कोभिडका बिरामीका लागी बिर अस्पतालमा १७० बेड तयार, अक्सिजनको अभावमा बिरामीको उपचार हुन सकेन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको सुविधासम्पन्न र आकर्षक भवन हालसालै निर्माण सम्पन्न भएको हो । नयाँ भवनको ५ तल्लासम्म बिरामी राखेर उपचार गराउन सकिन्छ र बिरामीको अत्याधिक चाप रहेको अवस्थामा ७ सयसम्म बिरामी राखेर उपचार गर्न सकिन्छ । भवन बने पनि सञ्चालनमा आइनसकेको यो भवनमा सरकारले कोभिडबाट संक्रमित बिरामीको उपचार गर्ने घोषणा गर्यो । नयाँ अस्पतालमा दिन र रात गरेर बिरामीका लागि आवश्यक अक्सिजन सप्लाई गर्न मिल्ने पाइपसहितको जडान भइसक्यो ।

अस्पतालले १ सय ७० बेड तयार पनि गरिसकेको छ । दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिएको भए पनि सञ्चालनमा भने अझै आउन सकेको छैन । कारण अस्पताललाई आवश्यक अक्सिजन नै छैन । वीर अस्पतालकी निर्देशक डाक्टर शान्ता सापकोटा यदि अक्सिजनको सुनिश्चितता हुने भए तत्कालै १ सय ७० बेड सञ्चालनमा ल्याउन सकिने बताउँछिन् । उनले भनिन्, ‘हामीले बेड तयार गरिसकेका छौँ ।

अक्सिजन पाइप फिटिङ भइसकेको छ । अब बाँकी भनेको अक्सिजनको व्यवस्था मात्रै हो । यदि त्यो व्यवस्था गर्न सकेको अवस्थामा हामी तत्कालै सर्जिकल बिल्डिङ पनि सञ्चालनमा ल्याउन सक्छौँ ।’ वीर अस्पतालकै छातीरोग विशेषज्ञ तथा सर्जिकल बिल्डिङका क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रज्वल श्रेष्ठ अक्सिजनको व्यवस्था हुनेबित्तिकै १७० बेड सञ्चालनमा ल्याउन सकिने बताउँछन् ।

शुक्रबार रातोपाटीको टोली सर्जिकल बिल्डिङ (नयाँ भवन) मा पुग्दा डा. प्रज्वल आफ्ना टिमसहित उक्त भवनको व्यवस्थापनमा खटिएका थिए । पहिलो तल्ला र दोस्रो तल्लामा बेड तयार भइसकेको छ, बेडसिट र ओड्ने कम्बल पनि तयार भइसकेको छ । बेडमाथि अक्सिजन र भ्याकुम सक्सनका लागि पाइप पनि जडान भइसकेको छ । हिजो मात्रै कहीँ अक्सिजन लिग पो छ कि भनेर चेक पनि भइसकेको छ र सबै कुरा ठीकठाक भएर बसेको छ ।

भित्रपट्टि आइसियुका लागि ९ वटा बेड पनि तयार हुनै लागेका छन् । त्यहाँ भेन्टिलेटर मात्रै जोड्न बाँकी छ । वीर अस्पतालको इमर्जेन्सी र वार्डमा पनि कोभिडका टन्नै बिरामी छन् र भर्ना नपाएर बसेका बिरामीको सङ्ख्या पनि उस्तै छ । यही भवनमा बिरामी भर्ना गरेर उपचार गर्ने भन्दै केही दिनअघि मात्रै वीर अस्पतालले स्टाफ नर्स र डाक्टरको माग गरेको सूचना प्रकाशन गरेको थियो । र, धेरैले जागिरका लागि फारम भरेर उनीहरु अन्तिम छनोटका क्रममा छन् ।

भवनको अण्डरग्राउण्डमा अक्सिजन आपूर्तिका लागि २० वटा अक्सिजन म्यानीफोल्ड पनि तयार भइसकेको छ । तत्कालका लागि २० वटा म्यानिफोल्ड बनाएर अक्सिजनको आपूर्ति गर्ने तयारी गरिएको छ । र, आवश्यकता अनुसार म्यानिफोल्ड अझै थप गर्न सकिने अवस्था पनि छ । तर यो म्यानिफोल्डमा परीक्षणका लागि राखिएको एउटा सिलिन्डर मात्रै छ ।

