गोरु काटेको अभियोगमा छ जना पक्राउ

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार पशुपक्षीसम्बन्धी कसूर गरेको आरोपमा निजहरुलाई जिल्ला अदालतबाट नौ दिने म्याद लिइ अनुसन्धान थालिएको छ ।

लघुजलविद्युत्ले फेरिएको स्थानीयको जीवनशैली
चाउरी परेका गाला, हँसिलो अनुहारमा घरको पिँढीमा टुक्रुक्क बसेर गोरीसरा सारु भन्दै हुनुहुन्थ्यो, “हाम्रा जमनामा दुःखका दिन थिए, अबका पुस्ता ती दु:खका दिन सम्झाउँदा पत्याउदैनन्, जमना फेरिँदै गयो ।”

उकाली–ओराली गर्दै दुःखका जीवन झेलेकी निस्दी गाउँपालिका–५ ढुङ्गानाबेँसी बस्ने सारु ८२ वर्ष कट्नुभयो । अहिले पक्की सडकमा जोडिएको पक्की घरमा बसेर हिजोका दिनहरू स्मरण गर्दै आजको सुखसुविधा उपभोग गर्न पाउँदा दङ्ग हुनुहुन्छ । जीवनको उत्तराद्र्धमा भए पनि आफ्नै हातले स्वीच दबाएर झलमल्ल बत्ती बाल्दा उहाँ निकै खुशी हुनुहुन्छ । उहाँका जमानामा घरमा उज्यालो दिने टुकी बत्ती मात्र थियो । अहिलेजस्तो बिजुली या सोलार कुनै थिएनन् ।

आजभन्दा करिब एक दशकअघि यहाँका स्थानीयवासीको सक्रियतामा निस्दी लघुजलविद्युत् आयोजनामार्फत विद्युत् उत्पादन गरी घरघरमा बत्ती बल्न थालेपछि उहाँजस्ता उमेरले उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिक फुरुङ्ग हुनुहुन्छ । “पहिले अँध्यारोमा पुराना कपडा च्याती बटारेर चिउरीको तेल हालेर सानो टुकी बालिन्थ्यो, टुकीबाटै जीवन धानियो तर अहिले भने जमाना फेरिए, घरभित्र झलझल बत्ती बल्छ, घरको दैलोबाट बाटोमा टेक्यो कि पक्की सडक छ”, उहाँले भन्नुभयो ।

सोही ठाउँकै ७८ वर्षीया लालकुमारी राईले टुकीको उज्यालोमै चार सन्तान हुर्काउनुभयो । अहिले भने आफैँले विद्युत्को प्रयोग गरी खाना पकाउने, बत्ती बाल्ने गर्दा उहाँलाई कताकता सपनाजस्तो पनि लाग्छ । बुढेसकालमा सुविधा उपभोग गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ ।

गाउँमा कुटानी पिसानी मिल थिएन, ढिकी, जाँतो बिहान सबेरै उठेर गर्नुपर्ने, राति अबेरसम्म पनि घरधन्दा सकिँदैनथ्यो । राईले अँध्यारोमा एउटा हातले काखमा बच्चा च्यापेर अर्को हातले टुकी समातेर घर गृहस्थी गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “छोराछोरीलाई पढाउन बत्ती नहुँदा समस्या, एउटा सानो टुकीको उज्यालोमा जीविका चलाइयो, छोराछोरीले राम्ररी पढ्न लेख्न नि पाएनन् । अहिलेजस्तो बिजुली बत्तीको सुविधा भए त सबैले राम्रैसँग पढिन्थ्यो होला ।”

आफूले प्रयोग गरेको टुकी बत्ती देखाउँदै, “म जवान हुँदै बटौली बजार (अहिलेको बुटवल) मा पाँच मोहरमा किनेको टुकी अहिले पनि राखिरहेको छु, अहिले यसको प्रयोग नभए पनि नाति नातिनालाई बेलाबेलामा झिकेर देखाउने गर्छु”, भन्नुभयो ।

