अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै

आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ ।

यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ । देशको अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कण वायुमण्ड मै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ ।

खासगरी राजधानि काठमाडौँलगायतका शहरहरु जहाँ पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको छ । त्यस्ता ठाँउमा तुवाँलो अत्याधिक भएकाले वायुमण्डलको पारदर्शिता उल्लेखनियरुपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको बताइएको छ ।

आगामी तीन दिन मौसम सुधार हुने अवस्था नदेखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आजबाट पारदर्शिता केही बढ्ने सम्भावना रहेको छ । सोमबार देशको केही स्थानमा फाटफुट वर्षाका साथै हल्का हावा चलेको कारण पारदर्शिता बढेको बताइएको छ । “मौसम पूर्णरुपमा सुधार हुने अवस्था भने तत्काल देखिएको छैन् ।” मौसमविद् नगरकोटीले भन्नुभयो ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुसमेतको आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागकै एक–दुई स्थानमा मेघगर्जन, चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

केरा कृषक उत्साहित
कृषि उपज भण्डारका लागि शीतभण्डार निर्माण अघि बढेपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता र प्रतापपुर क्षेत्रका स्थानीय केरा उत्पादक कृषक उत्साहित भएका छन् । कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षण गराउने उद्देश्यले सुस्ता गाउँपालिका–४ नर्सहीमा शीतभण्डार निर्माण शुरुआत गरिएको हो ।

लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७५ र सुस्ता गाउँपालिकाको २५ प्रतिशत गरी कूल रु पाँच करोड ६७ लाख ६० हजारको लागतमा शीतभण्डार निर्माण भइरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले राससलाई जानकारी दिनुभयो । पाँचसय मेट्रिक टन क्षमताको उक्त शीतभण्डार आगामी असार मसान्त भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । “हाम्रो गाउँपालिका कृषिका लागि उर्वर भूमि हो, यहाँ उत्पादन हुने कृषि उपजले बजार नपाउँदा कृषक समस्यामा छन्, युवाहरु विदेश पलायन हुन बाध्य छन्”, उहाँले भन्नुभयो, “त्यसैले आफ्नै खेतमा व्यावसायिक खेती गरी जीविकोपार्जन गर्न सजिलो होस्, वैदेशीक रोजगारीमा जानुपर्ने बाध्यता हटोस् भनेर यो शीतभण्डार निर्माण थालिएको हो ।”

यहाँ निर्माण हुने शीतभण्डारबाट सुस्तासहित प्रतापपुर गाउँपालिकाका कृषक पनि लाभान्वित हुनेछन् । यो क्षेत्र विशेषगरी उखु र केराका लागि प्रसिद्ध छ । शीतभण्डार स्थापना भएपछि उखु र केरामा निर्भर कृषक आलु, प्याज तथा अन्य तरकारी र फलफूलको वैकल्पिक तथा व्यावसायिक खेतीतर्फ प्रेरित हुने अध्यक्ष पाण्डेको विश्वास छ ।

स्थानीयस्तरमा उत्पादित केरालगायत कृषि उपजको भण्डार गरी उचित मूल्यसमेत प्राप्त गर्न सकिने भएकाले शीतभण्डार निर्माण शुरु भएपछि कृषक उत्साहित भएको केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादव बताउनुहुन्छ । “हामी कहाँ कृषि उपज उत्पादन भएर पनि खेर गइरहेको थियो, भारतबाट आउने केरा, फलफूल तथा तरकारीसँग प्रतिस्पर्धा गर्न सकेका थिएनौँ, अब यहाँ उत्पादित वस्तुलाई स्थापित गर्न र मौसममा उत्पादन गरी बेमौसममा बिक्री गरी उचित मूल्य पाउन सक्छौँ”, उहाँले भन्नुभयो ।

अब भारतीय केरा रोक्ने आधार मात्र नभई उखु र केराको वैकल्पिक खेती आलु, प्याज, लसुन, फलफूललाई पनि स्थापित गर्न शीतभण्डारले टेवा दिने उहाँको विश्वास छ । अहिले उत्पादन भएका कृषि उपज लामो समय भण्डार गरेर राख्ने ठाउँ नहुँदा न्यूनतम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेकाले कृषक निराश रहेको उहाँ बताउनुहुन्छ ।

