अपाङ्गता भएका महिला घरभित्रै असुरक्षित

काठमाडौँ । “म साङ्ग हुन्जेल श्रीमान्सँग राम्रो सम्बन्ध थियो, घरपरिवारसँग पनि राम्रै थियो । जब म शारीरिक रूपमा अपाङ्ग भए त्यसपछि श्रीमान्ले अर्को विवाह गरे । परिवारले पनि हेलाँ ग¥यो ।” 

झापाकी सन्तोषी घलेको रमाइलो दाम्पत्य जीवन एक वर्ष नै टिकेन । घरमा लडेर एउटा खुट्टा गुमाउन परेपछि उनको सपना पनि भताभुङ्ग भयो । सँगै जिउने र हरेक दुःखसुखमा साथ रहने वाचालाई श्रीमान्ले भुले । । 

घलेले भनिन् – “दुर्घटना हुनुअघिसम्म हामीबीच अपार माया थियो । जब मेरो एउटा खुट्टा रहेन त्यसपछि श्रीमान्का लागि बोझ बने । मलाई लत्याएर अर्काको साथ रोजे । म अहिले छोराछोरीसँगै काठमाडाँैमा जिउने सङ्घर्ष गर्दैछु ।” अहिले राजधानीमा व्यापार गर्दै आएकी उनी अपाङ्ग भएपछि जन्मदिने बाबुआमाबाट पनि अपहेलित हुनुपरेको पीडा सम्झन्छिन् । 

सन्तोषी मात्र होइन दाङकी देवका चौधरी, कञ्चनपुरकी सीता खड्का र कञ्चनपुरकै जानकी रानासँग पनि अपाङ्ग भएपछि श्रीमान्ले साथ छोडेको र दोस्रो विवाह गरेको पीडा छ । यी केवल प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुका ठाउँमा श्रीमान् भएको भए मानवीयता नाताले महिलाले कुनै झिंजो नमानी साथ दिइरहेका हुन्थे । 

अङ्गभङ्ग भएपछि घरपरिवार र समाजबाट अलग हुनुपर्ने पीडा त छँदै छ, उनीहरूलाई बाटोघाटो एक्लै हिड्डुल पनि सहज छैन । रामेछापकी एक दृष्टिविहीन महिलाले आफू सडकमा गाडी कुर्दै गर्दा एक अपरिचित पुरूषबाट यौन दुव्र्यवहार भएको गुनासो गरिन् । । “हामी आँखा नदेख्नेहरूलाई बाहिर बाटोमा एक्लै हिँड्न पनि डर छ, कतिबेला हिंसामा परिन्छ थाहा छैन,” तिनले भनिन् । 

अपाङ्गता भएकै कारण धेरै महिला घर निकाला हुनुपरेका, घरपरिवारबाट हेलाँमा परेका, विवाहपछि सम्बन्ध विच्छेद भएका र परिवारजनबाट शारिरीक यातना दिइएका जस्ता घटनाहरु हाम्रो समाजमा बढिरहेका छन् । 

“अपाङ्गता भनेपछि सबैभन्दा पहिला त आफ्नो घरबाटै हिंसा सुरु हुन्छ, यी अपाङ्गता भएकाले केही गर्न सक्दैनन् भन्दै उसले पाउने शिक्षा, स्वास्थ्य लगायतका अवसरबाट वन्चित गरिन्छ, खानेकुरा दिन पनि कञ्जुस्याइँ गरिन्छ” – नेपाल अपाङ्ग महिला सङ्घकी अध्यक्ष निर्मला धितालले भनिन् । 

विवाहपछि अपाङ्ग हुँदा श्रीमान्ले सम्बन्ध विच्छेद गरेको धेरै घटनाको अभिलेख आफ्नो संस्थासँग रहेको उनी बताउँछिन् । नेपाली समाजमा अपाङ्गता हुनुलाई पूर्वजन्मको फल भनी तिरस्कार गर्ने चलन अद्यापि कायम छ । सङ्घकी महासचिव मीना पौडेल यातायातका साधनदेखि विद्यालय, घर, छिमेक अपाङ्गता भएका महिलाले असुरक्षित महसुस गर्ने गरेको र यस्तो त्रासका कारण उनीहरुको मनोबल कमजोर बनेको बताउँछिन् । 

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अनुसार घरेलु हिंसा, यौन शोषण, यौन दुव्र्यव्यवहार, बलात्कारजस्ता अपराधबाट अपाङ्गता भएका महिला नै बढी सिकार हुने गरेका छन् । महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले साङ्ग महिलाको तुलनामा अपाङ्गता भएका महिलाले बढी हिंसा भोग्नु परेको बताउँछन् । विश्व स्वास्थ्य सङ्गठनद्वारा प्रकाशित ‘अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदन–२०११’ का अनुसार विश्वभरिको कुल जनसङ्ख्याको १५ प्रतिशत मानिससँग कुनै न कुनै प्रकारको अपाङ्गता रहेको हुन्छ । 

