बाढीपीडित गुनासो : व्यवस्था फेरिए पनि अवस्था फेरिएन

झन्डै एक दशकअघि दोदा नदीमा आएको बाढीले घरखेत पूर्ण रुपमा बगाएपछि बलराम सिंह महता बाढीपीडित बन्न पुगे । बाढीले उनिसंग भएको डेढ बिघा खेत पूर्ण रुपमा नदीले कटान गरेको थियो भने भएको कच्ची घरसमेत बग्यो । 

घरखेत बगाएपछि विरक्तिएका बलराम अहिले देखतुभली–१ चान्देउमा पर्ने सामुदायिक वनको सोभाडाँडामा आश्रय लिइरहेका छन् । “सुरुमा रेडक्रस लगायतका दाताले तत्कालका लागि दिएको राहत प्याकेजबाट पेट पाल्यौ, उनले भने – “पीडित बनेको दशक पुगिसक्दा पनि मलम लगाउन बस्तीमा कोही पनि आएको छैन ।” 

विसं २०४६ मा पुख्र्यौली घर बैतडी उदयदेव गाविसबाट शङ्करपुर झरेका उनलाई अहिले जहान परिवारको भोक टार्नै धौ–धौ छ । “मुलुकमा राजतन्त्रको अन्त्य हुँदै, लोकतन्त्र गणतन्त्र जनतन्त्र पनि आयो भन्छन्,” उनले भने – “बाढीपीडित बस्तीमा भने खुसियाली हराएको धेरै भइसक्यो ।”

कञ्चनपुरमा बर्खाका बेला महाकाली नदी, दोदा नदी, वनहरालगायत नदी तथा अन्य खहरे खोलामा आउने बाढीले स्थानीयवासी विस्थापित हुन्छन् । पानीको बहाव कम भएसँगै प्रायः स्थानीयवासी घरमा फर्किन्छन । तर दोदा नदीको कटानबाट पूर्ण रुपमा शङ्करपुर र देखतभुली गाविसका केही परिवार पूर्ण रुपमा विस्थापित भएर सामुदायिक वन, सडक किनारा र आफन्तको शरणमा बाँचिरहेका छन् । 

“पहिले डेढ बिघाको मालिक थिएँ,” पीडित बलरामले भने – “अहिले ओत लाग्ने ठाउँ पाउनै गाह्रो छ ।” विसं २०६५ देखि ६७ साल लगातार तीन वर्ष दोदा नदीमा आयो र बाढीले शङ्करपुर–७ पूरै विलय ग¥यो । अस्सी घरधुरी रहेको शङ्करपुर–७ मा अहिले सात परिवार मात्रै रहेको स्थानीयवासीको भनाइ छ । जिल्लामा स्थानीय प्रशासनसँग पनि पूर्ण रुपमा विस्थापित भएका बाढीपीडित को कुनै अभिलेख छैन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले प्रत्येक वर्ष हुने पीडितको परिवार सङ्ख्या वर्षैपिच्छे फरक फरक भएको बताए । 

“बाध्य भएर ओत लाग्न सामुदायिक वनको छेउमा टहरा बनाएर आश्रय लिइरहेका छौँ,” शोभाडाँडामा आश्रय लिइरहेका चित्रबहादुर चौधरीले भने – “आफूसित भएको दुई बिघा खेत नै नदीले कटान ग¥यो ।” बेलाबखतमा पीडित बस्तीलाई वन अतिक्रमणको सङ्ख्या दिँदा चौधरी थप पीडा बोध गर्छन् । “दिनभरि इँटाभट्टामा ज्यालादारी गरेर परिवारको लालनपालनमा जुटेको छु, मुलुकमा सबैखाले व्यवस्था फेरिँदा हाम्रो अवस्थामा कुनै सुधार ल्याउन पहलसम्म भएन,” उनले भने। 

“पहिले खेतबारी लगाउन अरुलाई ज्याला दिन्थेँ,” उनले भने – “अहिले यस्तो बिजोग भयो ।” शङ्करपुर–७ मा हुँदा दशौँ बिघा खेतका मालिक अहिले जङ्गलमा आश्रय लिनु परेको छ । जिल्लामा विपत्को क्षेत्रमा काम गर्दै आइरहेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) अन्तर्गत विपत् व्यवस्थापन परियोजनाका संयोजक हिमालय थापाले जिल्लाभरको बाढी जोखिम क्षेत्र र पीडितको तत्कालको सुरक्षा र पूर्वतयारीबारे काम भइरहेको बताए । 

उनले दिएको जानकारीअनुसार कञ्चनपुरमा दोधारा चादँनी नगरपालिकाका केही वडा, भीमदत्तनगरका केही वडा, वेदकोट, बेलौरी, शङ्करपुर गाविस लगायतका क्षेत्रमा बाढीको जोखिम रहेको बताए । “केही स्थानमा त लामो समय अन्यत्र आश्रय लिइरहेका पनि बस्तीमा फर्किएका पनि छन्,” उनले भने–“बाढी आउँदा तत्काल प्रभावित बने पनि धेरैजसो केही समयपछि बस्तीमा फर्किने गरेका छन् ।” 

उनाका अनुसार दोधारा चाँदनी नगरपालिका–३, ६, ८ र १०, भीमदत्त नगरपालिका–२, ३, ११, १२ १३, १४ र १८, शङ्करपुर गाविसको शङ्करपुर–१, २, ३, ४, ५ र ७, त्यसैगरी बेलौरीको भकुण्डा र उदयपुर लगायतका क्षेत्र बाढीको जोखिममा रहेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिले ग्रामीणस्तरसम्म स्थानीय विपत्देखि सामुदायिक वन व्यवस्थापन समिति बनाएर बाढीबाट बच्न पूर्वतयारीदेखि सूचना प्रवाहसम्मको काम गर्दै आइरहेको छ । 

“अहिले पनि हामी आठवटा सामुदायिक समिति बनाएर जनतासित काम गरिरहेका छौँ,” थापाले भने –“अन्य सरकारी तथा गैरसरकारी निकाय पनि विपत्का क्षेत्रमा सक्रिय भएर लागेका छन ।” विपत्का क्षेत्रमा सरकारी तथा गैरसरकारी निकाय अग्रसर भए पनि आफूहरुको पुनःस्थापनामा भने कसैको ध्यान नपुगेको बाढीपीडितको गुनसो छ । “शोभाडाँडाका धेरै बालबालिकाले स्कुल छोडिसकेँ,” चित्रबहादुरले भने– “युवा सबै पलायन भइसके ।” 

उनले भने – “सामुदायिक वनमा परिवार राखेर बसेको वर्षौं भइसक्यो ।” सरकारी निकायले बस्तीमा आउँदा लगत मात्रै सङ्कलन गर्ने गरेको उनिहरुको गुनासो छ । निर्वाचनका बेला मत माग्न बस्तीमा आउने हरेक राजनीतिक दलले पुनर्वासको व्यवस्था गरिदिने आश्वासन दिएको भए पनि दलीय वाचासमेत पूरा नभएको पीडितहरु बताउँछन् । 

Kantipath Media

यो छुट्टाउनु भो कि..