डाँडागाउँको यातायात पुनः सञ्चालन

वर्षाका कारण अवरूद्ध डाँडागाउँ क्षेत्रको ग्रामीण सडक पुनः सञ्चालन भएको छ । सडक मार्ग सञ्चालन भएसँगै गत असारदेखि बन्द नियमित यात्रुबाहक बसलगायत सबैखाले यातायात सञ्चालन भएको स्थानीय बासिन्दाले बताएका छन् ।

डाँडागाउँ क्षेत्रमा नियमित बस सेवा सञ्चालन भएपश्चात् दैनिक २५÷३० जना स्थानीयवासीलाई त्रिशूली– काठमाडौँलगायतका स्थानमा आउजाउ गर्न सहज भएको उत्तरगया गाउँपालिका–२ का वडासचिव आशाकाजी गुरुङले बताउनुभयो । साल्मे भित्तालगायतका विभिन्न स्थानमा गएको पहिरो स्काभेटरको सहायताले हटाएको बताइएको छ ।

दैनिक उपभोग्य बस्तु ढुवानी गर्न र बिरामी उपचारका लागि एम्बुलेन्स झिकाउनसमेत सहजता आएको स्थानीयवासीले बताएका छन् । बससेवा पुनःसञ्चालनले ज्येष्ठ नागरिकको यात्रामा समेत सहज भएको ७५ वर्षका स्थानीयवासी चूडामणि पौडेलले बताउनुभयो ।

बर्थिङ सेन्टरका सामग्री अझै सदरमुकामको बन्द कोठामा
सातैवटा स्थानीय तहलाई उपलब्ध गराउने भन्दै आर्थिक वर्ष २०७७÷७८ मा खरिद गरिएका बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री अहिलेसम्म सदरमुकाममै थन्किएका छन् । स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आह्वान गरी खरिद गरेका बर्थिङ सेन्टरका सामग्री गत असारमै सबै स्वास्थ्य संस्थामा पु¥याइ सक्नुपर्ने भए पनि अहिलेसम्म सदरमुकामको निजी घरमा थन्किएको पाइएको छ ।

गत चैत, वैशाख महिनामै सदरमुकाम आइपुगेका सामग्री झण्डै छ महिनादेखि सदरमुकाममा थन्क्याएर राखिएको छ । स्थानीय तहले बर्थिङ सेन्टरमा आवश्यक समस्याका बारेमा लिखित माग गरेअनुसार अघिल्लो वर्ष ती सामग्री खरिद गरिएका थिए । खरिद गरिएका सामग्रीको अभाव भएपछि पटक पटक माग गरे पनि स्वास्थ्य सेवा कार्यालयले उपलब्ध नगराएको पालिकाले बताएका छन् । वर्षायाममा बाटो अवरुद्ध हुँदा पालिकाले कतैबाट ल्याउन नसकेको र माग गरिएका सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरे पनि सदरमुकामै थन्क्याएर राख्दा समस्य थपिँदै गएको जुनिचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।

भेरी नगरपालिकाले समेत पटक पटक बर्थिङ सेन्टरका सामग्री माग गरे पनि नगरपालिकाको नाममा आएका सामग्री स्वास्थ्य सेवा कार्यालयले दिन सकेको छैन । बन्द कोठामा राखिएका ती सामग्री पालिकामा कहिलेसम्म पुग्छ भन्ने यकिन समय नभएको स्रोतले बताएको छ । सात पालिकामध्ये नलगाड नगरपालिकामा मात्र अहिलेसम्म सामग्री पठाइएको र त्यहाँबाट बर्थिङ सेन्टरसम्म पुगे, नपुगेको कुनै जानकारी नआएको जनाइएको छ । प्रदेश सरकारको दायित्वअन्तर्गत ती सामग्री स्वास्थ्य सेवा कार्यालयले खरिद गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा मागका आधारमा खरिद गरिएका सामग्री सदरमुकाममा थन्क्याएर राख्दा उता पालिकामा सामग्रीको अभावमा सुत्केरी गराउन समस्या भइरहेको स्वास्थ्य शाखाले जानकारी दिएका छन् । सङ्घीय सरकार र पालिकाले बर्थिङ सेन्टर मात्र निर्माण गरेको तर सामग्री केही मात्रा खरिद गरिएको भए पनि पूरा सामग्री नभएका कारण स्वास्थ्य सेवा कार्यालयसँग अघिल्लो वर्ष माग गरिएको थियो ।

झण्डै ८० प्रकारका सामग्री एउटा बर्थिङ सेन्टरमा आवश्यक पर्ने गर्दछ । सुत्केरी गराउने बेड, सक्सन मेसिन, डेलिभरी सेट, म्याटेस, सक्सन ट्यूब, अक्सिजन मास्क र न्यानो कपडा लगाएका सामग्री बढी महत्वपूर्ण मानिन्छन् । यी सामग्री खरिद गरेर सदरमुकाममा थन्क्याइएको र कहिले गाउँमा जान्छ थाहा नभएको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिसस सदस्यको निधनमा सार्वजनिक बिदा
शुक्लाफाँटा नगरपालिकामा आज जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बन्नुभएका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । नगरपालिका मातहतका कार्यालय र शैक्षिक संस्थामा शोक दिवस मानाउने प्रयोजनका लागि बिदा दिने निर्णय गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

पन्तको ६२ वर्षको उमेरमा शुक्लाफाँटा–५ गर्जमुनिस्थित आफ्नै निवासमा मङ्गलबार राति निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आउनुभएको थियो । पन्त विसं २०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन पिपलाडी गाउँपालिकाको वडा नं ९ का वडाध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..