“सुस्ता र प्रतापपुरका हामी सबै कृषकलाई उखुको परनिर्भरता हटाई अन्य वैकल्पिक खेती पनि गर्न प्रोत्साहन मिलेको छ, व्यावसायिक खेतीमा पनि आकर्षण बढ्छ”, उहाँले भन्नुभयो । अब विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य हुने र स्थानीयस्तरमै रोजगारी पनि सृजना हुने अध्यक्ष यादवले बताउनुभयो । यस क्षेत्रमा दुई हजार ५०० बिघा क्षेत्रफलमा व्यावसायिक रुपमा केरा खेती हुँदै आएको छ भने यी दुई गाउँपालिकाका ६७२ घरधुरी व्यावसायिक केराखेतीमा संलग्न रहेको सङ्घले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आगामी वर्षदेखि यहाँ केरा जोन कार्यक्रम सञ्चालन गर्ने तयारी पनि गरिएको छ ।

शीतभण्डार निर्माण भएपछि बेरोजगार युवा लाभान्वित हुने सुस्ता–३ का कृषक समसाद अन्सारी बताउनुहुन्छ । आफूले गर्दै आएको खेती पनि विस्तार गर्ने सोच उहाँले बनाउनुभएको छ ।

दुई बिघामा केरा खेती गर्दै आउनुभएका अन्सारीले भन्नुभयो, “वर्षौंदेखि उखुको भुक्तानी नपाउने समस्याले हामी केरा खेतीतर्फ लाग्यौँ, केरा पनि तयार भएपछि एकै पटक बिक्री नहुँदा कुहिने समस्या थियो, लामो समय भण्डार गर्ने ठाउँ थिएन, अब धेरै सजिलो हुन्छ, हामी धेरै खुशी छौँ ।” अब खेती विस्तार गरी पाँच बिघामा केरा लगाउने उहाँले बताउनुभयो ।

सुस्ता–४ का कृषक धनबहादुर गुरुङ पनि शीतभण्डार निर्माण थालिएपछि खुशी हुनुहुन्छ । १५ कट्ठामा केराखेती गर्दै आउनुभएका गुरुङ्ले भन्नुभयो, “खेतमा केरा तयार हुँदा एकै पटक बिक्री नभई खेतमै ढल्ने, कुहिने समस्या थियो, अब यो समस्या हट्ने भयो, भण्डार गरेर उचित मूल्यमा बिक्री गर्न पाउने भयौँ, यो समग्र कृषकको हितमा छ ।”

केरा खेतीतर्फ थप आकर्षण बढ्नाका साथै कृषक व्यावसायिक खेतीमा लाग्ने योजनामा रहेको उहाँले बताउनुभयो । शीतभण्डारमा १०० आलु, १०० प्याज, १०० तरकारी, १०० फलफूल र १०० मेट्रिक टन केरा भण्डार गर्न मिल्न गरी छुट्टाछुट्टै चेम्बर निर्माण हुने गाउँपालिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

गाउँपालिकामा कृषि उत्पादन राम्रो रहेकाले कृषिलाई विशेष प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो । यसैगरी धान, गँहुको बीउ अभाव हुन नदिन सुस्ता–२ मा भण्डारण घर पनि निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकारको रु ८० लाखको लागतमा निर्माण शुरु गरिएको उक्त घर आगामी दुई महिनाभित्र सम्पन्न हुने अध्यक्ष पाण्डेले बताउनुभयो । यहाँ बीउका लागि उत्पादन भएका धान र गहुँको भण्डार गरिनेछ । “बीउको अभाव हुन नदिन यहाँ प्रशोधन मेशिन पनि राखेर कृषकलाई अनुदानमा बीउ उपलब्ध गराउने हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो ।

मन्त्री आलेद्वारा दुःख व्यक्त
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो ।

मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट समेत गर्नुका साथै उहाँको शव कैलाली लैजानका लागि रु ५० हजार आर्थिक सहयोगसमेत थियो

लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो ।

उहाँलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याएको उहाँका घरपरिवारले जनाएको छ । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेकपा एमालेको कैलाली जिल्लामा संस्थापक नेतामध्ये रावल एक हुनुहुन्थ्यो । उहाँको शव अहिले कैलाली लैजाने तयारी भइरहेको छ ।

