राप्रपा महाधिवेशन: प्यानलसहित प्रतिष्पर्धा गर्दै लिङ्देन र थापा

  • 2 months अगाडि

बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट नेतृत्व लिन कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ। अध्यक्ष थापा र संघीय संसद लिङ्देन प्यानल नै बनाएर चुनावमा होमिँदैछन्। महाधिवेशनमा राप्रपाको नयाँ नेतृत्वका लागि ४६ सय प्रतिनिधिले मतदान गर्नेछन्। बिहीबारदेखि भृकुटीमण्डपमा सुरु हुने बन्द सत्रबाट नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ।

राप्रपाको विधानअनुसार एक अध्यक्ष, महिलासहित ४ उपाध्यक्ष, महिलासहित ३ महामन्त्री निर्वाचित हुने व्यवस्था छ। सहमहामन्त्री, सहायक महामन्त्री, कोषाध्यक्ष र प्रवक्तालाई केन्द्रीय समितिले मनोनित गर्ने व्यवस्था छ । थापाको पक्षबाट उपाध्यक्षमा निर्माण व्यवसायीसमेत रहेका चितवनका विक्रम पाण्डे, बुद्धिमान तामाङ, जयन्त चन्द (लोकेन्द्रबहादुर चन्दका छोरा) र रोशन कार्की (महिला) छन्। यसैगरी महामन्त्रीमा भुवन पाठक, कुन्ती शाही र ध्रुवबहादुर प्रधान उम्मेदवारी दिने तयारीमा छन्।

लिङ्देनले पनि प्यानल नै बनाएर चुनावी प्रचार थालिसकेका छन्। लिङ्देनको प्यानलबाट महामन्त्रीमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर जबरा, अभिनेत्री रेखा थापा, जगत गौचन र रामचन्द्र राय यादव चर्चामा छन्।

त्यसमध्येमा एकजनालाई उपाध्यक्ष बनाएर भए पनि प्यानल घोषणा तयारी भएको छ। राप्रपाको निर्वाचन प्रक्रिया बिहीबारदेखि सुरु हुनेछ। लिङ्देनलाई अध्यक्षमा प्रकाश चन्द्र लोहनी, धवल शमशेर जबरा र पशुपति शमशेर जबरासहितले साथ दिने भएका छन्।

महामन्त्री पदका लागि रेखाले बिहीवार आफ्नो उम्मेदवारी घोषणा गर्ने जनाइएको छ। २०७० सालमा माओवादी पार्टी प्रवेश गरेर सक्रिय राजनीति छिरेकी रेखा २०७३ मंसिरमा तत्कालीन राप्रपामा प्रवेश गरिकी थिइन्। त्यस यता राप्रपामै रहेकी उनी हालको अधिवेशनमा काठमाडौं क्षेत्रका लागि महाधिवेशन प्रतिनिधि पनि हुन्।