भक्तपुरमा बिस्केट जात्रा आजदेखि, यस्तो छ इतिहास

bisket jatra

भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा आज (शनिबार) देखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ । तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गर्दै जात्रा मनाउन स्थानीयपालिकाले तयारी गरेको छ ।

आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु हुँदैछ। भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने छ।

आज बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे नित्य पूजा सम्पन्न गरिएको छ । त्यस्तै बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा गरेका छन् । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाइएको भैरव र भद्रकालीको रथ ३५ फिट अग्लो एवं तीन तले छ । यो रथमा करिब १० फिट अग्ला चारवटा काठेपाङ्ग्रा छन् ।

बिस्काः अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा यो जात्रा मनाउने गर्दछन् । जात्रामा भैरवको रथलाई टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजानका लागि तान्ने परम्परा छ ।

लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु गर्ने प्रचलन छ । जात्रा नयाँ वर्षको चार दिनपछिसम्म अर्थात् आठ रात नौ दिन मनाउने प्रचलन छ । यो जात्रा भैरवनाथको रथ तानेर सुरु हुन्छ भने समापन पनि भैरवनाथको रथ तानेरै गरिन्छ ।

बिस्केट जात्रामा नौ दिनसम्म विभिन्न जात्रा हुने भए पनि मुख्य गरी सुरुको दिन तौमढीमा रथ तान्ने, चैत मसान्तमा ल्यासिंखेलमा इन्द्रध्वजासहितको लिङ्गोे उठाउने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते टौमढीमा भैरवको रथ तानेर मनाउने गरिन्छ ।

जात्रा वैशाख ५ गते भैरवको रथलाई तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ । बिस्काः जात्रा बिषेशत भक्तपुरमा तथा धापासि, तोखा र थिमिमा बार्षिक रूपमा मनाइने पर्व हो । यो जात्रा खाइ संल्हुका दिन मनाइने गरिन्छ। भैलः (भैरवनाथ)को प्रतीक मानिने ल्योसिं तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी साँझ ढालिन्छ । विस्केट जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा ठड्याइन्छ । पचपन्न हात लामो उक्त ल्योसिं तान्त्रिक विधिपूर्वक दश कर्म विधान गरी ढालिन्छ ।

ल्योसिं ठड्याउनुअघि ल्योसिंको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त ल्योसिं ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर ल्योसिं ढालिन्छ । ल्योसिंको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध विस्केट जात्राको ल्योसिं हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविदहरू बताउन्छन् ।

बिस्काः जात्रा ‘खाइ संल्हु’का दिन मानाइने गरिन्छ। नेवा: सभ्यतामा सौर्यचन्द्रमासको प्रचलन अनुसार विभिन्न ‘संल्हुहरू मनाइने गरिन्छ। यसै क्रममा खाइ संल्हु भन्ने पनि नेवा: सभ्यताको महत्त्वपूर्ण चाड हो। यस दिन उपत्यकाका धिनाच्व, सिच्व, फूच्व डाँडाहरू चढ्ने र मेला भर्न जाने गरिन्छ । क्वाति भनेको नेवा: परिकारहरू मध्ये एक महत्त्वपूर्ण परिकार हो, जासलाई तितो बनाएर खाइ क्वाति बनाइन्छ। खाइ संल्हु पछि अर्को सौर्यमासिक पर्व भनेको हाम्व: संल्हु हो, जुन अरु समुदायहरूमा माघे संक्रान्ती भनेर मनाइन्छ। यी दुई संल्हु बाहेक अन्य सबै वर्षभरिका सम्पूर्ण परम्परागत चाड, पर्व, जात्रा, उत्सवहरू चन्द्रमासको तिथि अनुसार मनाउँछन् । नेपालमा विक्रम संवत भित्रिनु अघिदेखि नै नेवा:हरूले संल्हु(संक्रान्ती), पुन्हि(पूर्णिमा), आदि मनाउने गरेको कुरा पाँचौ शताब्दीका लिच्छविकालीन अभिलेखहरूबाट थाहा पाइन्छ ।

खाइ संल्हु लाई केन्द्र बनाएर मनाइने बिस्काः जात्रा सौर्य मास पात्रो अनुसार मनाइन्छ । बिस्काः जात्रालाई विक्रम संवत्‌सँग जोडेर विक्रम संवत् अनुसारको नव वर्षको उपलक्ष्यमा गरिने जात्रा भनेर भ्रामिक प्रचार गरेको पाइन्छ । विक्रम सम्बतको सुरुवात भारतको उज्जैनमा राजा विक्रमादित्यबाट सुरु भएको थियो।

प्रथमतः प्राचीन ऐतिहासिक घटनावलीहरू र अभिलेखहरू हेर्दा पहिले पहिले बिस्काः जात्रा सौर्यमासको पात्रो अनूसार नभई चन्द्रमासको पात्रो अनुसार मनाइने कुरा ज्ञात हुन्छ । मल्लकालको मध्यतिर पनि बिस्काः जात्रा ख्वप(भक्तपुर)मा “ल्योसिं थानेगु” र भैल:द्य:को रथ तान्ने जात्रा समेत चन्द्रमास अनुसार गरिन्थ्यो। नेपाल राष्ट्रिय अभिलेखालयस्थित हस्तलिखित ग्रन्थ लगत नं १६९६, माइक्रोफिल्म नं ए ३०१ को १२ को पृष्ठ संख्या २ मा यसको बारे प्रमाण गरिएको छ।

