कास्कीमा वैशाख २१ गतेदेखि सार्वजनिक सवारी पनि बन्द

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडा बनाउँदै यही वैशाख २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइतबार जारी गर्नुभएको आदेशमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङक्रमण तीव्ररूपमा फैरिहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न भनिएको छ ।

वैशाख २१ गते बिहान ५.०० बजेदेखि वैशाख ३१ गते रातको १२.०० बजेसम्मका लागि तोकिएको आदेशमा अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेकका यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सबै किसिमका धार्मिकस्थलमा स्वास्थ्य मापदण्ड कायम गरी नियमित पूजाआजा बाहेकका अन्य कार्य नगराउन आदेशमा भनिएको छ । सबै किसिमका शैक्षिक संस्थामा भौतिक उपस्थितिमा गरिने पठनपाठन तथा परीक्षा सञ्चालन नगराउन आदेशमा उल्लेख छ ।

औषधि एवं स्वास्थ्य सामग्रीका पसल भने २४ सै घण्टा खुल्नुका साथै दैनिक उपभोग्य खाद्यान्न, फलफूल, माछामासुका लागि बिहान ५.०० बजेदेखि दिउँसो १.०० बजेसम्म सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

कर्मचारीलाई कोरोना देखिएपछि टोखामा अत्यावश्यकबाहेकका सेवा बन्द
टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि र कर्मचारीमा देखिएपछि आगामी वैशाख ३० गतेसम्म नगरपालिका र वडाभित्रका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा वडाका जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण देखिएकाले वैशाख ३० गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको बताउनुभयो । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी आदेश पूर्ण पालना गर्न, घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न, कम्तीमा दुई मिटर सामाजिक दूरी कायम गर्न नगरवासीलाई आग्रह गरेको छ ।

यस्तै नियमितरूपमा साबुनपानीले हात धुन, सेल्फ क्वारेन्टिनलाई निरन्तरता दिई आफू पनि बाँच्न र अरुलाई पनि बचाउन अनुरोधसमेत गरेको छ । टोखाले बढ्दो कोरोना सङ्क्रमितलाई ध्यानमा राखेर अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र निर्माण गर्न लागेको छ । नयाँ भेरियन्टको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै वडा नं ७ स्थित राधा स्वामी भवनभित्र अक्सिजन थेरापीका लागि आइसोलेसन केन्द्र स्थापना गर्न लागेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

“अक्सिजन थेरापीसहित आइसोलेसन केन्द्र स्थापना भएसँगै अक्सिजन मात्रा कम भएका बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहज हुन्छ”, उहाँले भन्नुभयो । यसअघि टोखाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामी राख्ने व्यवस्था गरेको थियो । सोही स्वास्थ्य केन्द्रमा आगामी दिनमा पनि बिरामीको उपचार गरिने नगरपालिकाले जनाएको छ ।

बहुमतप्राप्त दल रहेको अवस्थामा एमालेको मुख्यमन्त्रीमा दाबी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बहुमतप्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको स्पष्ट पार्नुभएको छ । आज सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उहाँले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेपछि नियुक्ति पनि त्यसै आधारमा भएको बताउँदै नियुक्तिपछिको विवादको निरुपण प्रक्रियाअनुरूप नै हुने उल्लेख गर्नुभयो ।

विमलाकुमारी खत्री फागुन २३ को फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आएको र उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको जनाउँदै उहाँले अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानूनविपरीत भएको बताउनुभयो । “यस प्रक्रियामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ”, उहाँले उल्लेख गर्नुभएको छ । खत्रीले आइतबार मात्रै माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्नुभएको थियो ।

चर्चामा ल्याइएका अन्य प्रदेशसभा सदस्यसमेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दाबी गर्ने निर्णयमा सहमति जनाएकाले सूर्य चिह्नबाट चुनाव लडेका सदस्यको समर्थन कानूनीरूपमा समेत अन्य दललाई हुन नसक्ने बताउनुभयो । “यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो”, उहाँले भन्नुभयो ।

जनता समाजवादीका चार सदस्यलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा कारवाहीको षडयन्त्रपूर्ण नाटक मञ्चनपछि नेकपा एमाले बहुमतप्राप्त दल बनेको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले बहुमतप्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहने बताउनुभयो । “जनता समाजवादीका चारजना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्वीकार गरिसक्नुभएको छ । पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दाबी उहाँहरुको छ”, मुख्यमन्त्री पोख्रेलले भन्नुभएको छ ।
संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरुलाई अर्को दल परिवर्तको अधिकार नदिएको बताउँदै मुख्यमन्त्री पोख्रेलले चुनाव चिन्ह सूर्य लिएकाहरुलाई आफ्नो पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्ने कुरा लज्जास्पद विषय भएको टिप्पणी गर्नुभयो ।

“जनता समाजवादीका बहुमत सदस्यले कारवाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नुभएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्बिनी सरकार सुदृढ पोजिसनमा हुनेछ”, उहाँले भन्नुभयो, “नियुक्तिपछिको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितिको उपज हो ।”

मुख्यमन्त्री पोख्रेलले सूर्य चिह्न लिएर उम्मेदवार भई सांसद भएकालाई अर्को दलले आफ्नो पक्षको भनेर दाबी गर्ने कुरा संविधान विरोधी र अराजनीतिक कुरा भएको बताउनुभयो । यस प्रकरणमा के कस्ता हथकण्डा प्रयोग भए समयक्रममा खुल्दै जाने उहाँको भनाइ छ ।

“बहुमतप्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहन्छ । संवैधानिकरूपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेको अवस्थामा सरकारमा रहिरहने कुरा सम्भव छैन तर अहिलेको अवस्था त्यो होइन”, उहाँले भन्नुभयो, “जुन साथीहरुले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनुभएको छ उहाँहरुले लुम्बिनी सरकारविरुद्ध प्रपोगण्डा सञ्चालन गर्नु स्वाभाविक हो ।”

मुख्यमन्त्री पोख्रेलले कामका हिसाबले सात प्रदेशमा लुम्बिनी प्रदेश अगाडि नै रहेको र आगामी दिनमा पनि रहने उल्लेख गर्नुभएको छ । अविश्वासको प्रस्ताव आएपछि आइतबार बिहान राजीनामा दिनुभएका मुख्यमन्त्री पोख्रेल दिउँसो पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..