त्यही टुकी बत्ती किन्न बटौली बजारमा कम्तीमा दुई हप्ता पैदल हिँडेर पुगेकी राईलाई अहिले पनि सम्झना छ । टुक्रा पारेर च्यातिएको कपडालाई बटारेर चिउरी पेलेर निकालिएको तेलबाट टुकी बालिन्थ्यो । त्यस समयमा यो नै उज्यालो बत्तीको भरपर्दो माध्यम थियो ।

घरघरमा रेडियो, टिभी बजेको देख्दा र सुन्दा मनिसरा बयम्बुले पनि हिजोका ती दुःखका दिनको स्मरण गर्नुहुन्छ । उहाँलाई आफ्नै जीवनकालमा आएका यी परिवर्तन एकादेशको कथाजस्तै लाग्छ । आजको पुस्ताले हिजोका पुस्ताका दुःख सुन्न त्यति मन गर्दैनन् । तैपनि उहाँले आफ्नो मन हलुको बनाउन बेलाबेलामा सुनाउने गर्नुहुन्छ ।

उहाँलाई घरको पिँढीमा बसेर रेडियोमा समाचार, गीत सुन्दा, टिभी हेर्दा, राति पनि घरै झलमल हुने गरीे बत्ती बलेको देख्दा गाउँ नै शहरजस्तो लाग्छ । यहाँका स्थानीयवासीले आयोजनामार्फत घरघरमा बिजुली बत्ती बलेपछि गाउँमा विकासको आधार बनेको महसुस गरेका छन् । आयोजनाबाट विद्युत् सेवा पुगेपछि लेखपढ मात्र होइन कि रेडियो सुन्न, टिभी हेर्न र खाना पकाउन पनि सजिलो भएको छ ।

स्थानीयवासीको जनश्रमदान र विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, स्थानीय समूहको सहयोगमा करिब रु ५० लाखको लागतमा आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । हाल १४८ घरधुरीका स्थानीयवासीले आयोजनामार्फत विद्युत् सेवाको उपभोग गरिरहेका छन् । निस्दीखोलाको घ्याङ्गसरीमा बाँध बाँधेर बलौटे र पन्टारी खेत सिँचाइ हुने कुलोबाट पानीको व्यवस्थापन मिलाइ १४ किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको छ । सो आयोजना विसं २०६६ मा निर्माण भएको आयोजनाका अपरेटर गणेश ढुङ्गाना बताउनुहुन्छ ।

बत्तीमात्रै बाल्नेले मासिक शुल्क रु १००, टिभी, पङ्खा प्रयोग गर्नेले रु १५०, फ्रिज प्रयोगकर्ताले रु २००, आइरन प्रयोगकर्ताले रु २५० कायम गरिएको छ भने तोकिएको मासिक शुल्कमा प्रतियुनिट रु पाँचका दरले शुल्क निर्धारण गरिएको अपरेटर ढुङ्गानाले जानकारी दिनुभयो । ढुङ्गानाबेँसी, बडहरे, शनिसौराहा, खहरेखोला, कोल्टारी, मुढाभन्ज्याङ्लगायतका गाउँ बस्तीमा आयोजनाबाट विद्युत् सुविधा पुगेको छ । दैनिक बिहान ७ देखि ९ बजेसम्म दुई घण्टा विद्युत् लाइन बन्द हुने र अरु समय नियमित सञ्चालन भइरहेको छ ।

एक दशकअघि केन्द्रीय विद्युत प्रसारण लाइनको पहुँचबाट टाढा रहेका यहाँका स्थानीयवासीको सक्रियतामा आयोजना सञ्चालनमा ल्याई बिजुली बत्ती उपभोग गर्न थालेपछि छोराछोरीको पढाइ लेखाइमा धेरै सजिलो परेको स्थानीयवासी आममाया मश्राङ्गी बताउनुहुन्छ ।