पशुजन्य उत्पादनमा अनुदान पाएपछि कृषकहरु उत्साहित
पर्वतको महाशिला गाउँपलिकाले पशुपालन गर्न ईच्छुक कृषकहरुलाई अनुदान दिएपछि यहाँका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् ।

युवालाई स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि यहाँका कृषक उत्साहित बनेका हुन् । गाउँपालिकाले दूधमा प्रतिलिटर रु १० र खसीबोका उत्पादनमा प्रतिकिलो रु २५ अनुदानको व्यवस्था गरेको छ । गाउँका कुनै पनि कृषकले उत्पादन गरेर निर्यात गर्ने दूध, मासुमा गत वर्षदेखि अनुदानमूलक कार्यक्रम शुरु गरिएको हो । निर्धारित मूल्यमा गाउँपालिकाले प्रोत्साहनस्वरुप अनुदान रकम थप गरेपछि यसतर्फ कृषकको आकर्षणसमेत बढ्दै गएको छ ।

पालिकाले अहिले स्थानीय महाशिला सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत अनुदान वितरण कार्यलाई तीव्रता दिएको छ । महाशिलाका ६ वटै वडाका झण्डै ६४० व्यावसायिक महिला सदस्यहरु रहेको उक्त सहकारी संस्थाका सदस्यहरुले उत्पादन गरेको दूध र खसी, बोकामा गाउँपालिकाले अनुदान रकम उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाको प्रोत्साहन रकम पाएपछि महिला उद्यमी सहकारी संस्थाले उत्पादनमा अनुदान वितरण गर्दै आएको हो । सहकारीले मासिक ४० देखि ५० वटासम्म खसीबोका बिक्री गर्ने गरेको छ । सदस्यहरुले उत्पादन गरेको खसीबोका सहकारीमार्फत बजारमा बिक्रीको प्रबन्ध मिलाइएको छ । प्रतिकेजी जिउँदो ४५० मा सहकारीले खसीबोका बिक्री गर्ने गरेको छ ।

यस वर्ष झण्डै ६ हजार ६०० केजी जिउँदो खसीबोका बिक्री गरेको सहकारीले दूध पनि बिक्री गरिरहेको छ । दैनिक एक हजार लिटर दूध बिक्री गरेको सहकारीले दूध उत्पादन बढाउने गरी योजना निर्माण गरेको सहकारी अध्यक्ष कमला कुस्मेलीले जानकारी दिनुभयो । स्थानीय उत्पादन सङ्कलन गरेर एकद्वारा प्रणालीमा बजारीकरण गरिरहेको सहकारीमा अहिले पाँच वटै वडाका १७ वटा महिला समूह आबद्ध भएका छन् । झण्डै दुई करोडको कारोवार गर्ने सहकारी गाउँपालिकाको मुख्य सहकारी भएकाले र सबै अधिकांश सदस्यहरु आबद्ध भएकाले गाउँपालिकाले सोही सहकारीमार्फत अनुदान वितरणको प्रक्रिया अघि बढाएको हो ।

यसबाहेक गाउँपालिकाले व्यावसायिक तरकारी र फलफूल खेती गर्नेहरुलाई समेत आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिनुभयो ।

पौडी खेल्नेक्रममा डुबेर एकजनाको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्ती नदीमा पौडी खेल्नेक्रममा सोमवारदेखि बेपत्ता भएका वैश्यको आज बिहान शब फेला परेको हो । राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनी डुबेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा आज शब फेला पारेको हो ।

शव परीक्षणको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

रहेनन मोहन्याल गाउँपालिकाका अध्यक्ष रावल

कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको छ ।

उच्च रक्तचाप लगायतका रोगले ग्रसीत उहाँको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको उहाँका स्वकीय सचिब नरेन्द्र थापाले जानकारी दिनुभयो ।

मोहन्याल सोल्टास्थित आफ्नै घरमा केही दिन अघि अचानक बेहोस हुनु भएपछि उहाँलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो । यसपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उहाँ लामो सयमदेखि रक्तचापको औषधि खाइरहनु भएको थियो ।

उहाँ नेकपा (एमाले )को तर्फवाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँका तीन छोरा र श्रीमती हुनुहुन्छ ।

पानी नपर्दा तरकारी किसान बिलखबन्दमा
होली (फागु) पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् ।

चाडपर्वको रमझम सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान तरकारीका बोट सुक्दै गएको देखेर बिलखबन्द परेका हुन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो ।

