जङ्गली च्याउ र बाँसको तामाले छाक टार्दै बादी परिवार

शीतगङ्गा नगरपालिका– ६ दाङगसिङगको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोराले छाएको सानो झुप्रोमा बस्छ । वर्षाको समयमा सबै घर चुहिएर न बस्न मिल्छ न सुत्न नै मिल्छ ।

पाखापानीमा फाटेको त्रिपाल र बोराले छाएको घरमा बसेका टीकाबहादुरको परिवारमा बस्न मात्र होइन, खानका लागि पनि अन्न छैन । उहाँले सुनाउनुभयो, “पहिले पहिले गाउँमा डुलेर गाउँलेले दिएको अन्न र पैसाले परिवार पालेका थिए, अहिले कोरोनाले गाउँ डुल्न पनि दैदैनन्, घरमा खाने अन्न छैन, कति दिन त जङ्गलको च्याउ र बाँसको तामा खाएर छाक टारेका छौं ।”

श्रीमती गुमाउनु भएका टीकाबहादुरका पाँच छोराछोरी छन् । उहाँ आफै अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । एक हात र एक खुट्टाका आंैला गाँसिएका छन् । उहाँले कसैकामा मेलापात गएर पनि काम गर्न सक्नुहुन्न । “साना बालबालिका पाल्न पनि गारो छ, घर यस्तै छ”, गहभरी आँशु झार्दै उहाँले भन्नुभयो, “परिवार कसरी पाल्ने ? गाउँभर डुल्थे गाउँलेले दया गरेर कसैले अन्न र कसैले पैसो दिन्थे, त्यही पैसा र अन्न घरमा लगेर छोराछोरी पालेको थिएँ, अहिले कोरोनाका कराण गाउँ हिँड्न पनि भएन, गाउँमा हिँड्न हँुदैन् रोग सर्छ भन्छन्, अहिले खाने खर्चै छैन, खाने खर्च नहँुदा जङ्गलमा गएर च्याउ खोजेर ल्याएर कहिले च्याउ मात्र खान्छांै, कहिले बाँसका तामा काटेर जेनतेन छाक टारेका छौं ।”

उहाँ सामान्य खालको घर, त्यो पनि पानी बलेनी नै नपर्ने छानो नै नभएको घरमा दिन बिताउन बाध्य हुनुभएको छ । उहाँले भन्नुभयोे, “मनभरी पीडा छ, मनमा सन्तोष छैन्, नत बस्ने घर नै छ, न खाने गाँस छ, हाम्रो पीडा कसले कहिले बुझिदिने, हाम्रो पीडा सुन्ने कोही छैन, पटकपटक घर बनाउने टिन दिने भनेर आश्वासन दिए पनि हामीलाई अहिलेसम्म दिएनन्, गाउँमा सरकारी टिन लिएर लगाएको हामीले नै देखिरहेका छांै ।”

कोभिड र गरिबीका नाममा थुप्रै राहातका प्याकेज र कार्यक्रम आए तर पनि यो परिवारलाई कसैले देखेको छैन् । कसैले राहात दिएको छैन् । उहाँहरुको पीडा जस्ताको तस्तै छ । दाङगसिङगको पाखापानीकै २८ वर्षीय बोमु बादी शारीरिक हिसाबले पनि अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ घरमै बसिबसी मादल बनाएर परिवारको गुजरा चलाउँदै आउनुभएको थियो । अहिले उहाँ निकै पीडमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो त घर भन्ने भएन, बरु ठूलो रुखमुनी गएर बसे सुरक्षित हुन्छांै जस्तो लाग्न थाल्यो, घाम पानीसँग त लडेकै छांै, भोकसँग पनि लड्न परेको छ, धेरै दिनभयो खाना पूरा पेट खाने स्थिति छैन ।”

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणसम्मको प्रक्रिया अगाडि बढाइ खातासम्म खोलेको तर अन्तिममा आएर काम हुन नसकेको शीतगङ्गा– ६ का वडाध्यक्ष ऋषि रेश्मीले बताउनुभयो । रेश्मीले भन्नुभयोे, “निकै पीडादायक स्थिति छ, हामी गम्भीर छांै, राहत दिने गरी यस वर्ष सिफारिस गरेर काम अन्तिममा पुग्दा पनि पैसा दिन सकिएन, कर्मचारीले ढिला भो काम गर्न सकिएन, हामी निकै विवश छांै, यो वर्ष जसरी पनि काम समयमै गर्ने योजनामा छौं ।”

योजना तथा कार्यक्रमको प्रक्रिया नै ढिलो गर्दा काम गर्न नसकिएको नगरपालिका प्रमुख प्रशासकीय प्रेमबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “असार मसान्तको अन्तिम दिनसम्म उहाँहरु खाता खोल्ने काम गर्दै हुनुहुन्थ्यो, सरकारले काम नगर्दा अहिले काम हुन सकेन, अन्तिममा कामको पनि चाप भयो ।”

धेरै पटक समस्या राख्दा पनि वडा र नगरपालिकाले व्यवस्था गरेको जनताको समस्याप्रति जिम्मेवार नभएको सोही वडाका सञ्चारकर्मी विक्रम आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “बादी समुदायका केही बस्तीको अवस्था हेर्दा निकै पीडादायी नै छ, कति पटक भन्नु जनताको काम गर्नलाई कसले रोकेको हो, पहँुचका आधारमा मात्र काम गर्ने आवाज विहीनहरुको आवाज कहिले सुन्ने ?”

शीतगङ्गा–६ दाङसिङ पाखापानीमा बसोबास गर्दै आएका बादी समुदायले परम्परागत रुपमा मादल बनाएर तथा मर्मत गरेर त्यसबाट आउने आर्थिक आम्दानीले जीविकोपार्जन गर्दै आएका थिए । पछिल्लो समय कोभिड–१९ को महामारीका कारण स्थानीय रुपमा तिजको नाचगान तथा दिपावलीमा नाचिने देउसी भैली सञ्चालन नहुँदा उहाँहरु अन्य पेशा व्यवसाय अगाल्न बाध्य छन् ।

पहिले साउन सङ्क्रान्तिदेखि निरन्तर माघसम्म विभिन्न पर्वमा काम गर्ने गरेको बोमु बादीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले मादल बनाएर सिजनमा रु एक लाखदेखि एक लाख ५० हजार आम्दानी हुन्थ्यो । परिवार पाल्न सजिलो थियो, तर आजभोलि मादल बिक्री नै छैन, मर्मतका लागि पनि कोही आउँदैनन् ।”

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..