नेपालको पछिल्लो जनगणनाअनुसार अपाङ्गता भएको व्यक्तिको कुल जनसङ्ख्या झन्डै दुई प्रतिशत ९१।९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार तीन सय २१० रहेको छ जसअन्तर्गत शारीरिक अपाङ्गता भएका व्यक्तिको हिस्सा ३६।६ प्रतिशत छ । दृष्टिसम्बन्धी अपाङ्गता १८।५ प्रतिशत छन् । यही दुई प्रतिशतभित्र मानसिकलगायतका अपाङ्गता भएकाहरु पर्छन् । अपाङ्गता भएका महिलाका लागि राज्यले नै शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने अपाङ्गता अधिकारकर्मीहरुको माग रहँदै आएको छ ।  

अपाङ्गता भएका महिलाको अवस्थाबारे राज्यसँग भरपर्दो अभिलेख छैन । नेपाल अपाङ्ग महिला सङ्घले एक्सन एड नेपालको सहयोगमा २०६४ सालमा गरेको एक अध्ययनबाट करिव ६० प्रतिशत अपाङ्गता भएका महिला घरेलु हिंसामा परेका देखिएको थियो । सङ्घकी महासचिव पौडेलका अनुसार २०६४ सालपछि अपाङ्गता भएका महिलाका बारेमा थप अध्ययन भएको छैन । 

अध्ययनअनुसार ३६ प्रतिशत अपाङ्ता भएका महिलाको आधारभूत आवश्यकता नै पूरा भएको छैन । पैंतालिस प्रतिशत शिक्षा र तालिमबाट वञ्चित छन् । दश प्रतिशतले स्वास्थ्य उपचार नै पाएका छैनन् । नौ प्रतिशत शारीरिक एवम् यौनजन्य हिंसाबाट पीडित छन् । अपाङ्गता भएका महिला न्यूनतम आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् । खाना, नाना र छानाको अभावमा दयनीय जीवन गुजारिरहेका छन् । उनीहरुले राम्रो स्वास्थ्य उपचार पाएका छैनन् । शिक्षा एवम् रोजगारबाट समेत वञ्चित छन् । परिवार एवम् समाजले उनीहरुलाई अनुत्पादक नागरिक ठानी नकारात्मक व्यवहार गर्ने गरेको गुनासो नेत्रहीन महिला सङ्घको छ । 

सो अध्ययनअनुसार ३५ प्रतिशत अपाङ्गता भएका महिलाले शारीरिक हिंसा व्यहोरेका छन् जसमध्ये २० प्रतिशत महिलालाई घरमै थुनेर राखिएको छ । नेत्रहीन महिला सङ्घकी अध्यक्ष सीता सुवेदीले ८० प्रतिशत अपाङ्गता भएका महिलाले मनोवैज्ञानिक समस्याको सामना गरिरहनुपरेको बताउँछिन् । 

त्यसैगरी, ५५ प्रतिशत अपाङ्गता भएका महिलालाई सामाजिक, आर्थिक, शारीरिक र भावनात्मक रुपमा अरूको सहारा लिनुपर्ने बाध्यता छ । अपाङ्गता भएका महिलाको यी र यस्तै कमजोरीको फाइदा उठाउँदै उनीहरूमाथि दूरव्यवहार हुने गरेको दृष्टिविहीन महिला अधिकारकर्मी नीरा अधिकारी बताउँछिन् ।

तीस प्रतिशत अपाङ्गता भएका महिला आर्थिक शोषणमा परेका छन् । क्षमता भएर पनि रोजगारीको अवसरबाट उनीहरु वञ्चित छन् । रोजगार पाएका पनि रोजगार दाताबाटै शोषित छन् । “अपाङ्गता भएका महिलाको सामाजिक सुरक्षा छैन, कानुनसमेत विभेदपूर्ण र उदासीन देखिन्छ,” – अधिकारकर्मी अधिकारीले भन्छिन् । 

सन् २००० मा नेपाल नेत्रहीन सङ्घले एसियन ब्लाइन्ड युनियनको सहयोगमा दृष्टिविहीन महिलाको अवस्थाबारे गरेको एक अध्ययनअनुसार ६४ प्रतिशत दृष्टिविहीन महिला अविवाहित छन् । संविधानमा अपाङ्गता अधिकारसम्बन्धी छुट्टै धारा नभए पनि अन्य धारामा भने उल्लेख गरिएको छ । अपाङ्गता अधिकारसम्बन्धी ऐन ल्याउन अपाङ्गता अधिकारकर्मीले विगत लामो समयदेखि माग गर्दै आए पनि अहिलेसम्म त्यो आउन सकेको छैन । 

२०७३ फागुन ९ गते 

Kantipath Media

यो छुट्टाउनु भो कि..