थामियो पानी, थपियो कहर

गत मध्य असारसँगै शुरु भएको साताव्यापी मुसलधारे वर्षाले घर ढालेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर समस्या नै समस्याको भुमरीले रनभुल्ल छन् ।

“घर ढलेर आकाशमुनिको बास बन्यो, बनीबुतो गरेर घरमा राखेको अन्नपात डुबानमा पर्दा जहान बालबच्चाको मुखमा माड लाग्ने बाटो खोसियो”, कापर बिरक्तिँदै भने, “बर्खाकालमै छौँ, झुप्रो ठड्याएर बालबच्चा ओत्याउने र भोक कसरी टार्ने भन्ने चिन्ताले पिरोल्छ ।”

साउन दोस्रो साता प्रारम्भसँगै पानी पूरै थामिएर टन्टलापुर घाम लाग्न थालेपछि कापरले भने, “पानी त थामिएजस्तो छ, तर हामी गरिबको कहर (कष्) थामिएन, यो त थपिँदै पो गयो ।”

मध्य असारपछिको साताभरि र साउन पहिलो साताको तीन दिनसम्म लगातार परेको मुसलधारे वर्षा महोत्तरीमा गत बुधबारयता थामिदै गएको छ तर त्यो मुसलधारे वर्षाको कहर भने कायमै हुँदा यहाँका कापरजस्ता बाढी, डुबानपीडित अझै सामान्य हुनसकेका छैनन् ।

जसका घर ढले, ठडिन सकेका छैनन् । अन्नपात सडेर, बगेर गयो । मध्य बर्खामा बास र गाँस खोसिँदा हिउँद लागुञ्जेलसम्म कसरी बाँच्ने भन्ने पिरोलो बढेको सो बस्तीकै मुसहरी टोलकी सुशीला सादा बताउनुहुन्छ । “हिउँद नलागी झुप्रो के ठड्याउन सकिएला र ?” सुशीलाकै भनाइमा लय मिलाउँदै उहाँकै छिमेकी हेमकुमारी सादा भन्छिन् ।

गत असार १५ गते रातिदेखि असार २२ गतेसम्म मुसलधारे वर्षा भएको थियो । असार अन्तिम साता पनि छिनछिनमा पानी परिरहेको महोत्तरीवासी सम्झन्छन् । साउन लागिकन पनि गत मङ्गलबारसम्म चोटिलो वर्षा भएको थियो । पछिल्लो वर्षाको पानी र बाढीको ताण्डवले जिल्लाका ५०० भन्दा बढी घर डुबानमा परेका थिए । त्यसमध्ये २० घर लडेका जिल्ला दैवी प्रकोप उद्धार समितिले नै स्वीकार गरेको छ तर घर ढलेका पीडितसम्म राज्यका कुनै निकायको उपस्थिति नहुँदा यो सङ्ख्याभन्दा निकै बढी घर क्षति भएका बर्दिबास–१३ का बासिन्दा नेकपा (एमाले) बर्दिबास नगर कमिटीका अध्यक्ष उमेशसिंह दर्लामी बताउछन् ।

मुसलधारे वर्षासँगैको बाढीले महोत्तरीमा २०० बिघाभन्दा बढी जग्गा कटान गरेको छ । बर्दिवास नगरपालिका–६, ७, ८, ९, १० , ११ र भङ्गाहा नगरपालिका–१, २, ४ र ६ मा रातु नदीको बाढीले १५० बिघाको बाली र जग्गा कटान गरेको छ ।

त्यसैगरी जङ्घा, मरहा र बाँकेसहितका नदीले गौशाला नगरपालिका–८, १० र ११ मा ५० बिघाभन्दा बढी जग्गा कटान गरेको त्यहाँका बासिन्दाले बताएका छन् । “खेतमा लगाइएको बाली बाढीले लग्यो, घरमा बाँकी अन्नपात छैन”, भङ्गाहा–५ सीतापुर धतियाटोलका शोभित खत्वे भन्छन्, “गुजारा कसरी चलाउने होला, पापी पेट बाढी, पानी केही बुझ्दैन ।”

जिल्लाका नदीले सिरानमा कटान र मध्य तथा दक्षिणी क्षेत्रमा डुबान गर्दै आएका छन् । यसपालि बर्दिबासका कृष्णपुर, मनहरिपुर, हाथीलेट, पशुपतिनगर, खयरमारामा जग्गा कटान भएका छन् । त्यसैगरी भङ्गाहा नगरपालिकाका रामनगर, पलार, सिङ्ग्याही, कविलाशा, जमुनिंया र हतिसर्वासहितका बस्ती र गौशाला नगरपालिकाका बेलगाछी, भाण्टाबारी, पडरिया, लक्ष्मीनियाँ र भरतपुरसहितका ठाउँमा कटान बढाएको हो ।