सर्जिकल बिल्डिङका क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रज्वल श्रेष्ठका अनुसार पहिलो चरणमा पहिलो तल्लामा रहेको ८५ वटा बेड सञ्चालनमा ल्याइहाल्ने गरी काम भइरहेको छ । पहिलो तल्लामा रहेको ८५ बेड सञ्चालन गर्नका लागि पनि दैनिक ८० देखि १ सय सिलिन्डर अक्सिजन चाहिन्छ । यदि तत्कालै १ सय ७० बेड सञ्चालनमा ल्याउने हो भने दैनिक २ सय सिलिन्डर अक्सिजनको आवश्यकता पर्छ ।

डा. श्रेष्ठका अनुसार यी सबै बेडहरु एचडियु युनिट (हाई डिपेन्डेन्सी युनिट) हुन्, जहाँ रहेका हरेक बिरामीलाई अक्सिजनको व्यवस्था गर्न सकिन्छ । यी सबै बेडमा रहेका बिरामीलाई अक्सिजन र भ्याकुम सक्सनको व्यवस्था गरिएको छ ।

एचडियू युनिट आइसीयूजत्तिकै उपयोगी छ । यद्यपि भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई भने भने यहाँ राख्न सकिँदैन । अक्सिजनको आवश्यकता पर्ने तर अक्सिजनको मात्रा कम भएपनि हुने बिरामीका लागि यो वार्ड र बेड प्रयोग गर्न सकिन्छ । यद्यपि प्रत्येक तल्लामा ९ वटा भेन्टिलेटर सहितको आइसियु बेड पनि तयार भइरहेको छ ।

यदि अक्सिजनको पूर्ण व्यवस्था हुन सकेको अवस्थामा वीर अस्पतालको सर्जिकल भवनमा कम्तिमा पनि ५ सय कोभिडका बिरामी राख्न सकिन्छ । तर, ५ सय बिरामी राखेर उपचार गर्नका लागि दैनिक करिब ७ सय सिलिन्डर अक्सिजनको आवश्यकता पर्छ । अक्सिजनको आवश्यकता पर्ने बिरामीका लागि मात्रै भर्ना गरिने भएकाले सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले पूर्ण क्षमतामा नयाँ भवन सञ्चालन गर्दा दैनिक ७ सय सिलिन्डरको हाराहारीमा अक्सिजन चाहिने डा. प्रज्वलको भनाई छ ।

तर पहिलो तल्लामा रहेको ८५ बेडको वार्ड सञ्चालन गर्नकै लागि पनि आवश्यक अक्सिजनको व्यवस्था हुन सकेको छैन । अक्सिजन आपूर्तिका लागि कम्तीमा पनि ६ घण्टामा सिलिन्डर परिवर्तन गरिरहनुपर्छ । एकपटकमा २० वटा सिलिन्डर म्यानिफोल्डमा जडान गर्दा करिब ६ घण्टासम्म ८५ जना बिरामीलाई पुग्न सक्नेछ ।

यसरी हेर्दा प्रत्येक ६ घण्टामा सिलिन्डर परिवर्तन गरिरहनु पर्नेछ र त्यसका लागि कम्तिमा पनि १ सय थान सिलिन्डर स्ट्याण्डबाई अवस्थामा राख्नुपर्नेछ । तर यतिबेलासम्म नयाँ भवनका लागि बेड तयार भएपनि अक्सिजन सिलिन्डर र अक्सिजनको व्यवस्था हुन सकेको छैन ।

वीर अस्पतालकी निर्देशक डा. शान्ता सापकोटा अहिले वीर अस्पतालकै पुरानो भवनमा रहेका बिरामीहरुलाई पनि अक्सिजन पुराउन नसकेकाले नयाँ भवनका लागि अर्को व्यवस्था नभए अक्सिजन पु¥याउन नसकिने बताउँछिन् ।