विद्युत् सुविधा पुगेपछि कार्यालयका काम गर्न, खाना पकाउन, गर्मी मौसममा पङ्खा चलाउन, रेडियो सुन्ने, टिभी हेर्नेलगायत विभिन्न क्षेत्रमा सुविधा उपभोग गर्न पाइएको गल्धा सामाजिक महिला उद्यमी सहकारी संस्थाका व्यवस्थापक डिलमाया रानाले बताउनुभयो । “दुई÷तीन महिना अघिमात्रै गाउँमा केन्द्रीय विद्युत् लाइन आए पनि उपभोग गरिएको छैन, दिनमा दुई घण्टा पनि बत्ती आउँदैन, त्यो नि घरी आउने घरी जाने भइरहेको छ, हामीलाई त लघुजलविद्युत् आयोजनाको बिजुली नै ठिक छ”, रानाले भन्नुभयो ।

यहाँ केही महिनाअघि केन्द्रीय विद्युत् प्रसारण लाइनको सुविधा आए पनि नियमितता नहुँदा लघुजलविद्युत् आयोजना नै सबैले घरघरमा प्रयोग गरिरहेको राना बताउनुहुन्छ । आयोजनामार्फत बाह्रै महिना विद्युत् सुविधा पुगिरहेको छ । विद्युत् सुविधाले अहिले यस क्षेत्रमा बैंक तथा वित्तीय संस्था सञ्चालन, विद्यालयमा कम्प्युटरलगायतका प्रविधि प्रयोगमा आएको छ ।

पहिले बत्तीमुनिको अँध्यारोजस्तै बनेको यो क्षेत्र सदरमुकाम तानसेनदेखि टाढा पर्छ । विद्युत्को पहुँचले अहिले यहाँ फाइवर इन्टरनेटको सुविधा पुगेपछि कोरोनाको महामारीमा विद्यार्थीले घरमै बसेर अनलाइन कक्षामार्फत पठनपाठनको सुविधा लिनसक्ने प्रेमकान्छा राई मगर बताउनुहुन्छ । अझै पनि पाल्पाका ग्रामीण भेगमा केन्द्रीय विद्युत् लाइनको पहुँच पुग्न भने सकेको छैन । केही ठाउँका स्थानीयवासीले आफ्नै लगानीमा लघुजलविद्युत् आयोजनामार्फत विद्युत् सेवा उपभोग गरिरहेका छन् ।

कोभिडका बिरामीले भरिन थाल्यो अस्पताल
कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो । यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिडका बिरामीको उपचार हुँदै आएको छ । निजी क्षेत्रको पुष्पाञ्जलि अस्पतालमा पनि कोभिडका बिरामीको उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा कोभिडका लागि छुट्याइएको श्यया भरिएका छन् । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्याइएका ११० श्ययामा आज दिउँसोसम्म १०६ बिरामी पुगेका छन्् । आज मात्रै नयाँ १३ बिरामी थपिएका र १२ जना निको भएर घर गएका छन् ।

अस्पतालको सघन उपचार कक्ष र दुई भेन्टिलेटरमा २२ बिरामी छन् भने एचडियुमा २३ र अन्यमा ६१ जना छन्। सरकारी अस्पताल भएकाले यहाँ बाँकी रहेका चार श्यया कुनै पनि बेला भरिनसक्ने हुँदा श्यया थप गर्न छलफल भइरहेको पौडेलको भनाइ थियो । सरकारले सरकारी अस्पतालमा उपचार निःशुल्क गर्दै आएकोे छ ।

चितवन मेडिकल कलेजमा कोभिडका बिरामी ७१ पुगेका छन् । त्यहाँको सघन उपचार कक्षमा ३४, भेन्टिलेटरमा १७ र एचडियुमा ३७ बिरामी छन् । अस्पतालका व्यवस्थापक पारस अधिकारीले क्रमशः बिरामी बढ्दै गएको बताउनुभयो । अस्पतालले कोभिड बिरामीका लागि २४२ श्यया छुट्याएको थियो तर सङ्क्रमित बढ्दै गएपछि अन्य बिरामीलाई श्यया छुट्याइएकामा पुनः कोभिडका बिरामी राख्न थालिएको हो ।