रातु नदीको बाढीले बलवा नगरपालिका–११ भगवतीपुरमा पनि २० बिघा जग्गा कटान गरेको सो बस्तीकै मुसहरीटोलका उत्तिम माझी मुसहर बताउनुहुन्छ । “बर्दिबास, भङ्गाहा र हाम्रो नगरपालिका (बलवा)को सिरानसम्म कटान हुने गरेको छ”, वर्षौँवर्ष बाढी र डुबानको कहर खेप्दै आएका ६५ वर्षीय मुसहर भन्छन्, “यहाँभन्दा दक्षिणचाहिँ नदीको सतह भरिँदै गएको हुँदा डुबान समस्या हुने गरेको छ ।”

डुबानले सबैभन्दा बढी जिल्लाको सुदूर दक्षिणको जलेश्वर नगरपालिका क्षेत्र प्रभावित हुने गरेको छ । यसपालि मध्य असारअघि पानी नभएर र त्यसयता डुबानले गर्दा अपेक्षित धान रोपाइँ हुन नसकेको किसान बताउँछन् । जिल्लाको उत्तरी क्षेत्रमा पानी मत्थर भएपछि रोपाइँ बढे पनि मध्य र दक्षिणवर्ती भेगमा डुबानले राम्रो रोपाइँ हुन नसकेको जलेश्वर नगरपालिकाको पिगौना बस्तीका महेन्द्र साहको भनाइ छ ।

रोपिएको धानको रोपो पनि वर्षासँगैको बाढीको पानी रोपोमा पसेर गह्रा टन्न भरिँदा गल्न लागेको किसानले बताएका छन् । अब रोपाइँका लागि बीउ पनि नहुँदा धेरैजसो खेत हिउँदसम्म बाँझै बस्ने साहको चिन्ता छ । पानी थामिएसँगै एकपछि अर्को कहर थपिँदै जाँदा बाढी र डुबान पीडित रनभुल्ल परेका हुन् ।

जिल्लामा यसपटक अहिलेसम्म वर्षाले गत वर्षको झैँ नोक्सान नपु¥याए पनि बर्खाकाल अझै निकै बाँकी रहेको हुँदा सर्वसाधारण सम्भावित बाढीको कटान र डुबान चिन्ताले पिरोलिएका छन् । जिल्लामा विसं २०७६ को बाढीले नौ जनाको मृत्यु भएको थियो भने ४० हजार जनसङ्ख्या डुबानबाट प्रभावित भएका थिए । त्यसैगरी गत वर्ष २० वटा बस्तीमा बाढीको पानी पसेर नोक्सान गरेको थियो ।

सर्वसाधारणमा बाढीको पूर्वसूचना प्रणालीबारे जानकारी बढ्दै गएको र यसबारे चासो राख्न थालेका हुँदा गत वर्ष र यसपालि मानवीय क्षति भने हुन छाडेको बलवाकै धमौरा बस्तीका हासिम कवारी बताउछन् । “खोलामा बाढी बढेको खबर आउने गरेको छ, त्यसैले सचेत हुन पाइन्छ”, कवारीले भने ।

जिल्लामा पूर्वपश्चिम राजमार्गको रातु पुल नजिक र सरपल्लोमा बाढी सूचनायन्त्र जडान गरिएका छन् । बाढी बढ्नासाथ सञ्चार सञ्जालहरुबाट यसबारे सबैतिर जानकारी पुग्दा पूर्वसजगताले मानवीय क्षति रोकिएको बर्दिबास–६ कृष्णपुरका बासिन्दा सामाजिक कार्यकर्ता निल लुम्रे बताउछन् ।

जिल्लामा बर्सेनि बाढीले गर्ने नोक्सानी धेरैजसो मानव सिर्जित समस्या भएको चुरेविज्ञ जिल्लाकै भङ्गाहा–७ का बासिन्दा डा विजयकुमार सिंह बताउनुहुन्छ । वनजङ्गलको बढ्दो विनाश, चुरे पहाडी शृङ्खलामा बढ्दो उत्खनन र यहाँका नदी र नदीउकास जग्गामा नदीजन्य पदार्थ ९बालु–ढुङ्गा० को अनियन्त्रित दोहनले सिरानतर्फ नदीको सतह गहिरिँदै गएको र क्रमशः तलतिर सतह उकासिँदै गएकाले उत्तरी क्षेत्रमा कटान र दक्षिणी क्षेत्रमा डुबान बढेको डा सिंहको भनाइ छ । यसबाहेक अतिवृष्टि, अनिकालजस्ता समस्या पनि यसै कारणले बढेको उहाँ बताउनुहुन्छ ।

बाढीबाट हुने नोक्सानी रोक्न प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहन रोक्न तीनै तहका सरकारले प्रभावकारी संयन्त्र बनाउने र नदीहरुमा तटबन्ध निर्माणको कामलाई गति दिए खास उपलब्धि हात लाग्ने विज्ञ बताउँछन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..