वीर अस्पतालमै पनि एउटा अक्सिजन प्लान्ट रहेको छ भने अक्सिजन सप्लायर्सबाट पनि अक्सिजन किनिरहेको छ । तर पनि आवश्यक अक्सिजन नपुगेको सापकोटाको भनाई छ । कुनै विशेष व्यवस्थाबाट अक्सिजनको आपूर्ति हुन नसके बिरामीमात्र राखेर कुनै अर्थ नहुने सापकोटा बताउँछिन् । यद्यपि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर अक्सिजन सिलिन्डर र अक्सिजनको व्यवस्था गर्ने तयारी भइरहेको सापकोटाले बताइन् ।

ट्रमा सेन्टरको हालत उस्तै

अक्सिजनको अभाव वीर अस्पतालमा मात्रै छैन, ट्रमा सेन्टरको हालत पनि त्यस्तै छ । सरकारी स्वामित्वको वीर अस्पतालले सुरुमा २ सय बेडको कोभिड वार्ड सञ्चालन गर्ने तयारी गरेको थियो । ट्रमा सेन्टरका निमित्त प्रमुख डा. सन्तोष पौडेलका अनुसार २ सय बेड सञ्चालन गर्ने तयारी गरिएको भए पनि बुधबारदेखि नयाँ बिरामी लिइएको छैन । अहिले करिब १२० जना कोभिडका बिरामीलाई राखेर अस्पतालले उपचार गरिरहेको पौडेलको भनाइ छ । अक्सिजनको व्यवस्था नभए त्योभन्दा बढी बिरामी राखेर उपचार गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।

ट्रमा सेन्टरमा १३ किलोलिटर लिक्विड अक्सिजन अट्ने ट्यांकी छ । सामान्य अवस्थामा उक्त ट्याङ्की भरी हुँदा १ महिनालाई अक्सिजन पुग्थ्यो । तर, अहिले सबैजसो बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले ट्यांकीभरि भएको अवस्थामा पनि ५ दिनलाई भन्दा बढी पुग्दैन । बुधबार बिहानसम्म १ सय ३७ जना कोभिडका बिरामी राखेर उपचार गरिएको र उक्त सबै अक्सिजन सकिएको पौडेल बताउँछन् । सबैजसो बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले अक्सिजन चाँडै सकिने गरेको, तर आपूर्तिकर्ताले अक्सिजन दिन नसकिरहेको पौडेलको भनाइ छ ।

ट्रमा सेन्टरले शंकर अक्सिजन प्रालिसँग चाहिने जति अक्सिजन दिनेगरी सम्झौता गरेको थियो । सामान्य अवस्थामा अक्सिजन उत्पादकले अक्सिजन पनि दिइरहेको थियो । तर, अहिले सिसिएमसीले कोटा छुट्याएर मात्रै अक्सिजन दिन थालेपछि त्यसको असर आफूहरुलाई पनि परेको पौडेलको गुनासो छ ।

पौडेलले भने, ‘हुन त हामीलाई चाहिएजति अक्सिजन दिनैपर्ने दायित्व शंकर अक्सिजन प्रालि कै हो । तर, उसले पनि सीसीएमसीलाई देखाएर हामीलाई आवश्यक अक्सिजन दिइरहेको छैन । हिजो मात्रै पनि हामीलाई दिने भनेको अरु कसैले कब्जा गरेछन् । हामीलाई दिनुपर्ने अक्सिजन प्रहरीका ठूला मान्छे आएर लगे भनेर जवाफ दिए । मेरोमा बिरामी छटपटिइरहेका छन्, उनीहरुलाई दिनसक्ने अवस्था छैन ।’

पौडेलका अनुसार अहिले सीसीएमसीले कोटा तोकिदिएको भन्दै आपूर्तिकर्ता पनि पन्छिन खोजेको पौडेलको गुनासो छ । यद्यपि सम्झौता भएकाले आपूर्तिकर्ताले नै अक्सिजन उपलब्ध गराउनुपर्ने उनको भनाई छ ।