“खेतबारीमा भन्टा, परवल, घिरौँला, झिमनी, करेला, फर्सी र लौकासहितका तरकारीका बिरुवा पानी विना सुकिरहेका छन्”, जिल्लाको भङ्गाहा नगरपालिका–४ का तरकारी किसान चन्देश्वर राय दनुवारले भन्नुभयो, “पानी पर्दैन, इनार धमाधम सुके, अब के गरौँ ?” उहाँले बिरक्तिँदै थप्नुभयो, “बारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरगुजारा केले टार्ने होला ?” लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि किसानको पिरोलो बढेको हो ।

यसपालि सिङ्गो हिउँद पानी नपरी बित्यो । चैतमध्ये सकिँदासम्म पानी नपर्दा वैशाखे तरकारीका बोट र लहरा सुक्दै गएका छन् । यो वर्ष तरकारी खेतीका लागि एकपछि अर्को प्रतिकूलताले मन भाँचेको किसानको ठम्याइ छ । “नयाँ वर्ष लागेसँगै लकडाउनको मार प¥यो, फलेका तरकारी बजार लान नपाएर बोटमै बुढियो”, सोही बस्तीका अर्का किसान गङ्गाराम महतोले दिक्दारिँदै भन्नुभयो, “अघिल्लो बाली बोटमै बुढियो, अहिले वैशाखी (गृष्मकालीन) तरकारी बाली पानीबेगर सुक्न थाल्यो ।”

जिल्लाको उत्तरवर्ती क्षेत्रका भङ्गाहा, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्र तरकारी बालीका लागि उर्वर ठाउँ मानिन्छन् । मुख्य बाली नै तरकारीलाई बनाएका किसान पानीको उपाय नहुँदा अहिले बिरक्तिएका हुन् । “बस्ती नजिकै जता हे¥यो, खोलाखोल्सी छन्”, बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले भन्नुभयो, “तर खोलाखोल्सी सिँचाइका लागि नभएर बर्खे भेलमा खेतबारी बगाएर चिन्ता थप्ने मात्र छन् ।” गत वर्षामा रातु नदीको बाढीले बगर बनाएको खेत देखाउँदै महतोले भन्नुभयो, “खै हाम्रो त कर्म नै खोटो पो हो कि क्या हो…?” स्थायी सिँचाइको कुनै व्यवस्था नभएको र अहिलेको लामो खडेरीले बस्तीका इनार धमाधम सुकेपछि पम्पसेट (इनारबाट पानी तान्ने मोटर) को काम पनि सकिएको महतोको भनाइ छ ।

स्थायी सिँचाइको प्रबन्ध हुन नसकेको र इनार चापाकल धमाधम सुकेपछि किसान तरकारीका बोट सुकेको आँखाभरि आँसु टिल्पिल्याउँदै हेरिरहन बाध्य भएका छन् । यसपालि लामो हिउँद पानी नपरी बितेपछि पानीका स्रोतका मुहान सुक्दै जाँदा आपूmहरु बिलखबन्दमा परेको किसानको दुःखेसो छ । जिल्लामा मौसमी÷ बेमौसमी र वर्षभरिका विभिन्न याम (ऋतु) मा गरी १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

महोत्तरी जिल्लाको कूल खेतीयोग्य जग्गा ६७ हजार ३५२ हेक्टरमध्ये हालसम्म मुस्किलले करीब सात हजार हेक्टरमा मात्र कुलो लाग्ने सिँचाइ सुविधा छ । यसपालिको लामो हिउँदे खडेरीले सिञ्चित जग्गाकै पानीको स्रोतका मुहानसमेत सुक्दै गएकाले अहिलेको बालीमात्र नभएर अब लगाइने बालीका लागि खनजोत गर्नसमेत समस्या परेको किसान बताउँछन् । किसानको यो चिन्ताबीच प्रदेश नं २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिँचाइलाई मुख्य प्राथमिकतामा राखेर कृषि प्रवद्र्धन कार्यक्रम अघि बढाइएको जनाएको छ ।

यसैगरी, जिल्लाका बर्दिवास र भङ्गाहा नगरपालिकाले सिँचाइ सुविधा विस्तारकै लागि १०० भन्दा बढी इनार निर्माण भइसकेका र यस वर्ष पनि इनार निर्माणका काम भइरहेको जनाएका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..