने गरी वितरणमा ध्यान दियो । कमिशनखोरहरूको अमानवीय अवरोधप्रति उदासिन भएर बस्ने प्रशासनको भूमिका निकृष्टताको पराकाष्ठा हो । जनताको अभिभावकको भूमिकामा सरकार पूर्णतया असफल प्रमाणित भएको छ ।

कोविशिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने जनताले खोप पाउन सकेको छैन । उमेर समूह ६० देखि ६४ वर्षसम्मकाले पहिलो मात्रा पनि पाउन सकेको छैन । यी समस्याहरू सुल्झाउन सरकार के गरिरहेको छ, जनतालाई थाहा छैन । सरकारको यो निष्क्रियता प्रति खेद प्रकट गर्दै खोप लिनै नपाएका जनता र खोपको पहिलो मात्रा लिइसकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गरियोस् भनी हामी पूर्वउपकुलपतिहरू सरकारसग माग गर्दछौँ ।

महेशकुमार उपाध्याय 

केदारभक्त माथेमा
सुरेशराज शर्मा

कमलकृष्ण जोशी
नविनप्रकाश जङ्ग शाह

कैलाशनाथ प्याकुरेल
तोरणबहादुर कार्की

खगेन्द्र भट्टराई
हिराबहादुर महर्जन

नरेशमान बज्राचार्य

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..