ट्रमा सेन्टरले सुरुमा सिलिन्डरको हिसाब गर्दा दैनिक ५० वटाजति अक्सिजन प्रयोग गर्ने गरेको थियो । तर, अहिले भने दैनिक ३५० देखि ४०० सिलिन्डर आवश्यक पर्न थालेको छ । जसका कारण उत्पादकलाई पनि केही समस्या परेको हुनसक्ने पौडेलको भनाइ छ ।

महङ्गोमा बेच्न थाले अक्सिजन

ट्रमा सेन्टरले शंकर अक्सिजन प्रालिसँग अक्सिजन खरिदका लागि सम्झौता गर्दा पहिले प्रतिसिलिण्डर ३ सयको हाराहारीमा सम्झौता गरेको थियो । तर, अक्सिजनको माग बढ्न थालेपछि अहिले अक्सिजनको मूल्य दुई गुणाभन्दा महङ्गो भएको छ । अहिले प्रतिसिलिण्डर ६५० भन्दा माथि पर्न थालेको छ । ट्रमा सेन्टरले बिहीबारमात्रै अन्य आपूर्तिकर्तासँग प्रतिसिलिण्डर ६५० मा अक्सिजन किनेको निमित्त निर्देशक पौडेलले बताए ।

अक्सिजन उत्पादकले पनि महङ्गोमा बेच्न पाएपछि तपाइँलाई नदिएको त होइन नि भन्ने प्रश्नमा सन्तोषले भने, ‘मलाई त्यस्तो त लाग्दैन । तर, पनि व्यापार गर्ने नै भएकाले त्यस्तो भएकै छैन भन्न चाहिँ सक्दिनँ । तर, पहिले सम्झौता भएकै मूल्यमा उपलब्ध गराउनुचाहिँ उसको दायित्व हो । किनभने उसले टेण्डर हालेर पाएको हो र त्यहाँ उक्त शर्त राखिएको छ ।’

पौडेलका अनुसार उत्पादकले महङ्गोमा अरुलाई बेचेर आफूहरुलाई नदिएको होइन होला । तर, अहिले बढी मूल्य पाएपछि अधिकांश अक्सिजन उत्पादकले तेस्रो पक्षलाई अक्सिजन बेच्न थालेको हुन सक्छ । मूल्यमा बढोत्तरी आएपछि धेरै रकम पाइने भएको कारणले पनि उनीहरुले महङ्गोमा अक्सिजन बेचेर पहिले नै सम्झौता भएका अस्पतालहरुलाई भने पहिले लिने गरेको अनुपातमा मात्रै अक्सिजन उपलब्ध गराइरहेका छन् ।

‘बिरामीले प्राण त्याग्दै गरेको हेरेर बस्नुपरेको छ’

ट्रमा सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेल अक्सिजनको अभावमा बिरामी छटपटिएर प्राण त्याग्दै गरेको हेरेर बस्नुपरेको दुखेसो गर्छन् । आइसियुमा राख्नुपर्ने बिरामी स्थान अभावका कारण जनरल बेडमा राखेको सन्तोषको भनाइ छ ।

‘आइसियुमा राख्दा अक्सिजनको लेभल घटेको अवस्थामा धेरै अक्सिजन दिन मिल्ने भए पनि सामान्य सिलिन्डरबाट दिँदा धेरै अक्सिजन दिन सकिँदैन’ पौडेल भन्छन्, ‘यस्तो अवस्थामा बिरामीमा अक्सिजनको मात्रा घट्दै जान्छ र अन्तिममा ज्यान जान सक्छ । अक्सिजनको मात्रा घट्दै गर्दा हाइफ्लो नोजल वा आईसीयूबाट बढी अक्सिजन दिन नसकेको अवस्थामा बिरामीको मृत्यु हुन सक्छ । अहिले त्यही नै भइरहेको छ ।’

उनी थप्छन्, ‘हामीसँग अक्सिजनको पर्याप्तता नहुँदा हामीले आवश्यक मात्रामा अक्सिजन दिन पनि सकिरहेका छैनौँ । जसका कारण बिरामी तड्पिएको हेरेर बस्नु परिरहेको छ । बचाउन सकिने बिरामीलाई पनि हामीले बचाउन सकिरहेका छैनौँ ।’

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..