उण्डाइस बिरामी रहेकामा चार जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको कलेज अफ मेडिकल साइन्सेजले पनि दुईसय श्यया कोभिडका लागि छुट्याइएको जनाएको छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच र अन्य अस्पतालमा ११ बिरामी उपचाररत छन् भने भरतपुर महानगरपालिकाको आइसोलेशनमा सात र कालिका नगरपालिकाको आइसोलेशनमा छ जना छन् ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जलि ढकालका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर एक हजार १४ मा झरेकामा आजसम्म आइपुग्दा बढेर दुई हजार १९२ पुगेको छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोराज अधिकारीले सरकारी अस्पताल बिरामीले भरिएकाले जिल्लामा कोरोनाको खतरा बढ्न थालेको बताउनुभयो । कोभिड– १९ का लक्षणसहितका समस्या र सहयोगका लागि आग्रह गर्दै ठूलो सङ्ख्यामा फोन र एसएमएस आउन थालेको उहाँले जानकारी दिनुभयो ।

“बेड खाली छ कि भनेर भौतारिएकाको आवाज फेरि बढ्यो । ज्वरो र खोकीले परिवार नै सोत्तर छ, परीक्षण कसरी गर्ने ?’ भन्ने प्रश्न बढी देखिएको छ”, अध्यक्ष अधिकारीले भन्नुभयो “लक्षणसहित स्वाब परीक्षण गराउनेको भीड एक्कासि बढेको छ।” सामान्य लक्षणमा निमोनिया देखिने, छिट्टै अवस्था खस्किने, अस्पताल बसाइँ लामो हुने, कोभिड नेगेटिभ भएर पनि पहिल्यैको खराब असरले दीर्घ अक्सिजनमा भर पर्नुपर्ने र मृत्युसमेत हुने हुँदा ओपिडीमा बिरामीको चाप बढ्न थालेको उहाँको भनाइ थियो ।

निषेधाज्ञा शुरु हुँदा कोरोना आएजस्तो गरी केही सावधानी अपनाउने र निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना भागे जस्तो गरी काम सक्न हतारिएजस्तो गरी भीड बढ्ने गरेको छ भन्दै डा अधिकारीले भन्नुभयो, “भ्याक्सिन लगाएको छु भन्दैमा कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड पालना नगर्ने बढेका छन्् । गतवर्ष घरेलु उपचार गरेर निको भएका पनि यसवर्ष सख्त बिरामी परेका छन् ” ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बिरामीको चाप बढ्दै गएकाले भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा श्यया थप्नका लागि छलफल अघि बढाइएको र अक्सिजन अभाव हुन नदिन उत्पादक कम्पनी र सप्लायर्सका प्रतिनिधिसँग पनि छलफल गरिएको जानकारी दिनुभयो ।

अहिले अक्सिजन अभाव नभए पनि भदौको पहिलो सातासम्ममा अक्सिजनको अभाव हुनसक्ने भएकाले पूर्वतयारी थालिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अस्पताल र अक्सिजन सप्लायर्ससँग छलफलपछि आज नगर प्रमुखसहित सरोकारवालासँग छलफल गर्न लागिएको बताउनुभयो । पूर्ण निषेधाज्ञाको समयमा सङ्क्रमितको सङ्ख्या घटे पनि अहिले बढ्न थालेकाले सावधानी अपनाउनुपर्ने भन्दै उहाँले निषेधाज्ञालाई केही कडाइ गर्नुपर्ने हो कि भन्ने विषयमा पनि छलफल भएको बताउनुभयो ।

जिल्लामा हालसम्म २० हजार ७६९ सङ्क्रमित भएकामा १८ हजार २४२ जना निको भएका छन् । सङ्क्रमणबाट हालसम्म ३३५ जनाको मृत्यु भएको छ । जिल्लामा दोस्रो लहर उच्च हुँदा सक्रिय सङ्क्रमित चार हजार ७०० नाघेको थियो । त्यतिबेला अस्पतालका श्यया नभरिए पनि सघन उपचार कक्ष र अक्सिजनको अभाव भने भएको थियो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..