घाइतेको विमानमार्फत उद्धार

दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् ।

घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । जोशीको टाउकामा गम्भीर चोट लागेको छ । स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।

राजमार्गअन्तर्गत पाटन–६ बेडौतीमा बुधबार से१ज ६३४ नम्बरको जिप र भे७प ४३४५ मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका थिए । मोटरसाइकल चालक उद्धवसहित उहाँसँगै सवार पाटन–६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन–१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते हुनुभएको छ ।

व्यवसायीका समस्या हल गर्न पहल गरिँदै
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासङ्घले पहल गरिरहेको बताउनुभएको छ ।

मोरङको उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको जनाउँदै व्यवसायीका समस्याको समाधान गरी व्यवसायीको उत्थानका लागि महासङ्घले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताउनुभयो ।

कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भए पनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उहाँले बताउनुभयो । ढकालले भन्नुभयो, “देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ, बैंकको ब्याजदेखि घरभाडासम्मका कुरा आउँछन्, आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ, यसका लागि सरकारलाई हामीले बारम्वार घच्घच्याइरहेका छौँ ।”

महासङ्घले महिला उद्योगीको उत्थान र समग्र व्यवसायीको बृहत्तर हितका लागि निरन्तर काम गरिरहेको पनि जानकारी दिनुभयो । कार्यक्रममा महासङ्घका प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकाल, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तेजकुमार रिजाललगायतले देशका व्यवसायीका समस्या समाधानका लागि नेपाल सरकारसँग पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालसँग आग्रह गर्नुभएको थियो ।

सो कार्यक्रममा यस क्षेत्रका उत्कृष्ट पाँच व्यवसायी र एक सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सङ्घको नेतृत्व चयनका लागि आज निर्वाचन हुने सङ्घका अध्यक्ष प्रितम खड्गीले बताउनुभयो । सोह्र पदका लागि ३३ जनाको उम्मेदवारी रहेकाले आज निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि तारामान लिम्बू र शेरबहादुर भण्डारीको टोली चुनावी मैदानमा छ । सङ्घमा एक हजार ७०२ सदस्य आबद्ध छन् ।

नगर सभापतिका लागि उम्मेदवारी घोषणा
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै भक्तपुरमा हुने नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

कांग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर सभापतिका आकांक्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन् । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले दुई प्यानल खडा गरेर आफ्नो उम्मेदवारी दिने भएको छ । दुई समूहले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा समेत जुटेका छन् ।

सूर्यविनायक नगर समिति सभापतिमा कांग्रेस जिल्ला सचिव निशान ढुङ्गेलले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यस्तै सूर्यविनायक नगर समितिका उपसभापति रवि राणाले पनि प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्नुभएको छ । ढुङ्गेल नेतृत्वको प्यानलबाट उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी, क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतले उम्मेदवारी दिने जनाउनुभएको छ ।

यस्तै राणा नेतृत्वको प्यानलबाट उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमिल्सिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । ढुङ्गेल कांग्रेस संस्थापन सभापति शेरबहादुर देउवाको पक्ष र राणा संस्थापन इत्तर पक्षका हुनुहुन्छ ।

ढुङ्गेलले आगामी निर्वाचनमा कांग्रेसलाई भक्तपुरमा पहिलो पार्टीका रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउने लक्ष्यका साथ आफ्नो नेतृत्वको प्यानल घोषणा गरेको बताउनुभयो ।

राणाले पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएर आफ्नो उम्मेदवारलाई विजयी बनाउने लक्ष्य रहेको बताउनुभयो ।

पुल चार वर्षदेखि अलपत्र
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गमा पर्ने मोटरेबल पुल विगत चार वर्षदेखि अलपत्र रहेको छ । फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घाबिचमा रहेको लमाए खोलाको पुल निर्माण व्यवसायीको लापर्वाही र गलत डिजाइनका कारण अलपत्र परेको हो ।

स्याङ्जाको मिर्मिदेखि पर्वतको मोदीबेनीसम्म सडकको ट्रयाक खुले पनि लमाए खोलामा पुल नबन्दा करिडोर खण्ड अपूरै छ । प्राविधिकको गलत डिजाइनका कारण निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको हो । पच्चीस मिटर लम्बाइको उक्त पुल रु पाँच करोड ६४ लाखमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको थियो ।

कालीगण्डकी करिडोर आयोजनाका इञ्जिनीयरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयवासीले विरोध गरे पनि इञ्जिनीयरले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं २०७४ को अन्त्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले तीन वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

यता कालीगण्डकी लोकमार्ग आयोजना प्रमुख सुबोधकुमार देवकोटाले यो पुलको नयाँ डिजाइन गरेर पुनः निर्माण कार्य शुरु गर्ने तयारी भइरहेको बताउनुभयो । केही महिनाभित्रै पुलको पुनः निर्माणको काम सुरु हुने उहाँको भनाइ छ । समयमै नसक्ने निश्चित भएपछि पेटी ठेकेदारलाई जिम्मा लगाएर मूल ठेकेदार सम्पर्कविहीन भएका थिए । त्यसपछि पुलको काम अगाडि बढेको छैन । दुई वटा खोलाको दोभानमा निर्माणाधीन पुलको जग बर्सेनि खोलाको बहावले कटान गर्दै आएको छ ।

पुल निर्माण गर्न थालिएको जमिन पनि पहिराले कटान हुँदै आएको स्थानीय गङ्गाराज शर्माले बताउनुभयो । शर्माका अनुसार स्थानीयले चिर्दिखोला र लमाए खोलासमेत समेट्ने गरी अहिले भएको स्थानभन्दा ५० मिटर परबाट पुल बनाउन भनेका थिए । सङ्घीय सांसद पदम गिरीले २०७५ कात्तिकमा ताकेता गरेपछि ठेकेदार शिव गौचनले समयमा काम सक्न केही प्राविधिक समस्या भएको बताउनुभएको थियो । व्यवसायी गौचनका अनुसार काम सुरु गरेलगत्तै पाल्पास्थित आयोजना कार्यालयले काम रोक्न आदेश दिएको थियो । उहाँका अनुसार दुवैतर्फ चट्टानमा पुल बनाउँदा टिकाउ नहुने भन्दै पुनः डिजाइन गर्ने भनेको कार्यालयले पछि पुरानै डिजाइनमा काम गर्न भनेपछि अन्योल थपिएको हो ।

विसं ०७५ मङ्सिरमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको रड, सिमेन्टलगायत लाखौँ मूल्यका सामग्री अझै निर्माणस्थलमा अलपत्र छन् ।

यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल गत वर्ष नै सम्पन्न भएर गाडी गुड्न सुरु भएका छन् । पुल नबनेपछि स्थानीय र सरोकारवाला निकै आक्रोशित छन् । कालीगण्डकी करिडोरअन्तर्गत रानीपानीदेखि फलेवासको पाङराङसम्म कालोपत्रका लागि तयारी भइरहेको छ । पाङराङदेखि मोदीबेनीसम्म ट्रयाक मात्रै खोलिएको छ ।

मोदी बेनीदेखि अर्मादीसम्मको खण्ड अझै खुलेको छैन । गत वर्ष भिरबाट डोजर खसेपछि ट्रयाक खोल्ने काम बिचमै रोकिएको हो । कालीगण्डकी करिडोरको मोदीबेनी–अर्मादी खण्ड खुलाउन सके ५५ किलोमिटर खण्ड पूरा हुने आयोजनाले जनाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..