बिस्का: जात्राबाट भएको एउटा भ्रम मध्ये नेपालको इतिहासमा देखापर्ने तीन जना शिवदेव राजा मध्ये यहाँ भनिएका शिवदेव दि्वतीयले विक्रम संवत् चलाएको भनेर पनि भन्छन्। तर ऐतिहासिक अभिलेख अनुसार शिवदेव द्वितीयको ६९० ई. देखि ७१४ ई. सम्मका शिलालेखहरू भेटिएका छन् । यस हिसाबले यो भ्रम फैलाउन खोजेको पनि अप्रमाणित हुन्छ ।

विक्रम संवत् र बिस्का: जात्रा एकै व्यक्तिले चलाएको होइनन्। विक्रम सम्बतको उत्पत्ती भारतको उज्जैनमा सुरु भएको संवत् र नेपाल खाल्डोमा रही आएको संस्कृती एउटै हो भन्न खोज्नु नै मौलिक संस्कृतिमाथी वर्चस्व जमाउन खोज्ने प्रयास थियो। नेपालमा विक्रम सम्बतको सुरुवात केवल राणा काल चन्द्र समसेरको पालोमा भएको थियो। भारतक विक्रम सम्बत मा गते हुँदैन। चन्द्र समसेरले नेपालमा ल्याउँदा गते प्रणाली सुरु गरेर औपचारिक संवत बनाए। बिस्का: जात्राको सुरुवातलाई राणा कालीन राजनीतिक घटना सँग जोड्नु अत्यन्तै अस्वभाविक हो। नेवा: पर्वहरू तिथि अनुसार मनाइने भएकोले र बिस्का: जात्रा सम्वन्धी घटनावली र अन्य अभिलेखहरूमा मिति उल्लेख गर्दा विक्रम संवतको उल्लेख कतै नहुनुले पनि बिस्का: जात्राको सम्वन्ध विक्रम सम्बतसँग नभएको थाहा हुन्छ । बिस्का: जात्रा बारे धेरै अपव्याखा र भ्रमात्मक प्रचार नभएका होइनन्। सर्वप्रथम त भारतीय संबत लागु गरेको घटनाक्रमसँग जोड्न खोज्नु नै सांस्कृतिक वर्चस्ववादी कदम थियो। यस माथी बिस्का: जात्रालाई मूलधार मिडियाले कहिल्यै बिस्का: जात्रा भनेर प्रस्तुत गरेन, यसलाई बिस्केट, बिस्कुट हुँंदा हुँदै बिस्कटे, बिस्कुटे जात्रा भनेर अपमानको सीम समेत राखेनन्।

विभिन्न राजाहरूको कालन्तरमा हरेक नेवा: जात्रामा अझै शोभा थप हुने काम गरियो। यो धेरै जात्राहरूमा भएको छ। पहिले गर्दै आएको जात्रामा अझै पर्वहरू थपेर झन उत्साहजनक र शोभनीय बनाउने कार्यहरू भए भने गोर्खाली विस्तारवाद पछि यसको अवस्था बिस्तारै बिग्रँदैछ। महेन्द्र कालमा बनाएको गुथि संस्थानले स्वायत्त गुथिहरूको जग्गा रैकर बनाएर आत्मनिर्भर र स्वसंचालित गुथिहरूलाई राज्यको खैराद सहारा लिन बाध्य बनाइदियो। कतिपय जात्राहरू चल्न नसक्नुको मुख्य कारण नै गुथि सिस्टम माथी राज्यको प्रहार थियो।

भक्तपुरमा “ल्योसिं” भनेर चिनिने काठमाडौँ ललितपुरमा “य:सिं” भनेर चिनिने वास्तवमा एउटै शब्दको भिन्न स्वरूप मात्र हो। यो एउटा भाषाविज्ञानिक प्रकृया हो जसलाई linguistics को morphology ले अध्ययन गर्छ।

ल्योसिं उभ्याइने र ढाल्ने जात्रा नै विस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ । लिच्छवी कालदेखि सुरू भएको प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा भव्यरूपमा मनाइन्छ । जात्रा हेर्न बिहानैदेखि भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, बनेपा र सिन्धुपाल्चोक देखि मानिसहरू भक्तपुर पुग्ने गर्दछन् ।

बिहानै देखि भक्तपुरका बासिन्दाले ल्योसिं उभ्याएको ठाउँमा बलि दिने र पूजा गर्नेको समेत घुइचो लाग्ने गर्छ । मंगलबार मध्याहृन इन्द्रायणी पूजा सम्पन्न गरी अपराहृनमा गुठी संस्थान, भक्तपुरबाट आएका व्यक्तिले इन्द्रायणीमा बत्ती बाली दुभाजु चोकमा मूल पुजारीलाई तरबार बुझाएपछि पुजारीले कुसुलेहरूलाई खासापा बुझाई सुनको ढोका अगाडि इन्द्रायणीको प्रसाद लिई साझ भेलुखेलमा गई ल्योसिंमा अन्तिम पूजा गरी ल्योसिं ढाल्ने परम्परा रहेको छ । सांस्कृतिक महत्त्व बोकेको विस्केट जात्रा हेरेमा शत्रु एवम् दुःख नाश हुने किम्बदन्ती अझै रहेको स्थानीय बासिन्दाहरूको मन्यता रहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..